Close This

मूर्तियाका मूर्तिहरु संरक्षणमा सबैतर्फको चासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-९ गते   २५३ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित मूर्तियामा रहेका ऐतिहाँसिक मूर्तिया मन्दीरमा मूर्तिहरू वर्षाैंदेखि संरक्षणको पर्खाइमा छन् । बरहथवा नगरपालिका ९ स्थित मूर्तियामा ऐतिहाँसिक तर बेवारिस थुप्रै मन्दिरको भग्नावशेष रहेको मूर्तिया देवीदेवताका कलात्मक मूर्तिहरु,बुद्धकालीन मूर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मूर्तिहरुका कारण धार्मिक स्थलको रुपमा परिचित रहेको छ ।
 २०१२ सालदेखि फेलापर्न थालेका मूर्तिहरु र मन्दीरहरुको संरक्षण गर्न स्थानीय सरकारले खासै चासो नदेखाएको मूर्तिया मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर महतोले बताए ।पुरातात्विक अवेशषहरुसहितको ढिस्कोबाट फेला पर्न सुरु गरेका मूर्ति,मन्दीर,थुप्रै देवीदेवताका कलात्मक मूर्तिहरु,बुद्धकालीन मूर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मूर्तिहरुले सर्लाहीको मात्र नभई मधेशप्रदेशको धार्मिक तथा पर्यटकिय स्थल थप गरेको भएपनि स्थानीय सरकारले चासो नदेखाएको समितिका अध्यक्ष महतोले बताए ।
यता,ऐतिहाँसिक तथा पुरातात्वीक महत्वका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षणका लागि आफुहरुपनि लागि परेको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले बताइन् ।
उनका अनुसार मूर्तिया मन्दीरको संरक्षण तथा व्यवस्थापनका लागि बरहथवा नगरपालिकाले विगत पाँच वर्षदेखि  प्रत्येक वर्ष रु तीन लाख,प्रदेश सरकारले हाल सम्म रु ३० लाख र केन्द्रको पुरातत्व विभागले हाल सम्म गरी रु ६ करोड ३१ लाख रकम मन्दीरको व्यावस्थापन तथा सौन्दर्यकरणका लागि उपलब्ध गराएको छ । 
मन्दीरको व्यावस्थापन तथा सौन्दर्यकरणका लागि आफुले छुट्टै चासो राखेर पुरातत्व विभाग बोलाएर सर्वे गराएपछि मन्दीरहरुका साथै मूर्तिहरुको सर्मत सम्भार समेत गर्ने काम भएको बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष तुलसी लुईटेलले  बताए । उनका अनुसार पुरातत्व विभाग,प्रदेश सरकार र बरहथवा नगरपालिकाबाट विभिन्न समयमा प्राप्त भएको रकमले मन्दीरको निर्माण,मन्दीरमा गजुर चढाउने,मन्दीरको कम्पाण्डवाल निर्माण,मन्दीर भित्रको सौन्दर्यकरण लगायतका काम भएको छ ।
स्थानीय तहको पहिचानको रुपमा रहेको यस मन्दीरको संरक्षणका लागि स्थानीय तह,प्रदेश सरकारको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय र संघको नागरिक उड्यान तथा पर्यटन मन्त्रालयका साथै पुरातत्व विभागले पनि चासो राख्ने हो भने मूर्तियालाई धार्मिक पर्यटकको हब बनाउन सकिने समितिका अध्यक्ष महतोले बताए । उनका अनुसार पुरातत्व विभागले स्थलगत सर्वेसमेत गरि सकेको छ ।
दुव्र्यसनीको अखडा बन्दै मन्दीर
अहिले मूर्तियामा रहेको ऐतिहासिक मूर्तिहरु चोरी हुने गरेका छन् भने मन्दिर क्षेत्र नै लागुऔषध सेवनकर्ताहरुको अखडा बनेको छ । मूर्तियाका मन्दीर र मूर्तिहरूको संरक्षण गर्न सरोकारवाला निकायले खासै चासो नगर्दा धेरै मूर्तिहरू चोरी भइसकेका समितिले जनाएको छ । कलात्मक देखिने ती मूर्तिहरू हजारौं वर्ष पहिलेका हुनसक्ने पुरातत्व विभागको अनुमान छ । बागमती नदी नजिकै रहेको मूर्तियामा कुनै राजाको ठूलो दरबार हुनसक्ने विभागले अनुमान गरेको हो ।
मन्दिरका कतिपय मूर्तिहरु चोरी भएको समितिले जनाएको छ । आफुहरुले यसको संरक्षणमा सक्दो प्रयास गरिरहेको बताउँदै मन्दिर प्रांङ्गणमा खुला रुपमा मूर्तिहरु रहेकाले चोरी हुने गरेका समितिका अध्यक्ष महतोले बताए । मन्दिर संरक्षणका लागि सरोकारावालाको ध्यान अहिलेसम्म नगएको स्थानीयवासीको आरोप छ ।मन्दिरको विषयमा गम्भीर अनुसन्धानसमेत नभएको समितिले जनाएको छ  । 
आफू प्रज्ञा प्रतिष्ठानमा रहँदा मूर्तियाको विषयमा सेमिनारको आयोजना गरे पनि यसको संरक्षण र मन्दिरको अध्ययनमा राजनीतिक उदासीनता रहेकाले पछाडि परेको संस्कृतिविद् रामदयाल राकेशले जानकारी दिए । प्रदेश र स्थानीय सरकारले यसको संरक्षणमा ठोस योजना ल्याएर संरक्षण गर्नुपर्नेमा जोड दिनु पर्ने संस्कृतिविद् राकेशले बताए ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech