निर्माण सम्पन्न भएको १ वर्ष पछि नयाँ बसपार्क सञ्चालन

1.3k Shares

शंखर पहाडी(एस.पी.गौरब)

सर्लाहीको मलंगवा नगरपालिका २ मा निर्माण भएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको  छ । मलंगवा नगरपालिका २ मा संघिय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण भएको सुबिधा सम्पन्न बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो ।
मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसंगै सवारी साधनहरुको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण सम्पन्न भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपुर्याउँदा बसपार्क प्रयोग बिहीन अवस्थामा रहेको मलंगवा यातायात प्रा.लिका अध्यक्ष राजिव यादवले बताए । आफुहरु नयाँ बसपार्कमा जान तयार रहेको भएपनि ठेकेदार कम्पनीले मलंगवा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेका कारण नगरपालिकाले चासो नदिँदा नयाँ बसपार्कमा जान नपाएको मलंगवा यातायात प्रा.लिका अध्यक्ष यादवले बताए ।
बसपार्क निर्माण भएपनि सम्बन्धी सरोकारवाला निकायहरुले एकले अर्काेलाई आरोप लगाउँदै लामोसमय सम्म मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्क बाटै बस सञ्चालन गरेका मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यावसायीहरुसंग पटक पटक छलफल गरेको तर कुनै निष्कर्ष निस्केको थिएन् ।भने केही यातायात व्यावसायीहरुनयाँ वसपार्कमा आफुहरु नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएका नगर प्रमुख यादवले बताए । तर नगरपालिकाले नगरपालिकाको कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ ।
करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरि ७२ वटा यात्रीबाहक सवारी साधनहरु पार्किङ गर्न सक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले बताए ।उनका अनुसार मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्कबाट बसहरु सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई व्यावस्थापनमा निकै समस्या हुने गरेको थियो ।
“बजार विस्तासंगै सान्घुरीदै गएको पुरानो बसपार्कबाट बस संचालन हुँदा सवारी व्यावस्थापनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत बढ्ने गरेको थियो, अब नयाँ बसपार्कबाट बसहरुसञ्चालन हुुँदा बसपार्कका कारण हुने बजारको भिडभाड पनि कम हुने र दुर्घटनाको जोखिम पनि कम हुन्छ।” जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले बताए ।
अढाई तल्ले टर्मिनल भवन,यात्रु शौचालय,खानेपानी,यात्रु प्रतिक्षालय,वर्कसप एरिया,पार्किङ लगायतका सुविधाहरु सहितको बसपार्क रु आठ करोड ३१ लाखमा कन्काई इन्टरनेशनल विल्डर्स सुरुङ्गा,झापाले निर्माण गरेको हो ।
नेपाल सरकारले ठुलो लगानी गरेर निर्माण गरिदिएको बसपार्क लक्ष्य अनुसार नै प्रयोगमा ल्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । राज्यले ठूलो रकम खर्चेर निर्माण गरिएको बसपार्कमा कुनैपनि बाहनामा जान्न भन्न नपाइने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
बस पार्कबाट बस सञ्चालनको क्रममा कुनै किसिमका समस्या आएमा सुरक्षाको लागि सबै शक्ति लगाउन तयार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बताए । नयाँ बसपार्कबाट बस सञ्चालनको क्रममा सुरक्षा सम्बन्धी समस्या देखिएमा जिल्ला प्रहरी कार्यालय सर्लाही तयार रहेको प्रहरी उपरिक्षक सुवेदीले बताए ।
विभिन्न मिडियाहरुबाट पटक पटक नयाँ बसपार्क निर्माण भएपनि बस नगएको विषयमा समाचार प्रकाशन भएपछि मलंगवा नगरपालिका,जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको ध्यान केन्द्रीत भएको थियो । ठूलो रकम खर्चेर निर्माण भएको बसपार्क निर्माण सम्पन्न भएको करिब एक वर्ष पछि मात्रै सञ्चालनमा आएको हो । राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको बसपार्क निर्माण सम्पन्न भईसकेको एक वर्ष पछि सरोकारवाला निकायले संयुक्त रुपमा पुरानो बसपार्कबाट  नयाँ बस पार्कमा बस लगेर सञ्चालनमा ल्याएका हुन । जिल्लाबाट लामो तथा छोटो दुरीका गरी करिब ९० वटा बसहरु लामो तथा छोटोदुरीमा दैनिक छुट्ने गरेका छन् । 

सम्बन्धित समाचार