Close This

दुर्घटना गराएको करिब १ वर्षमा पनि संग्लग्न सवारी प्रहरीले फेला पारेन, निर्दाेष सजाएको भागेदार बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२० गते   ८८ पटक हेरिएको

सर्लाहीमा करिब एक वर्ष पहिला भएको सवारी दुर्घटनामा संग्लग्न सवारी साधन प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । गत वर्ष कात्तिक १० गते लालबन्दी नगरपालिका–२ जुटपानीस्थित नवलपुर–मलंगवा सडक खण्डमा ४ जना चढेको प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको ट्याक्टर अझै प्रहरीले पत्ता लगाउन नसकेको हो ।
ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार लालबन्दी नगरपालिका २ का १८ वर्षका अंकुश पासवानको मृत्यु भएको थियो । १८ वर्षीय निसान्त, २९ वर्षीय अंगद र २८ वर्षीय रितिक पासवान घाइते भएका थिए । दुर्घटनामा संलग्न ट्याक्टर फरार भएको र उक्त ट्याक्टर अहिले सम्म पनि प्रहरीले  नियन्त्रणमा लिन नसकेको पाइएको छ ।
दुर्घटना गराउने ट्याक्टर फरार भएपछि राजनैतिक दवावमा इलाका प्रहरी कार्यालय लालबन्दीले अर्काे निर्दाेष ट्याक्टर नियन्त्रणमा लिएको छ । दुर्घटनामा संग्लग्न ट्याक्टरको खोजी गर्ने क्रममा उक्त ट्याक्टर फेला नपारेको प्रहरीले स्थानीय थिर बहादुर खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्याक्टर खेतमा कामगरि रहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा संग्लग्न नभएको ट्याक्टरलाई फेला नपारी सवारी ज्यान मुद्धामा निर्दोष व्यक्तिलाई कानुनी परिबन्धमा पारिएको खुलेको छ । सर्लाही प्रहरीको फितलो अनुसन्धानले निर्दोष व्यक्तिले सजाय भोगि रहेका छन् । भने दुर्घटना गराउने ट्याक्टर राजनैतिक आडमा खुलेआम घुमिरहेको पाइएको छ । दुर्घटनाका मृतक तथा घाइतेले एक वर्ष वित्न लाग्दा पनि क्षतिपूर्ति समेत पाउन सकेका छैनन् ।
ट्याक्टरका चालक फेकन राम(नथुनिया)ले पनि आफूले नै दुर्घटना गराएको प्रहरी समक्ष बयान दिएका कारण आफुहरुले प्रदेश–२–०३–००१ त १२८२ ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चालकले नै दुर्घटना गराएको स्विकार गरेपछि प्रहरीले पनि चालककै बयानको आधारमा सवारी ज्यान तथा अंगभंग मुद्दा दर्ता गरि फेकनलाई सिन्धुली कारागार चलान गरेको छ भने दुर्घटनामा संग्लग्न नै नरहेको प्रदेश–२–०३–००१ त १२८२ ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेको छ ।
यता, ट्याक्टर धनी खड्काले घटनाको दिन आफ्नो ट्याक्टर घरबाट ननिकालिएकोे दाबी गरिरहँदा पनि प्रहरीले उनको कुरा सुन्नै नचाहेको पीडित खड्का परिवारले जनाएका छन् । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गर्ने प्रयास नै नगरेको खड्काको आरोप छ । उनका अनुसार प्रहरीले सुक्ष्म अनुसन्धान गरेको भए वास्तविक दोषी पत्ता लाग्ने थियो ।
ट्याक्टर धनी खड्काले प्रहरी अनुसन्धानमा चुक्दा ‘नखाएको बिष’ आफूलाई लागेको गुनासो पोखेका छन् । प्रहरीले जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेपछि उनलाई अदालतले माघ १५ मा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । उनी झण्डै तीन सातापछि रु १ लाख ५० हजार धरौटी बुझाएर थुनामुक्त भए पनि चालक नथुनिया भने अझै जेलमै रहेका छन् । भने दुर्घटना गराउँने प्रदेश २ ०१ ००१ त ०८१३ नम्बरको ट्याक्टर रहेको सोही ट्याक्टरका चालकले बताएका छन् ।
प्रहरीमा चालक नथुनियाले दिएको बयान बाझिए पनि अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले पूरै बेवास्ता गरेको खड्काको आरोप छ । राजनैतिक दवाव र आर्थिक प्रलोभनमा परि प्रहरी निरिक्षक थापाले आफुहरु जस्ता पीडितलाई थप पीडा दिएको खड्काको गुनासो  छ ।
मृतक अंकुसका मामा जलसिंह पासवानसहितका व्यक्तिले गरेको कागजमा घटनाको दिन साँझ ८ बजेर ३० मिनेटको समयमा चालक नथुनियाको घरको पूर्वतर्फ पार्किङ गरेको अवस्थामा ट्याक्टर देखेको बयान दिएका छन् । उनीहरूको यो बयान र चालकको बयान पनि मेल खाएको देखिँदैन । प्रहरीसमक्ष चालक नथुनियाकी श्रीमती अनितादेवी रामले घटनाबारे आफूलाई श्रीमान्ले भनेको बताएकी छन् । उनले घटनाका दिन श्रीमान् दिनभर आफूसँगै रहेकाले ट्याक्टर नछोएको दाबी समेत गरेकी छन् । 
