Close This

कालोपत्रे सडक बनाएको दुईदिन मै उक्कियो,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१५ गते   ४३० पटक हेरिएको

सर्लाहीको बरहथवा बजार नजिक निर्माण गरिएको सडक कालोपत्रे भएको दुई दिनमै उक्किएको छ । बरथवा बजारबाट दुई किलोमिटर पश्चिममा रहेको पन्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालय हजरियासम्मको सडक कालोपत्रे भएको दुई दिनमै उक्किएको हो । 
बरहथवा नगरपालिका–२ हजरियाको सडकमा गरिएको कालोपत्र दुई दिन नबित्दै उक्किए पछि स्थानिय आक्रोसित भएका छन् । आफूहरुले नगर्नभन्दा पनि ठेकेदारले जबरजस्ती गरेका कारण कालोपत्रे काम पूरा नहुँदै उक्किएको बरथवा नगरपालिका २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार प्रहरी लगाएर पटक–पटक रोक्दासमेत ठेकेदारले बलजफ्ती कालोपत्रे गरेका थिए , कालो पत्रे गरेको दुई दिनमै उक्कियो ।
बरहथवास्थित एमएसके लाइट कन्स्ट्रक्सकनले भ्याटसहित रु ६५ लाखमा आर्थिक वर्ष २०६६÷०७७ को असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरी करिब एक किलोमिटर सडकको कालोपत्रे ठेक्का सकारेको थियो । तर कोरोना भाईरस(कोभिड १९ ) का कारण कालोपत्रे गर्न ढिलाइ भएका कारण अहिले आएर त्यस सडकको काम भएको हो ।
सडक निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा ठेकेदारलाई रु २८ लाख भुक्तानी दिएको बरहथवा नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाका योजना प्रमुख कमलप्रसाद पौडेलले हजरियाको सडकमा गुणस्तरहीन कालोपत्रे भएको बताउनु भयो ।उहाँका अनुसार नगरपालिकासंग भएको सम्झौता अनुसार  काम नभएका कारण गुणस्तरहीन काम भएको हो । नगरपालिकासँग भएको सम्झौता अनुसार काम नभएको भन्दै  बाँकी भुक्तानी नगरिने पौडेलले बताउनु भयो ।
सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार सुरेश कार्कीले कालोपत्रेको काम निर्माणकै चरणमा रहेको बताउनु भएको छ । ‘काम पूरा भएकै छैन, हस्तान्तरण नहुन्जेल आफुहरुले बनाइदिने ठेकेदार कार्कीको भनाई छ ।
निर्माणाधिन अवस्थामा रहेको सडकमा क्षमताभन्दा बढी लोडका टिपर लगायत अन्य सवारी गुड्ने गरेका र तापक्रम कम भएकाले कालोपत्रे उक्किएको ठेकदार कार्कीको भनाई छ ।  तर यता स्थानीयबासीले भने कर्मचारी, जनप्रतिनिधि र ठेकेदारले कमिसनका कारण कमसल सामग्रीको प्रयोग गरेर सडक निर्माण गरेका कारण निर्माण भएको दुई दिनमै सडक उक्किएको बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech