Close This

राजनीतिक किचलोले गाउँसभा हुन सकेन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-४ गते   १६१२ पटक हेरिएको

सर्लाहीको विष्णु गाउँपालिकाले अझै गाउँसभा गर्न सकेको छैन् । विष्णु गाउँपालिकाले राजनीतिक सहमती जुट्न नसक्दा अझै गाउँसभा गर्न नसकेको हो । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्रै आ–आफ्नो गाउँ तथा नगरसभामा नीति,कार्यक्रम र बजेट ल्याइसक्नु पर्ने उल्लेख भएपनि विष्णु गाउँपालिकाले अझै गाउँसभा गर्न सकेन् ।
गाउँसभाको मिति तय भइ नसकेको भएपनि आफुहरु गाउँ सभाको लागि आवश्यक तयारीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले बताउनु भयो । उहाँका अनुसार ऐन अनुसार असारभित्रै बजेट ल्याइसक्नु पर्ने हो तर कानून अनुसार पालिका आफै स्वायत्त सरकार हो, त्यसैले असारमै बजेट ल्याउनुपर्छ भन्ने नभएको बताउनु भयो ।“नीयमानुसार बजेट पारित नहुञ्जेल खर्च भने गर्न पाइँदैन् ।” प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताउनु भयो ।
गाउँपालिकाको कार्यपालिकामा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साँझा गठबन्धको बहुमत छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसको भएपनि कार्यपालिकामा कांग्रेसको बहुमत छैन । आठ वडामध्ये जसपाले ३,कांग्रेसले ३ तथा लोसपा र नेकपा(माओवादी केन्द्र)ले १÷१ वटा वडामा चुनाव जितेका छन् । गाउँपालिका अध्यक्ष जवाहारलाल यादवले आफूलाई सर्बैसर्वा ठान्दा गाउँसभा हुन नसकेको विष्णु गाउँपालिका १ का वडाध्यक्ष बिकाउ ठाकुर हजामले आरोप लगाउनु भयो ।
उहाँका अनुसार गाउँपालिका अध्यक्ष यादवले वडाध्यक्षको अधिकार समेत खोस्न खोजेपछि गाउँसभा गर्ने विषयमा सहमती जुट्न नसकेको हो । 
विष्णु गाउँपालिकाबाहेक जिल्लाका अन्य १९ वटा स्थानिय निकायहरुले गाउँ तथा नगरसभा सम्पन्न गरिसकेका छन् । केही दिनअघिसम्म असारभित्रै गाउँसभा गर्ने दावी गरेका विष्णु गाउँपालिका अध्यक्ष यादवले साउन पहिलो सातातिर गाउँसभा गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँका अनुसार पुराना योजनाहरु सम्पन्न गर्न व्यस्त भएकाले असारमा गाउँसभा गर्न संम्भव नभएको बताउनु भयो ।“चुनावले गरेर रोकिएका पुराना योजना पूरा गर्नुपर्ने र निर्वाचित जनप्रतिनिधिबीच सहमती जुटाउनु परेकाले गाउँसभा हुन नसकेको हो,”गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । 
अध्यक्ष यादवले गाउँसभाका लागि सहमती जुटाउन अन्य पार्टीका वडाध्यक्ष र कार्यपालिका सदस्यसँग विभिन्न चरणमा पटक पटक अनौपचारिक छलफल जारी रहेको र चाँडै नै सहमतीमा पुगी गाउँ सभा गर्ने बताउनु भयो । उहाँका अनुसार वडालाई छुट्याइने बजेटका विषयमा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको हो ।
गाउँपालिका अध्यक्ष यादव र निवर्तमान वडाध्यक्षहरुबीच पनि टसल रहँदै आएको थियो । गाउँपालिका अध्यक्ष यादवले अघिल्लो कार्यकालको ५ वर्ष पनि अल्पमतमै रहेर काम गर्नु भएको थियो ।
दोस्रो कार्यकाल दोहोर्याउनु भएका गाउँपालिका अध्यक्ष यादव एकलौटी ढंगबाट चल्न खोज्दा गाउँपालिका समयमै हुन नसकेको वडा अध्यक्षहरुले बताएका छन् । २० वटा स्थानिय निकाय रहेका जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । जसमध्य ११ वटा नगरपालिका र ८ वटा गाउँपालिकाहरुले आफ्नो गाउँ तथा नगर सभा सम्पन्न गरि सकेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech