राष्ट्रिय समृद्धिको मुख्य आधार युवा वर्ग

779 Shares

पूर्वी एसियाको दाहिने छातीमा ढुकढुकी बनेर धड्किरहेको मेरो देश नेपाल अमरावती जस्तै सुन्दर छ ।विविधताको इन्दे्रणीले सजिएको सानो भए पनि आफैँमा पूर्ण,मानौँ ब्रम्हाजीले फुर्सदका समयमा कल्पना गरेर सृष्टि गरे जस्तै ।प्रभातमा सगरमाथाको कोमल वक्षमा रविको स्पर्श,स्पर्शको चरमोत्कर्षले मैन जस्तै पग्लिरहेका हिमालका मुटुहरु र कञ्चनजल बनेर ओरालो झर्दै गरेका हिमनदीहरु ।यी दृश्यहरु हेरेर कहिल्यै अघाउँदैन नेपाली मन।यिनै दृश्य,पर्यावरण र प्रकृति हेर्न मनमा कति ठुलो उत्साह बोकेर आउँछन् बिदेशी पर्यटकहरु।सत्ययुगमा प्रकृतिका यस्तै मनोरम दृश्यहरु हेर्ने लालचले हिमशिलामा बसेर तपस्या गर्थे होला ऋिषिमुनीहरु ।हिमालयको छेउमा खुसीले उफ्रदै बुर्कुसी मार्दै रमाइरहेका हिमजन्तुहरुको प्राकृतिक जिन्दगी देखेर साँच्चै लोभिन्छ मन ।हिमाल र हिमनदीले कहाँ प्राकृतिक सुन्दरता मात्र बोकेका छन् यसभित्र त समृद्धिको पञ्च रङ्गी ऐश्वर्य छचल्किएको छ ।वसन्त रितुको आगमनसँगै नवपालुवा फेरेर मुस्कुराइरहेका हरिया वृक्षहरु, वासन्ती पवनको प्रभावले उत्तेजित भएर फक्रिरहेका लालीगुँरास,इन्द्रकमल र हजारौँ हजार पुष्पहरुले रङ्गी विरङ्गी देख्दा रानीवनमा मिठामिठा कविता लेख्न हतारिन्छन् कविमन।मन्त्र मुग्ध भएर प्रकृतिको सुन्दरतामा एकैछिन हावाको वेग पनि रोकिन्छ ।माथि चुरे पर्वत तिर फुलेका लागिगुँरास चाँपका फूलहरु तल तराईबाट भुनभुनाउदै जान्छन् सयौँ हुल मौरीहरु।पुष्पको सुहागले उत्तेजित बनेका भमराहरु होस गुमाएर झुम्मिन्छन् पुष्परस पान गर्नलाई।मौरीहरु पर्वततिर खोजिरहेका हुन्छन् सञ्जीवनी फूल र ल्याइरहेका हुन्छन् लाखौँ करोडौँ वनौषधहरु।आयुर्वेदमा सबैभन्दा ठूलो औषधी मानिने मह बनाउन तल्लीन देखिन्छन् उनीहरु।नेपालका वनमा कहाँ सुन्दरता र हराभरा मात्र छ र,यहाँ त मृतसञ्जीवनी बुटीहरु र तरुलताहरु छन्,अमृत जस्ता बनौषधहरु छन् ।यसैमा अडिएर त “समृद्ध नेपाल,सुखी नेपाली”को योजना तय गर्छन् नेपालीहरु । हामी राष्ट्र,राष्ट्रियता र राष्ट्रिय एकता प्रति दृढ भएर एकसाथ देख्छौँ नेपालको समृद्धको अभिनव सपना।गुणस्तरीय शिक्षा,स्वास्थ्य र सुरक्षाको प्रत्याभुति,यातायात,आर्थिक उन्नति,सामाजिक, सांस्कृतिक विकास,अपराधनियन्त्रण,रोजगारी,उच्चस्तरीय जीवनयापन तथा ग्रामिण क्षेत्रको विकास, सेवा सुविधा नै समृद्धका आधारहरु हुन् । 
समृद्ध नेपाल निर्माणको सपना साकार पार्नका लागि देशका युवाहरुको उत्साहपूर्वक सक्रियता अपरिहार्य छ।१६ वर्ष देखि ४० वर्ष उमेर समूहका मानिस युवा हुन् । युवावस्था नै मानवजीवनको सबैभन्दा महत्वपूर्ण र सक्रियताको स्वर्णिम अवधि हो ।युवामनले चाहने हो भने असम्भब भन्ने कुरा केही छैन ।असफलता र असम्भव भन्ने शब्द त मुर्खहरुको शब्दकोशमा मात्रै हुन्छ ।यहाँ स्वामी विवेकानन्दको “कुनै पनि देशको समृद्धि देशको युवाशक्तिले निर्धारण गर्छ”भन्ने भनाई स्मरणीय छ ।युवाहरु देशको मुहार चम्काउने शक्ति हुन् ।जुन देशमा युवाको संख्या धेरै छ,युवा उर्जाको समुचित भएको छ त्यस देशको विकास र समृद्धि निश्चित छ।विश्वका अधिकांश विकसित राष्ट्रहरुको विकास र समृद्धिको जड युवाहरु नै हुन् ।वास्तवमा युवावस्था उमेर मात्र होइन, उत्साह,जाँगर र हौसला पनि हो।युवाहरुको आँखाले देखेको सपना कतिसम्म सम्भव हुन्छ भन्ने कुरा हामी नेपालमै जन्मिएका बुद्धको जीवनीलाई पढेर बुझ्न सक्छौँ।२९ वर्षका युवक बुद्ध आफ्नो दृढता र एकाग्रताप्रर्वक प्राप्त गरेको ज्ञानामृतले नेपालमा मात्र नभएर विश्वको आकाशमा नै तारा बनेर चम्किए। उनको युवाजोस,युवासपना र युवा विवेकले नै नेपाल शान्तिको देश भनेर विश्वको इतिहासमा सुपरिचित छ अनि बुद्ध “द लाइट अफ एसिया” भनेर।मनमा आँट उर्जा र शक्ति बोकेका युवाहरु राष्ट्र विकासका पहरेदार हुन् ।युवाहरुले मरुभूमिलाई हराभरा बनाउन सक्छन् ।टाकुरा फाँट बनाएर बाँझो जमिनलाई शस्य शालिनी बनाउँछन् ।युवा शरीरको नसामा रगत मात्र होइन,रगतका थोपा थोपामा साहस र उत्साहको समिश्रण हुन्छ ।उनीहरुले लिने पलपलको अक्सिजनमा सर्वोच्च साहस हुन्छ ।यस्ता होनाहार युवाहरुले नै राष्ट्रनिर्माण र राष्ट्रको समृद्धिका लागि उल्लेख्य प्रगति गर्न सक्छन् ।हरेक मानिसले जे गर्न सक्छ त्यो युवावस्थामा नै गर्न सक्छ ।राइट ब्रदरले बनाएको जहाज आकाशमा उड्नु पछाडीको कारण उनीहरुको युवा जाँगर र युवा साहस नै हो ।माइकल फराडे हुन् या अल्बर्ट आइन्स्टाइन,न्युटन हुन् चाहे निकोला टेस्ला आजसम्म जति वैज्ञानिकहरुले खोज,अनुसन्धान,निर्माण र आविष्कार गरेका छन् ।ती सबै युवावस्थामा गरेका छन् ।त्यसैले त युवावस्थालाई प्लास्टिक रबरका रुपमा मानिन्छ,जसलाई जति तन्कायो त्यति नै तन्किन्छ ।यस्तै युवावस्थामा पनि जति जाँगर र साहस भयो त्यति नै बढी काम र सम्पन्न गर्न सकिन्छ ।नेपालका सन्दर्भमा हेर्ने हो भने पनि युवाशक्ति र राष्ट्रिय समृद्धि एक अर्कामा परिपूरक छन् ।कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेका युवाहरु वर्तमान समयमा सामाजिक,आर्थिक,शैक्षिक र खासगरी राजनीतिक क्षेत्रमा बढी क्रियाशिल छन् ।उनीहरुका आँखामा देश विकासका प्रमुख ध्येय छन् जसलाई संघीयताले ठूलो टेवा पुर्याएकोे छ ।आफ्नो गाउँको विकास आफैँ गर्न पाएका छन् स्थानीय जनप्रतिनिधि बनेर ।ग्रामिण क्षेत्रको विकास र स्थानीय स्रोत साधनको भरपूर प्रयोग गरी आर्थिक उपार्जन गर्नका लागि स्थानीय तहले घरेलु तथा साना उद्योग व्यवसायलाई प्रोत्साहन, घरेलु उद्योग सञ्चालनका लागि सहुलियत रिण कजौको व्यवस्था, स्वरोजगारमूलक कार्यक्रमको सञ्चालन,आधुनिक कृषि प्रविधिको प्रयोग जस्ता कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।यसका लागि ग्रामिण क्षेत्रमा युवाहरुलाई परिचालन र सदुपयोग गरेको छ । यसमा सरिक भएर राष्ट्रिय आयलाई उकास्नु युवाहरुको दायित्व हो । 
नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो ।युवाहरु प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै नेपालको अर्थतन्त्रको विकासका लागि प्रमुख सर्त हुन् । पर्यटकहरु नेपालमा वनजंगल, हरियाली र हिमशृङ्खलालाई अथाह प्रेम गर्छन् । शुभ्र हिउँसँग खेल्दै, रमाउँदै नेपालका चुचुरामा पुगेर गर्व गर्न हतारिन्छन् । यस्तो अवस्थामा नेपाली युवाहरुले व्यवस्थित, समयसापेक्ष र पर्यटकको रुचिलाई बुझेर होमस्टे सञ्चालन गर्नु र राष्ट्रिय समृद्धिको यात्रामा साझेदारी गर्नु प्रमुख कर्तव्य हो । एकपटक ढिडो, खोले गुन्दु्रकको स्वाद लिएर गए भने पटक पटक त्यही अभिलाषाले आइरहन्छन् पर्यटकहरु नेपालमा । नेपालको मौलिकतामा जिन्दगी बिताउन तत्पर हुन्छन् उनीहरु । वसन्तमा प्रकृति नवदुलही जस्तै हराभरा बनेर सजिएका बेला, सुनाखरीका बोटमा सुनगाभाहरु फक्रिएका बेला, घुम्टोभित्र प्रकृतिका सुदीप्त मुहार लुकेका बेला कुन प्रकृतिपे्रमीलाई मन लाग्दैन र मन्द पवन बनेर प्रकृतिका सललित सुकोमल अधरमा स्पर्श गरेर स्वर्गीय सुख अनुभूत गर्न । मयुर बनेर कसलाई नाच्न मन हुँदैन र पुष्पोद्यनमा । मृग बनेर उफ्रिदै नाँच्दै वनवनमा घुम्न कसलाई मन लाग्दैन र । त्यसैले त नेपालको पर्यावरणमा प्रकृतिमा र मौलिकतामा अर्थतन्त्र सुदृढीकरणको बलियो सम्भावना छ । विश्वमा कतै पैसाको बोट छ भने त्यो नेपालको प्रकृतिमा छ नकि अरबको मरुभूमीमा । 
पहाडका खोचबाट उफ्रदै छङछङ गर्दै, संगीत भर्दै, लयात्मक ताण्डव नाच्दै बगिरहेका मन्दाकिनीका उपज खोलानालाहरु, झरनाहरु यिनीहरुमा कहाँ स्वच्छता मात्र छ र यहाँ त जलविद्युत उत्पादनको अमाप्य सम्भावना छ । यिनीहरुलाई सदुपयोग गरेर, युवावर्गको श्रमशक्तिको प्रयोग गरेर जलविद्युत उत्पादन गर्ने हो भने नेपालले समृद्धिको सुदीर्घ फड्को मार्ने कुरामा दुईमत छैन । नेपाल अहिले प्रविधिसँग परिचित बन्दै गएको छ । आधुनिक विज्ञान तथा प्रविधिलाई आत्मसाथ गरेर नेपाललाई समृद्धिका मार्गमा अघि बढाउनु युवाहरुको प्रमुख दायित्व हो । 
संसारमा हुने कुन कुरा छैन र नेपालमा अकबरे, अम्रिसो, अलैँची, अदुवा, चिया, उखु, आलु जस्ता नगदेवाली लगाएर विश्वबजार निर्यात गर्ने हो भने आज कुनै मदनले आफ्नी प्राणप्यारी मुना र बुढी आमालाई घरमा एक्लै छाडेर रगत पसिना र जवानीसँग पैसा साट्न ल्हासा जानुपर्दैन । युवाहरु अरबको मरुभूमिमा पसिना बगाउन जानाले बाँभो रहेको गैरीखेत अब युवाहरुले नै पौरख गरेर हराभरा बनाउने समय आएको छ । आफ्नो माटोमा पसिना बगाउने हो भने सुन फल्छ । त्यसैले त नेपालको समृद्धिका लागि पहाड बनेर दुःखका आँधीहरु सामना गर्नु, बाँध बनेर अभावका सुनामीहरु छेक्दै ढाल बनेर गरिबीका प्रहारहरु सहने दायित्व युवावर्गको छ । नेपालमा रहेका विभिन्न जडीबुटी तथा कच्चा पदार्थको प्रयोग गरेर औषधी उत्पादन गर्नु, उद्योगहरु सञ्चालन गर्नु, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर िनिरक्षता उन्मूलन गर्नु, चेलिबेटी तथा प्रोढ शिक्षा सञ्चालन गर्नु, विद्यालय, अस्पताल, निवास गृह, कलकारखाना निर्माण तथा सञ्चालन गर्नु, सडक सञ्जाल विस्तार गर्नु, वन संरक्षण ग्रामिण तथा सहरी विकास कार्यक्रमहरु सञ्चालन गर्नु युवाहरुको प्रमुख दायित्व हो । 
 वर्तमान समयमा युवाहरुको क्षमता विकास, राष्ट्रिय हितका लागि उनीहरुको सही परिचालन, रोजगारी र हरेक पक्षमा युवाहरुलाई सक्रिय बनाउनका लागि सरकारले योजनाबद्ध तबरले नीतिगत कार्यक्रमहरु थालनी गरेको छ । युवा सरोकारका विषयलाई व्यवस्थित रुपमा सम्बोधन गरी नेपालमा दिगो शान्ति तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि विशेष आवश्यकता महसुस गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको छ । युवाशक्ति राष्ट्रको आमोल सम्पत्ति हो । युवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका र समाज परिवर्तनका संवाहक हुन् । कुनै पनि युवा अरबमा श्रम बेच्न जानु नपरोस््, राष्ट्रको समृद्धिका लागि देशमै बसेर हातेमालो गर्न सकुन् भनेर युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित कार्यक्रम तथा योजनाहरु ल्याइरहेको छ । सरकारले युवानीति २०६६ लागु गरेको थियो । जसमा युवाहरुमा उद्यमशीलताको विकास, नैतिकता, चारित्रिक गुण तथा अनुशासनको विकास, शिक्षा आर्जन तथा वृत्तिको अवसर, हरेक हिसाबले युवा सशक्तिकरण, युवामा रहेका अन्तरनिहित क्षमताको प्रस्फुटन, सीप र कौशलको उत्पादनशील क्षेत्रमा प्रयोग, युवाहरुमा सकारात्मक र वैज्ञानिक सोचको विकास, प्रतिभावान् युवालाई देशमै वृत्ति विकासको अवसर जस्ता नीतिहरु रहेकाथिए । त्यसपछि सरकारले राष्ट्रिय युवानीति २०७२ लागु गरेको छ । यस नीतिमा युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा परिचालन, लागुपदार्थ दुव्र्यसन नियन्त्रण, मानवतस्करी तथा बेचबिखन नियन्त्रण, अपराध तथा हिंसाबाट युवालाई मुक्त गर्ने, विज्ञान तथा सूचना प्रविधिमा युवाहरुको पहुँच विकास गर्ने, शान्ति स्थापना र द्धन्द्ध समाभानमा युवा सहभागिता, समानता, समावेशीकरण र समविकास जस्ता कुराहरु स्पष्ट रुपमा उल्लेख गरेको छ । 
राष्ट्रिय विकास र समृद्धिको रथ हाँक्ने सारथी युवाहरु हुन् । आज त्यो लगाम युवाहरुका हातमा छ । समृद्धि नेपाल निर्माणको महायज्ञमा चरु बनेर होमिनुपर्ने दायित्व युवावर्गको छ । जीवनको सबैभन्दा उर्जाशील समय र सम्भावना बोकेका युवाहरुले राजनीतिमा कुशल नेतृत्व गर्न सक्छन् । युवामा भएको जोस, जाँगर, सिप र उत्साहलाई देशकै स्रोतसाधन प्रयोगमा लगानी गरेर पनि सजिलै जविनस्तर, आर्थिक समृद्धि र राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ । समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियान पूरा गर्नका लागि नयाँ सोच र उर्जाले भरिएको दक्ष र प्रविधियुक्त मानवस्रोत प्रमुख सर्त हुन् । हरेक प्रकारको श्रमलाई सम्मान गर्ने, देशमै नयाँ अवसरको खोजी र सिर्जना गर्ने काम युवाको हो । देशविकासका लागि प्राणको बाजी लगाउनु भनेको युवाको दायित्व हो ।
  सांस्कृतिक समृद्धिका आयामहरु 
१. विशेष प्रवेश,

सामान्यतः कुनै वस्तुलाई सुसस्कृत रुप दिएर अथवा परिमार्जन गरेर निक्खर बनाउने काम नै संस्कृति हो । पारिभाषिक अर्थमा कला, इतिहास, धर्म, दर्शन, भाषा आदि विभिन्न विषयको मूल्य परम्पराको समष्टिलाई संस्कृति भनिने गरेको छ । यसलाई मानवले श्रम गर्दै र प्रकृति माथि विजय प्राप्त गर्दै निर्माण गरिएको सृष्टिका रुपमा पनि हेर्ने गरिएको छ । त्यसैले संस्कृतिसँग विभिन्न पक्षहरु गाँसिएका छन् । यसअन्तर्गत आत्मिक संस्कृतिका रुपमा रहेका साहित्य, संगीत, कला, सभ्यता, धर्म, दर्शन, नीति, आस्था, आचरण, परम्परा, रीतिरिवाज, संस्कार, चाडपर्व, लोकविश्वास आदिका साथै भौतिक संस्कृतिका रुपमा रहेका भवन, मन्दिर, पुल, सडक, विभिन्न प्रकारका सामग्री, उपकरण, यन्त्र आदि पर्छन् । त्यसैले संस्कृतिका क्षेत्र निकै विशाल छ । नेपाल अहिले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा जुटेको छ । त्यसैले नेपालमा विभिन्न क्षेत्रको समृद्धिका विषयमा बारम्बार चर्चा परिचर्चा हुने गरेको छ ।यस स्थितिमा सांस्कृतिक क्षेत्रको समृद्धिका बारेमा पनि जनचासो र सरोकार रहनु स्वाभाविक हो । 
प्राचीन समय देखि नै संस्कृति नेपालको सम्पन्नताको परिचायक बन्दै आएको छ । अनेक महापुरुष, रिषिमुनि, र दार्शनिकहरुको थलोका रुपमा यो चर्चित छ । शिव, पार्वती, सीता, वाल्मीकि, व्यास, बुद्ध, जनक, कपिल, यज्ञवल्क्य, गार्गी, पाणिनी, भृकुटी आदिको साइनो यहीँको भूमिसँग जोडिएको छ ।यता आएर राम जन्मभूमि पनि नेपालमै रहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् । अनेक जनगणका मान्छेहरुलाई परस्पर मिलाई एकताबद्ध तुल्याउने शिव संस्कृति यहीँ छ । आर्य, मङ्गोल, आस्ट्रिक र द्रविड संस्कृतिको सङ्गम यहीँ छ । हिन्दु र आर्यहरुका अनेक आस्थाकेन्द्र पनि यहाँ रहेका छन् । विभिन्न राजा महाराजाले चलाएका कानुन, नियम र प्रथाको प्रभाव पनि यहाँको समाजमा विद्यमान छ । यतिखेर भने संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालले अङ्गीकार गरेको छ र तद्नुरुपको शासन व्यवस्था, दर्शन एवम् नीतिनियममाँझ अग्रगतिका निम्ति यात्रारत छ । मुलुकको समृद्धि त्यसको लक्ष्य बनेको छ । त्यसनिम्ति सांस्कृतिक समृद्धिका आयाम केहुन सक्छन् भन्ने कुरा सांस्कृतिक क्षेत्रमा चिन्तनको विषय बनेको छ । यहाँ त्यसैतर्फ केही पाइला बढाउने प्रयत्न गरिएको छ । 
२. विचार पक्षमा स्पष्टता,