दुर्घटनामा चालकको बयान बाझिँदा पनि प्रहरीले दुर्घटनाको विस्तृत अध्यायन अनुसन्धान नगरेको र यही ट्याक्टरले नै दुर्घटना गराएको भनेर अरु थप प्रमाण छैन । एक मात्र प्रमाणको रुपमा रहेको चालकको बयान बाझिए पनि प्रहरीले अनुसन्धानको नाममा झारा टार्ने काम गरेको पीडित खड्काले बताउनु भयो ।
प्रहरीको गलत अनुसन्धानका कारण निर्दोष फसिरहेको मानव अधिकारबादीहरुले बताएका छन् ।‘चालकले दिएको बयानमा बाझिने खालका थुप्रै शब्दहरू छन्, त्यती हुँदा पनि प्रहरीले मजबुत छानबिन गर्न सकेको देखिँदैन,’ एक मानव अधिकारबादीले बताउनु भयो ।‘अनुसन्धान झारा टार्ने भएपछि निर्दोष फस्ने र प्रहरी तथा न्यायालयमाथि विश्वास गुम्ने खतरा बढेको छ ।’
लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरण कुमार पासवानसहित पीडितको सम्पर्कमा आएका वास्तविक दुर्घटना गराउने ट्याक्टरका सहचालक लालबन्दी नगरपालिका १ का इन्दल महतोले दुर्घटनाको विवरण बताएका छन् । उनका अनुसार सिरहाको लहानबाट आउँदै गरेको अनटेस्ट ट्याक्टरका चालक लक्ष्मीपुर घर भई नवलपुरमा डेरा लिएर बसेका विजय गिरी रहेका,उनले गाउँमा डेराको साँचो लिन जानु छ भनेपछि उनीसँगै लक्ष्मीपुर जाने क्रममा दुर्घटना भएको,उक्त ट्याक्टर हरिवनका कविन कार्कीको रहेको बताएका छन् । महतोका अनुसार ट्याक्टरमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको म्याजिक छलेर आएको एक मोटरसाइकल आफू सवार अनटेस्ट ट्याक्टरको कल्टीमा लागेर अनियन्त्रित भई रोकिराखेको मोटरसाइकलमा ठोक्किएको हो ।
उनले घटनालगत्तै आफूहरू त्यहाँबाट भागेकोमा म्याजिकले पछिबाट लखेट्न खोज्दा बत्ती निभाएर जुटपानीको पाइप फ्याक्ट्री हुँदै नहरको बाटोमा निक्लेर लक्ष्मीपुर गएको बताएका छन् । रातभरी चालक गिरीको घरमा बसेकोमा चालकले एक–दुई वर्ष भारतमा गएर बस्न भने पनि मैले नमानी भोलिपल्ट बिहान आफ्नो घर नवलपुर आएको उनको भनाइ छ । उनका अनुसार चालक गिरी घटनाको भोलिपल्टै भारत पसेका थिए । त्यसपछि उनसंग कुनै सम्पर्क नभएको महतोले बताए ।
दुर्घटनापछि फरार भएका गिरी करिब ६ महिना पछि नयाँ वर्षको दिन भारतबाट घर आइपुगेका दुर्घटनामा परेका घाइते तथा मृतकका आफन्त र प्रहरी नियन्त्रणमा परेका ट्याक्टर साहुलाई खबर आएको थियो । उनीहरू वैशाख २ गते साँझ गिरीको घरमा पुग्दा घाइतेका आफन्तले चालकलाई कुट्न खोजेपछि गाउँलेले प्रतिकार गरेका थिए । वैशाख ३ गते इलाका प्रहरी कार्यालय हरिपुरमा चालकसहित दुवैपक्ष बस्ने सहमति भए पनि त्यो दिन चालक नै नआएको वडाध्यक्ष पासवानले बताएका छन् । दुर्घटनाको अनुसन्धान गरेका प्रहरी निरिक्षक थापाले अनुसन्धानबारे अहिले आफुले गल्ती गरेँकी झैँ लागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले मुद्दा अदालतमा गए पनि दुर्घटनाबारे थप कुरा खुल्न थालेपछि अनुसन्धानका लागि अाँफैं लागेको बताएका छन् । उनले भने लालबन्दीबाट फाइल झिकाएर थप अनुसन्धान प्रक्रियाको थालनी गरेको छु । यहाँबाट पनी बुझ्न सकिन्छ की प्रहरीले राम्रोसंग अनुसन्धान नगरी मुद्धा दर्ता गरेको र निर्दोष मानिसहरु सजाएको भागेदार बनी रहेका छन् 
यता,प्रहरी निरिक्षक थापाले दुर्घटनामा संग्लग्न ट्याक्टर पक्ता लगाउने मानिसलाई जहाँ भेटे पनि नछोड्ने आफ्नो जागिरको सवाल रहेको बताएका एक प्रहरी अधिकारीले बताएका छन् ।जिल्ला अदालत सर्लाहीका न्यायाधिवक्ता केशवप्रसाद गौतमले प्रहरी अनुसन्धानकै आधारमा आफूले अदालतमा ट्याक्टरधनी खड्काबाट क्षतिपूर्ति र चालक नथुनियालाई कैद सजाय माग दाबी गरेको बताएका छन् तर श्रेस्तेदारहरुका अनुसार अहिले अदालत पनि फेरी एक पटक केश अनुसन्धान गर्ने चरणमा पुगेको छ ।  यता दुर्घटना गराउने ट्याक्टर प्रदेश २ ०१ ००१ त ०८१३ रहेको भनि केही मिडियाहरुले  समाचार समेत सम्प्रेषण गरि सकेका छन् भने उक्त ट्याक्टर खुलेआम रुपमा सञ्चालनमै रहेको छ । तर प्रहरी मौन देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech