सर्लाहीको लालबन्दीमा कृषि क्याम्पस संचालन गर्न के.युसंग समझदारी पत्रमा हस्ताक्षर

748 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दीमा कृषि क्याम्पस संचालन हुने भएको छ । लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयविच कृषि क्याम्पस सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी र विश्वविद्यालयका रजिष्टार प्राध्यापक अच्युत वाग्लेले समझदारी पत्रमा हस्ताक्षर गरे ।
 मधेश प्रदेशमा विश्वविद्यालयको कार्यक्रम विस्तारका लागी लालबन्दी नगरपालिकाले आवश्यक जग्गासहित अन्य सहयोग गर्ने र लालबन्दीमा कृषि क्याम्पस संचालनसहितका शैक्षिक कार्यक्रम संचालन र माध्यमिक तहसम्मको अध्यापनका लागी दुवै पक्ष मिलेर काम गर्ने समझदारी पत्रमा उल्लेख भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।
अहिलेका जनप्रतिनिधिहरुले केहि नयाँ सुरुवात गरेर जान सके पछिल्ला दिनमा यस्ता कार्यक्रम र योजनालाई मुर्त रुप दिन सकिन्छ भन्ने लागेर नै काठमाण्डौँ विश्वविद्यालयसँग सहकार्य गरिएको नगर प्रमुख अधिकारीले बताए । 
लालबन्दी नगरपालिकाले काठमाण्डौँ विश्वविद्यालयलाई मधेशमा स्थापित गराउन सहकार्य गरेकोमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले खुसि व्यक्त गरे । उनले भर्खरै स्थापना भएको मधेश विश्वविद्यालयसँगको सहकार्यमा केहि शैक्षिक कार्यक्रम संचालनको तयारी भईरहेको समेत बताए । 
मधेश प्रदेशमा काठमाण्डौँ विश्वविद्यालयको प्रवेश भई सकेको बताउँदै विश्वविद्यालयका उपकुलपति प्राध्यापक थापाले लालबन्दी नगरपालिकासँगको सहकार्यले अझै बिस्तारित हुने सम्भावना बलियो बनाएको बताए ।उनले यो सम्झौतालाई सार्थक पार्नेगरि काम गर्न तयार रहेको प्रतिवद्धता जाहेर गरे ।

सम्बन्धित समाचार