अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको गर्भागृहमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै आरोपित माथि मुद्दा दायर गरेको छ ।आयोगले जलहरी निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाबिरुद्ध मुद्दा दायर गरेको हो ।अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल,कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठको मिलेमतोमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अख्तियारले ढकाल,थापा र श्रेष्ठविरुद्ध रु १ करोड १७ लाख बिगो,त्यति नै जरिवाना र कैद तथा बहालवाला पदाधिकारीबाट अनियमितता भएको कसुरमा ढकाल र थापालाई थप सजाय मागदाबी सहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा द्रुत मार्गबाट कार्यसम्पन्न गर्ने मौका पारेर करिब डेढ किलो सुन गायब बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको छ। अदालतको आदेशलाई समेत बेवास्ता गर्दै पशुपतिमा चढाएको जलहरीमा घोटला भएको महालेखा परिक्षकको कार्यलयले समेत प्रतिबेदन शार्वजनिक गरेको थियो । तात्कालिन प्रधानमन्त्री ओलीको निर्देशनमा राज्य ढुकुटीबाट रु ३० करोड र पशुपति क्षेत्र विकास कोषबाट रु ५० करोड ११ हजार खर्चेर जलहरी बनाइएको थियो ।राष्ट्र बैंकबाट किनेको १ सय ३ किलो ७ सय ७३ ग्राम सुन र त्यसमा चाँदी,तामा र जिंक मिसाएर करिब १ सय ७ किलो ९ सय २४ दशमलव ७५ ग्रामको जलहरी बनाउने निर्णय भएको थियो ।जलहरी निर्माणका क्रममा गरिएको मुचुल्कामा जलहरीमा सुनको परिमाण ९६ किलो ८ सय २२ ग्राम रहेको तथ्याङ्क छ ।
घोषित परिमाण भन्दा कम तौलको जलहरी राखिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । जलहरी निर्माण गर्दा सुन गायब गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।अख्तियारको अनुसन्धानपछि पशुपति क्षेत्र विकाश कोषले करिब ११ किलो सुनको छुट्टै रिङ बनाइएको प्रस्टीकरण दिँदै अनियमितता ढाकछोपको प्रयास गरेको थियो ।उजुरी परेपनि तात्कालिन सरकारको पालामा अनुसन्धान प्रभावित भएको थियो । तर,सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा एवम एवम नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहाल(राजन)ले जलहरी प्रकरणमा अनियमितता भएको भन्दै संसदबाटै यसको अनुसन्धान गर्न माग गरेका थिए ।त्यसको बिरोधमा प्रतिपक्षी दल नेकपा(एमाले)ले संसद अवरुद्ध समेत गरेको थियो ।
सरकारले सुन जलहरी प्रकरणमा भएको घोटला छानविन गर्ने कुरामा तदारुकता दिएँसगै अख्तियारले गत असारमा जलहरी निकालेर जोख्दा १ सय ७ किलो ४ सय ६८ ग्राम तौल निस्किएको थियो ।त्यस क्रममा कोषले दाबी गरेभन्दा जलहरीको तौल करिब आधा किलो कम मापन भएको थियो । तर,अख्तियारले गरेको अनुसन्धानबाट जलहरीमा प्रयोग भएको धातुको तौल करिब उत्ति नै भए पनि सुनमा अन्य धातु मिसावट गरेर भ्रष्टाचार गरिएको निष्कर्ष निकालेको छ ।जलहरी बनाउँदा पदाधिकारी र कर्मचारीको मिलेमतोमा १ किलो ४ सय ९१ दशमलव ७ सय १८ ग्राम सुन हिनामिना गरेर मिसावट गरिएको अख्तियारले दायर गरेको पत्रमा उल्लेख छ ।२०७७ माघ १२ गते पशुपतिनाथ मन्दिर पुगेर तत्कालीन प्रधानमन्त्री ओलीले‘संकल्प पूजा’गर्दै करिब रु १ अर्ब लागतमा जलहरी राख्ने प्रक्रिया अघि बढाउन कोषका पदाधिकारीलाई निर्देशन दिएका थिए ।बजेट व्यवस्थापन,सुन खरिद र जलहरी निर्माण एक महिनाभित्रै सकेर फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन् ।