वर्तमान नेपालको संविधानले नेपाल स्वतन्त्र, अभिवाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको कुरा उल्लेख गरेको छ । संविधानमा उल्लेख भएअनुसार यसले समाजवादतिरको यात्रा गर्नुपर्ने छ र तदनुरुपको विचारलाई पछ्याउनुपर्ने छ । यसका निम्ति जननेता मदन भण्डारीद्धारा प्रवर्तित जनताको बहुदलीय जनवादले मार्गनिर्देश गरेको विचार नै सर्वोत्तम विचार हो । यस कुरामा स्पष्ट भई अगि बढियो भने समृद्धिकोयात्रा सहज हुनेछ र गन्तव्यमा पुग्न सकिने छ । विचार पक्षमा अलमल भयो भने हाम्रा यात्रा पनि अलमलिने छ । जनताको बहुदलीय जनवादले नेपालको बहुल संस्कृतिलाई स्वीकारेको छ भने सामन्तवाद र साम्राज्यवादले हुर्काएका जनविरोधी परम्परार प्रचलनलाई नकारेको छ । धर्म निरपेक्षलाई अगाँल्नुका साथै धर्म मान्ने र नमान्ने छुट सबैलाई दिएको छ । मान्छे मान्छेमा विभेद ल्याउने र शोषण उत्पीडनलाई निम्त्याउने नीतिरीतिको विरोध गरेको छ । बहुमतको निर्णय र अल्पमतको कदर गर्ने संस्कृतिको निर्माणमा जोड दिएको छ । नेपालका सबै जातजाती, भाषा, धर्म र लिङ्गका व्यक्तिहरुप्रति समान दृष्टि लगाएको छ । संस्कृतिसम्बन्धि अन्य कतिपय सवालमा पनि यसको दृष्टिकोण न्यायोचित छ । त्यसैले नेपालकोसमृद्धिको ढोका उघार्नका लागि यसले प्रदान गरेको वैचारिक खुराक उपयोगी र उचित छ । बरु यसलाई अझ तिखार्ने र प्रभावकारी काममा भने बौद्धिक छलफल र विश्लेषण गरिनुपर्दछ । वैचारिक स्पष्टताका साथ गरिने कामबाट नै अपेक्षित प्रतिफल प्राप्त हुन्छ । वैचारिक क्षेत्रको काम कमजोर भयो भने मान्छेहरु धरमरमा पर्ने र कर्मक्षेत्रमा नजुट्ने वा शिथिल हुने अवस्था आउन सक्छ । त्यसैले जनताको बहुदलीय जनवादको सांस्कृतिक नीतिसम्बन्धि जानकारी व्यापक रुपमा फिँजाउन प्रकाशन र प्रचार प्रसारको कामलाई प्राथमिक महत्वको विषय बनाउनु पर्छ । 
३. साहित्य संगीत र कलाको समुन्नति,
संस्कृति भन्नासाथ सबैभन्दा पहिले सबैले सम्झने साहित्य, संगीत र कला नै हो । त्यसैले सांस्कृतिक समृद्धिको कुरा गर्दा साहत्य, संगीत र कलाको समुन्नतितिर हाम्रो ध्यान आकर्षित हुन्छ । यहाँ बोलिने कैयन् भाषाहरु संस्कृत भाषाबाट जन्मिएकाले प्राचीन संस्कृत साहित्यसँग पनि नेपालको साइनो गाँसिएको छ भने वर्तमान समयमा यहाँ बोलिने विभिन्न भाषाका साहित्य त झन् सरोकारका विषय त हुने नै भए । त्यसैले वेद, उपनिषद्, पुराण, रामायण, महाभारत, गीता आदिसँग सम्बन्धित संस्कृत साहित्यबाट यथेष्ट लाभ नेपाली समाजले लिन सक्नुपर्दछ । तिनको सोधखोज, व्याख्या र चर्चा र परिचर्चाका काममा व्यापकता आउनुपर्दछ भने नेपालका विभिन्न भाषामा साहित्यको विकास गरेर चेतनशील, समुन्नत र सभ्य समाजको निर्माण गर्नुपर्दछ । नेपाली, नेवारी, मैथिलि, भोजपुरी, अवधी, तामाङ, मगर, लिम्बु, शेर्पा, थारु, गुरुङ, बान्तवा, चाम्लिङ आदि साहित्य लेखिएका भाषाको अवस्था ख्याल गरेर तिनलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पुर्याउन विशेष प्रयत्न गरिनुपर्दछ । साहित्य नलेखिएका भाषामा पनि साहित्यको विकास गर्ने अवसर प्रदान गरिनु पर्दछ । अनुवाद गरेर भए पनि असल साहित्य सबै भाषामा पुर्याइनु पर्दछ । 
लोक साहित्यका लोकगीत, लोक कविता, लोक गाथा, लोक काव्य, लोक कथा, लोक नाटक, उखान, टुक्कार गाउँ खाने कथा नेपालका सबै भाषामा अमूल्य सम्पदाका रुपमा रहेका छन् । तिनको अनुसन्धान, संरक्षण र संवर्धनमा सबैको ध्यान जान आवश्यक छ । नेपालको संगीत क्षेत्र विभिन्न समुदायका गीत, नाच र बाजाका विविधताबाट लाभान्वित छ । सयौँ प्रकारका गीत, नाच र बाजाका स्वर एवम् झंकारबाट यो झङ्कृत छ । विभिन्न जातजाती पुर्खौली उत्तराधिकारका रुपमा प्राप्त गरेको र नेपालको प्रकृतिले समेत सघाएको नेपाली संगीतको मिठास अद्धितीय छ, स्मरण रहोस्, यहाँको विविधतामय प्रकृतिमा रहेका चराचुरुङ्गी र झ्याउकिरी जस्ता