Close This

टमाटरले सिजनको अन्तमा पायो उचित मुल्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१० गते   ३०५ पटक हेरिएको

 सर्लाहीका किसानहरुले उत्पादन गरेको टमाटरले सिजनको अन्तमा मुल्य पाएको छ ।   केही हप्तादेखि अचानक मुल्यमा ओरालो लागेको टमारटरले सिजनको अन्त्यमा फेरी भाउ पाएको  भन्दै जिल्लाका तरकारी उत्पादक किसानहरु खुसी भएका छन् ।
 जिल्लाको लालबन्दी नगरपालिका ७ मा रहेको लालबन्दी तरकारी बजारमा  स्थानीय जातको टमाटर  प्रतिक्रेट रु २ सय ५० देखि रु ३ सय र उन्नत जातको टमाटर रु ४ सयमा  बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताउनु भयो । “केही दिन अगाडी सोही बजारमा  प्रतिक्रेट रु १ सय ५० देखि रु २  सयमा टमाटर बिक्री भइरहेको भएपनि सिजनको अन्त्यमा टमाटरको बजार मुल्य अकासिएको” कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु घिमिरेले बताउनु भयो । 
टमाटरको मुल्य बढेपछि तरकारी उत्पादक किसानहरु खुसी भएका छन् । टमाटरको मुल्य घटेपछि आफ्नो लगानी समेत नउठ्ने चिन्तामा परेका यस क्षेत्रका किसानहरु सिजनको अन्त्यमा भएपनि टमाटरको मुल्य बढेपछि दंग परेका छन् ।
सिजनको सुरुवातमा किसानहरुले  प्रतिक्रेट रु १ हजारसम्म टमाटरको मूल्य पाएका थिए । त्यसपछि बिस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताउनु भयो ।    जिल्लाको लालबन्दी,हरिपुर,बयलवास र हरिवन नगरपालिकाका स्थानीय तरकारी उत्पादक किसानहरुले व्यवसायिक रुपमा टमाटरको खेती गर्ने गरेका छन् । यहाबाट उत्पादन भएका टमाटर काठमाडौ,पोखरा,विराटनगर लगायत देशका विभिन्न ठूला सहरहरुको साथै छिमेकी देश भारतको सितामाढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech