सर्लाहीको हरिवनमा युवा संघ नेपालले प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेतालाई निलम्बन गरेको भन्दै त्यसको विरुद्दमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल–खनाल समुहका जय गोले नेतृत्वको युवा संघ सर्लाहीले मंगलबार साँझ जिल्लाको हरिवन स्थित पूर्व–पश्चिम लोकमार्गमा नाराजुलुस सहित विरोध प्रदर्शन गरेको हो । अध्यक्ष ओलीले सोमबार वरिष्ठ नेता नेपाल र भिम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्नु भएको थियो । अध्यक्ष ओलीले पार्टीको विधि र पद्धती विपरित कार्बाही गरेको र सो फिर्ता हुनुपर्ने युवाहरुको माग रहेको छ । पार्टी एकता जिन्दावाद, युवा संघ नेपाल जिन्दावाद लगायत नारा लेखिएका प्ले कार्ड सहित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली विरुद्ध युवाहरुले नारा जुलुस गरेका हुन ।
प्रदर्शन पश्चात आयोजित विरोध सभालाई युवा संघ नेपालका केन्द्रीय सदस्यहरु सुनिल श्रेष्ठ, नेपाल–खनाल समुहले गठन गरेको अनेरास्ववियुका केन्द्रीय सचिव राजकुमार विक, जिल्ला संयोजक जय गोले, विनोद रेग्मी लगायतले सम्बोधन गरेका थिए । अध्यक्ष ओेलीले जनताले दिएको दुई तीहाई मतको विश्वासलाई लत्याउँदै आफूखुशी निर्णय गरेर पार्टी फुटाउन खोजेको वक्ताहरुको आरोप छ । पार्टी नेताहरुको निलम्बन फिर्ता नलिईए कडा संघर्षको कार्यक्रमहरु ल्याईने वक्ताहरुले चेतावनी दिएका छन् ।
नेकपा हुँदा पुष्पकमल दाहाल(प्रचण्ड) समुहलाई साथ दिएका उनिहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभजन पछि नेकपा(एमाले(मा नै आएका उनिहरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट ६ महिनाको लागि निलम्बन गर्नु भएको छ ।