किरामिराका स्वरलाई पनि नेपाली संगीतले वाणी प्रदान गरेको छ । नेपाली गीत, नाच र बाजाको राम्रो प्रयोग हुन सक्यो भने अवश्यमेव यसले संसारभर नेपालको प्रतिष्ठा बढाउने र आय आर्जनमा ठूलो लाभ पुर्याउने सम्भावना छ । यिनको व्यावसायीकरणमा भने खासै काम भएको छैन । व्यक्तिगत प्रयत्नमा केही कलाकारले देश विदेशमा केही प्रस्तुति नदिए पनि त्यसको मात्रा नगण्य छ । चित्रकला र मूर्तिकलाका क्षेत्रमा पूर्खाहरुले गरेको योगदानमा नेपालले गर्व गर्दै आएको छ । अरनिकोले चिनमा गएर कमाएको ख्यातिबाट हाम्रो शिरु उँचो भएको भएको स्मरण हामीले गर्दै आएका छौँ । लोककलाका विविध बान्कीहरु विविधतामय नेपाली समाजमा विद्यमान छन् । परम्परागत ज्ञान र सीपको हस्तान्तरण, कलाकृतिको बेचबिखन र प्रर्दशनका लागि उल्लेखनीय काम हुन सकेको छैन । कला सङ्ग्रालयहरुका संख्या पनि नगण्य नै छ । यस स्थितिमा साहित्य, कला र संस्कृतिको समुन्नतिका लागि सुविचारित योजना बनाई कार्यान्वयन गरिनुपर्छ । यी क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिलाई समुचित रुपमा सम्मानित र पुरस्कृत गरिनु पर्दछ । साहित्यकारका नाममा सङ्ग्राहालय खोल्ने कामको प्रारम्भ महाकवि देवकोटा सङ्ग्राहालयबाट गर्ने कुरा नेपाल सरकारले सार्वजनिक गरेको छ । साहितय, कला र संगीतमा विशिष्ट योगदान गर्ने राष्ट्रिय प्रतिभाका नाममा उहाँहरुका कृति र श्रव्यदृश्य सामग्रीहरु सहित सङ्ग्रहालय सञ्चालन गर्न सकिएमा यस क्षेत्रमा काम गर्नेहरुलाई ठूलो प्रेरणा हुने छ । यसका साथैअवलोकन टिकटबाट आय आर्जनमा समेत यसबाट योगदान पुग्ने छ । साहित्यकार एवम् कलाकारहरुलाई साधना गर्नका निम्ति साहित्यग्राम र कलाग्राम निर्माण गरेर तथा चलचित्र छायाङ्कनका लागि छायाङ्कन स्थल व्यवस्था गरेर पनि सिर्जनामा उर्जा थप्न सकिन्छ, जसबाट सांस्कृतक समृद्धिमा योगदान हुन जान्छ । सर्जकहरुले अथक श्रमबाट तयार गरेको सामग्रीको समुचित लेखकस्व नपाउने अवस्थाले पनि सिर्जनाप्रति उदासीनता उत्पन्न गरेको पाइन्छ । यो स्थिति अन्त्य गर्न चीनको हान्चाउमा सरकारले गरेको व्यवस्था यहाँ पनि लागु गर्न पाए हुन्थ्यो भन्ने मलाई लागिरहन्छ । त्यँहाको सरकारले लेखकहरुका नम्ति आवासको व्यवस्था गरेको छ । त्यहाँ बसेर उनीहरुले सिर्जना गर्छन् र ती सिर्जनाहरुमध्ये कुनै टेलिभिजनमा प्रसारण गरिन्छन्, कुनै अनलाइन एवम् छापा माध्यममा प्रकाशित गरिन्छन्, कुनै चलचित्र निर्माणमा प्रयोग गरिन्छन् र कुनै बालबालिकाका निम्ति कार्टुन, चित्रकथा आदिका सामग्री बन्छन् । तीमध्ये लेखकले राम्रो लेखकस्व पाउँदछन् । रचना पढ्नका लागि पाठकहरुले विद्युतीय आर्थिक कारोबारका माध्यमबाट रकम जम्मा गर्दा ७० प्रतिशत सधै लेखकका खातामा र ३० प्रतिशत सरकारका खातामा जम्मा गर्छन् । यसरी लेख्नेहरुमध्ये करोडको आय आर्जन गर्ने केही लेखकहरुसँग हामीलाई भेट गराइएको थियो र उहाँहरुको सकारात्मक अनुभव सुनेर हामी निकै प्रभावित भएका थियौँ । हाम्रो यहाँ पनि यस प्रकारको व्यवस्था लागु गर्न पाए सांस्कृतिक समृद्धिमा समर्पित स्रष्टाहरुलाई विशेष प्रोत्साहन हुने थियो । 
४. सांस्कृतिक पर्यटनको विकास 
