शवमाथी ठुलो राजनिति,२६ दिन सम्म पनि अन्त्येष्टी भएन

2.5k Shares

जिल्लाको रामनगर गाउँपालिका ७ सिसौटका महेन्द्र रामको मृत्यु भएको २६ दिन भएको छ । असोज २२ गते रामनगर गाउँपालिका ७ सिसौटका रामको मृत्यु भएको थियो । रामको शव २६ दिन बिति सक्दा पनि नारायणी अस्पताल विरगन्जमा नै अलपत्र अवस्थामा छ ।
आफ्नै घर अगाडी बसिरहेको समयमा राममाथि संघातिक आक्रमण भएको थियो । रामको मृत्युलाई राजनैतिककरण गरिएका कारण रामको मृत्यु भएको २६ दिन विति सक्दा पनि उनको शव अस्पतालमै रहेको छ ।गंभीर घाइते भएका रामलाई उपचारका लागि  नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उनको २२ गते मृत्यु भएको थियो । मृतकका परिवारले शवलाई जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गराउनु पर्ने माग गर्दै आएका छन । 
नेपाली काँग्रेस सर्लाहीले मृतक रामलाई सहिद घोषणा गर्नुपर्ने, हत्यामा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै आएको छ । नेपाली काँग्रेसका कार्यकर्ता रामको हत्यामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेताहरुको संलग्नता रहेको नेपाली कांग्रेसको आरोप छ ।
हत्यामा संलग्नहरुलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै काँग्रेसले मलंगवामा असोज २८ गते बृहत्त बिरोध प्रदर्शन समेत गरेको थियो ।  काँग्रेसको बिरोध प्रदर्शनको क्रममा सुरक्षाकर्मीहरु,पत्रकार,स्थानिय गरी ४७ जना घाइते भएका थिए । 
‘चाडपर्वका कारण आफुहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको र चाडपर्व सकिए लगतै आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने’ प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बताउनु भयो । आफुहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको भन्दै प्रहरी बिरुद्धपनि आन्दोलन गर्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
यता राममाथी आक्रमण गर्ने कार्यमा संग्लग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो । तर काँग्रेसले घटनामा संलग्न वास्तविक दोषीहरुलाई जोगाउन प्रहरीले अन्य व्यक्तिहरुलाई समातेको आरोप लगाएको छ ।घटनालाई राजनितिकरण गरिदा मृत्यु भएको २४ दिन सम्म पनि शवको अन्त्येष्टि तथा काजक्रिया हुन सकेको छैन् । 

सम्बन्धित समाचार