पूर्व पश्चिम लोकमार्ग स्थित हरिवन बजार क्षेत्रमा सडकको दायाँ वायाँ ७५ मिटर खाली गर्न नगरपालिकाको अनुरोध

3.9k Shares

सर्लाहीको हरिवन नगरपालिकाले पूर्व पश्चिम लोकमार्ग हरिवन बजार क्षेत्रमा सडकको दायाँ वायाँ अव्यवस्थित रुपमा रहेको संरचनाहरु हटाउने भएको छ ।
 हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)द्धारा हस्ताक्षरीत एक सूचनामा हरिवन नगरपालिका स्थित पर्ने पूर्व पश्चिम लोकमार्ग हरिवन बजार क्षेत्रमा सडकको दायाँ वायाँ अव्यवस्थित रुपमा रहेका ठेलागाडा,फलफूल पसल तथा टेम्पो,अटो,रिक्सा जस्ता सवारी साधनहरु राखिएको र जसका कारण बजारको सुन्दरता हराउनुका साथै सवारी दुर्घटना हुने साथै बजारलाई अस्तव्यस्त बनाई व्यापार व्यवसायमा समेत प्रभाव पारेको  भन्दै त्यस प्रकारका संरचनाहरु हटाउन सूचना जारी गरेको हो ।
नगरपालिकाले हरिवन नगरपालिका ११ स्थित पूर्व पश्चिम लोकमार्ग हरिवन बजारको पुर्व लच्का देखि पश्चिम नेपाल बैंक सम्मको सडकको दायाँ वायाँ ७५ मिटर खाली तथा सरसफाई गर्ने भन्दै सूचना जारी भएको १० दिन भित्रमा आफ्नो ठेलागाडा,फलफूल पसल तथा टेम्पो,अटो,रिक्सा जस्ता सवारी साधनहरु हटाउन आग्रह गरेको छ ।
साथै आफुखुसी त्यस प्रकारका संरचनाहरु नहटाएमा नगरपालिकाको नियमानुसार आवश्यक कार्वाही अगाडी बढाईने समेत चेतावनी दिएको छ । हरिवन बजार लगायत जिल्लाका मुख्य बजारहरु लालबन्दी,मलंगवा,बरहथवा,बयलवास लगायतका स्थानमा ठेलागाडा,फलफूल पसल तथा टेम्पो,अटो,रिक्सा जस्ता सवारी साधनहरु अव्यवस्थित रुपमा पार्किङ गरिँदा बजारको सुन्दरतामा नकारात्मक प्रभाव त परेको छनै त्यसका साथै सवारी दुर्घटना हुने र पैदलयात्रीहरुलाई समेत बजारमा किनमेल जान आउँन निकै समस्या हुने गरेको उनिहरुको गुनासो छ ।

सम्बन्धित समाचार