र्सास्कृतिक समृद्धिका निम्ति सांस्कृतिक पर्यटन अत्यन्त महत्वपूर्ण छ । शिव पार्वतीको वासस्थल, बुद्धको जन्मभुमि र सीताको माईतीमा पाइला टेक्ने आकाङ्क्षा विश्वका सबै हिन्दु र बौध धर्मावलम्बीहरुमा हुनु स्वाभाविक छ । धार्मिक आस्था राख्नेहरुका लागि पशुपति, लुम्बिनी, जनकपुर, स्वयम्भु, मुक्तिनाथ, बराहक्षेत्र, स्वर्गद्धारी, चन्दननाथ, पञ्चकोसी, काक्रेविहार, शैलेश्वरी, त्रिपुरासुन्दरी, बैजनाथ, वागेश्वरी, चण्डेश्वरी, नमोबुद्ध, पाथीभरा, खैरावाङ, विध्यवासिनी, छिन्नमस्ता, नम्खा गुम्बा, हल्जी गुम्बा, आदि भएका धार्मिक महत्वका अनेक स्थान यहाँ छन् । यिनका बारेमा जानकारी भएमा ठूलो संख्यामा पर्यटकहरु नेपाल भित्रिन सक्छन् । बरु धर्मार्थ भित्रिने पर्यटकहरुका निम्ति भरपर्दो सुरक्षा, बस्न खान सुविधाजनक होटल, आउन जान सहज यातायात, तालिम प्राप्त दोभासे आदिको समुचित व्यवस्थाको अभाव नहुने वातावरण निर्माण गर्न भने अबेर गर्नुहुँदैन । 
यहाँका लोभलाग्दो नाच, गान, वादन तथा खानपान र वेशभूषाले पनि पर्यटकहरुलाई लोभ्याउने क्षमता राख्दछन् । यस्तै ऐतिहासिक महत्वका स्थान, गढी, किल्ला र देवलहरुको अध्ययन अवलोकन पनि पर्यटकहरुका रुचिका विषय हुन सक्छन् । यिनका निम्ति सुगम सहर मात्र होइन गाउँका बस्तीहरुसम्म पर्यटकहरु पुग्न सक्दछन् । ऐतिहासक महत्वका भवन, किल्ला र देवलहरुको संरक्षण नभई कतिपय ठाउँमा अलपत्र छन् । तीनको संरक्षण र जीर्णोद्धार आवश्यक छ । अहिले पनि नेपाली गीत संगीत घन्काउँदै कैयन् गाउँलेहरुले पर्यटकहरु भित्र्याई रहेका छन्, घर घरमा अतिथिलाई आश्रय दिने होमस्टेको व्यवस्था गरेका छन् । तिनको विस्तारले अझ बढी लाभ हुने छ । बरु पर्यटकहरुबाट भित्रिन सक्ने विकृतितर्फ भने बेलैमा सचेत भई उचित नीतिनियम र आचार संहिता निर्माण गर्नु उपयुक्त हुने छ । 
भाषा, लोकसाहित्य, चित्रकला, मूर्तिकला, लोककला आदिको अध्ययनका निम्ति पनि पर्यटकहरुका रुपमा विदेशीहरु नेपालमा आउने गरेका छन् । १२३ भाषा बोलिने, लोक साहित्यका अनेक खजाना भेटिने र १२५ जातजातीका बहुविध कलाको सङ्ग्रहालयका रुपमा रहेको नेपालले विश्व समुदायलाई दिन सक्ने धेरै कुरा ढुकुटीमा राखेको छ । ठाउँ ठाउँमा अध्ययन केन्द्र, पुस्तकालय र कला सङ्ग्रहालयहरु निर्माण गरेर ज्ञानको भोक मेट्न आउनेहरुलाई खुराक प्रदान गर्न सकिन्छ । चीनको उचनमा रहेका महिलाहरुका खुट्टा साँघुर्याउन पहिले पहिले लगाएने जुत्ताहरु भएको सङ्ग्रहालय र विवाहमा गरिने गतिविधि सम्बन्धी सङ्ग्रहालय देखेपछि अनेक प्रकारका सांस्कृतिक सङ्ग्रहालय बनाएर पर्यटकहरुलाई आकर्षण गर्न सकिने बारे यस पङ्क्तिको लेखकले जानकारी पाएको थियो । हाम्रम बस्तीहरुमा पनि यस प्रकारका सङ्ग्रहालय निर्माण गरेर  आन्तरिक र बाह्य दुबै पर्यटन वृद्धि गर्न सकिन्छ । अझ सङ्ग्रहालयका विभिन्न विशेषताबारे प्रभावकारी ढंगले वर्णन गर्न सकने तालिम प्राप्त जनशक्तिलाई कोठा कोठामा तैनाथ गर्न सकियो भने त एउटै सङ्ग्रहालयमा धेरैको रोजीरोटीको समेत व्यवस्था गर्न सकिन्छ । सांस्कृतिक समृद्धिका निम्ति केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि यस्ता गतिविधि गर्न सकिन्छ । 
५. सहकार्यको संस्कृति विस्तार 
नेपालमा मिलेर बस्ने, मिलेर काम गर्ने, बाँडीचुँडी खाने, एकअर्काको दुःख सुखमा सघाउने, सँगसँगै मेलापर्व मनाउने, परस्पर सहयोगमा खेतबारीमा पर्मपात गर्ने, मिलेर धारापनेरा र चौतारा चिन्ने तथा बाटोघाटो, पुलपुलेसा एवम् कुलाकुलेसा निर्माण र मर्मत गर्ने प्रचलन अझै जीवित छ । यस प्रकारको एकतालाई अझ सुदृढ र समृद्ध बनाउन आवश्यक छ । जुनसुकै जातजाति, क्षेत्र र भाषिक समुदायका भएपनि आम जन समुदायका समस्या उस्तै हुन् र एकताबद्ध भएर गरिने सामूहिक प्रयासबाट नै समस्याबाट मुक्त भई अगि बढ्न सकिन्छ । व्यक्ति केन्द्रित प्रवृतिले सहकार्यको संस्कृतिलाई किनारा लगाउँदै छ ।मै खाऊँमै लाऊँको भावनाले व्यक्ति समाज र सिङ्गो मानव समुदायलाई नै हानि पुर्याउँदै छ । समाज र राष्ट्रका हितमा सामूहिक रुपमा श्रमदान गरेर ठूला ठूला काम गर्न सकिन्छ । नेता वामदेव गौतमको पहलमा बर्दयामा बबैबाट नहर ल्याउन दिनमा १०००० जनाले एकसाथ सहर्ष श्रमदान गरेको कसैले बिर्सेका छैनन् । नेपाली जनता अत्यन्त मेहनती, सहयोगी, श्राशील र गुनिला छन् । कसैले आफूलाई शोषण र ठगीढाँटी गरेको छैन भन्नेविश्वास लागेमा तन मन धनले सहयोग गर्दछन् तर आफूमाथि छलकपट भइरहेको छ भन्ने महसुस गरेमा पूरै पिठिउँ फर्काइ दिन्छन् । अतः विश्वासको सङ्कट आउने काम कसैले पनि गर्नुृ हुँदैन । यसो गरेमा ठूला ठूला आयोजनाहरु सहकार्यमा र सामूहिक सहभागितामा सम्पन्न गर्न सकिने छ । नेपाली समाजको एकता र उन्नति दुबैका लागि सहकार्यको संस्कृति एउटा गतिलो पक्ष हो । शिव संस्कृतिले पनि हामीलाई यही कुरा सिकाएको छ । वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रित शिव परिवारमा चरम विरोधीहरु मिलेर बसेको उदाहरणस्वरुप पार्वतीको वाहन बाघ हुनु र बाघको आहारा साँढे शिवको वाहन हुनु, शिवको घाँटीमा सर्प हुनु र त्यसको आहार मुसो गणेशको वाहन हुनु अनि कार्तिकेयको वाहन मयूर हुनु र त्यसको खाद्यवस्तु शिवको वाहन सर्प हुनुलाई औँल्याएका छन् । बाघ, सर्प, साँढे, मुसो र मयूरलाई उनले गणचिह्न पनि मानेका छन् र विभिन्न गणका मान्छेहरु शिव परिवारसँग सम्बद्ध रहेको जानकारी दिएका छन् । यस परिवारको गणेशको टाउको हात्तीको हुनु, कार्तिकेयका छ वटा टाउको हुनु, यस परिवार मै रहेका नन्दी र भृङ्गीका टाउकामा सिङहरु हुनु, पार्वती रशिव वैदिक र गैरवैदिक हुनुलाई पनि उनले विभिन्न समुदायका मान्छेहरुको ऐक्यका रुपमा लिएका छन् । वास्तवमा नेपाल विभिन्न समुदायका व्यक्तिहरुको साझा थलो हो र सबैको साझा बलमा नै यसलाई समृद्ध बनाउन सकिन्छ भन्ने विचारले सहकार्यको संस्कृतिलाई हृदयङ्गम गर्नुपर्छ । 
६. कुप्रथा, अन्धविश्वास र असमानताको अन्त्य 
नेपालमा सामन्ती संस्कृतिको जरा खलबलिए पनि पूरै उखेलिएका छैनन् । दाइजो प्रथा, देउकी प्रथा, झुमा प्रथा, छाउपडी प्रथा, कुमारी प्रथा र बोक्सी प्रथाले विशेषतः महिलाहरु माथि अन्याय गरिरहेका छन् । बहु विवाह, बाल विवाहर अनमेल विवाहको अस्तित्व पनि अझैँ मेटिई सकेको छैन । देवीदेउता, राक्षस, भुतप्रेत, डाइनी, किचकन्नी आदि अदृश्य तत्वमाथिको विश्वासले मान्छेलाई कमजोर बनाइरहेकै छ । यस्तैसाइतको बेला विधवा सम्मुख पर्न नहुने, बिरालाले बाटो काटे अशुभ हुने, शनिवार यात्रा गर्न नहुने, पुरुषको दाहिने आँखो फरफराए शुभ हुने भन्ने जस्ता शुभाशुभ र साइत कुसाइत सम्बन्धी अन्धविश्वास पनि समाजमा जिउँदै छन् । जस्तासुकै रोग पनि धामीझाँक्री र तन्त्रमन्त्रबाट निको हुने कुरामा भर पर्दा कतिका सम्पत्ति स्वाहा भएका छन् भने कतिका ज्यान गएका छन् । वर्गीय, जातीय र लिङ्गीय असमानताले समाजलाई अझै डसिरहेको छ । उच्च वर्गले निम्न वर्गलाई, तथाकथित गैरदलितले दलितलाई र पुरुषले नारीलाई गर्दै आएको शोषण उत्पीडन अझै विद्यमान छ । बलियाले कमजोरलाई, साङ्गले अपाङ्गलाई, गोराले कालालाई, पढेकाले नपढेकालाई युवायुवतीले वृद्धवृद्धा र बालबालिकालाई होच्याउने, तिरस्कृत गर्ने र प्रताडित गर्ने जस्ता कुकर्म पनि समाजमा भइ नै रहेका देखिन्छन् । यसरी नै बसोबासका आधारमा एकले अर्कालाई पुर्बेली, पश्चिमेली, लेकाली, तराईली, मधेसी, पर्वते, काँठे, पाखे आदि भनेर खिसीट्युरी गर्ने तथा एक भाषा भाषीले अर्को भाषाभाषीलाई दुव्र्यवहार गर्ने काम पनि कताकति भइरहेको देखिन्छ । सांस्कृतिक समृद्धिका मार्गमा अवरोधका रुपमा रहेका यस्ता कुप्रथा, अन्धविश्वास र असमानताको अन्त्य आवश्यक छ । 
लेखक एस.पी.गौरब कमलामाई मिडिया प्रा.लिका सञ्चालक हुन भने राष्ट्रिय समाचार समिति(रासस)को सर्लाही सम्वाददाता हुन ।

सम्बन्धित समाचार