अक्टोवर क्रान्ति, क्रान्ति र प्रतिक्रान्तिका सय वर्ष

554 Shares


२० औँ शताब्दीमा उठेका क्रान्तिका तरंगहरू साम्राज्यवादी प्रतिक्रान्तिमा टुंगिएको विषयलाई कसरी बुझ्ने ? र,भावी विश्व क्रान्तिका लागि यसको अर्थ के हुन्छ ? जवाफका लागि गत शताब्दीमा साम्राज्यवादी भूराजनीतिको एउटा पूरा सर्वेक्षण गर्नुपर्ने हुन्छ ।  कार्ल मार्क्सको पुँजी प्रकाशित भएको पचासौँ वर्षगाँठमा सन् १९१७ को रुसी क्रान्ति सुरु भएको थियो । अक्टोबर क्रान्तिमा सुरुदेखि नै मार्क्सको विश्लेषणसँग विरोधाभाष र मेल दुवै देखिन्थ्यो । मार्क्सले पश्चिमी युरोपका विकसित पुँजीवादी मुलुकमा श्रमजीवी वर्गमा आधारित समाजवादी क्रान्ति सुरु हुने परिकल्पना गरेका थिए । तर आफ्नो मृत्युको एक वर्षअघि १८८२ मा लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रको प्राक्कथनमा उनले यसलाई संशोधन गरेका छन् । र,रुसमा हुने क्रान्तिलाई पश्चिमी समाजमा सर्वहारा क्रान्तिको सम्भावित संकेतका रुपमा उल्लेख गरेका छन् । \मार्क्सवादीहरूको नेतृत्वमा मजदुर किसान क्रान्तिले १९१७ मा सफलता पाए पनि रुस त्यति बेलासम्म मूलतः अल्पविकसीत देश थियो । र,यसको प्रभावस्वरुप जर्मनी तथा मध्य युरोपमा उठेका क्रान्तिकारी विद्रोहहरू सजिलै दवाइए । यस्तो परिस्थितिमा बाहिरी दुनियाँबाट पूर्णतया अलग रहेको सोभियत रुसले ठूलो प्रतिक्रान्तिको सामना गर्नुप¥यो । सबैजसो प्रमुख साम्राज्यवादी शक्तिहरू कम्युनिस्ट विरोधी ‘ह्वाइट फोर्स’ लाई सघाउँदै रुसी क्रान्तिमाथि हस्तक्षेप गरिरहेका थिए । ‘सोसियलिज्म इन वन कन्ट्री’ अर्थात ‘एक मुलुकमा समाजवाद’ को नारा सोभियत युनियनले कार्यान्वयन ग¥यो जुन बाहिरबाट थोपरिएको भूराजनीतिक यथार्थ पनि थियो । विभिन्न सन्धीका नाममा रुसको भूमि कब्जा गरियो र, भर्सलिज सन्धीमार्फत रुसलाई झन् एक्ल्याइयो ।
सामान्यअर्थमा हेर्दा यो त्यतिबेला उपनिवेशवाद थियो । तर पुँजीवादको एकाधिकारको चरणसँग यसको सम्बन्ध थियो । यो साम्राज्यवाद नै थियो । लेनिनले क्रान्ति र प्रतिक्रान्तिको अवस्था  निर्धारण गरेर यसलाई ’वीसौँ शताब्दीको पुँजीवादका विशिष्ट भिन्नता’ नाम दिएका थिए ।  उपनिवेशिक भूभाग बढाउन युरोपेली मुलुकबीच भएको प्रतिस्पर्धाले १७ औँ शताब्दीदेखि नै त्यहाँको द्वन्द्वलाई आकार दिइसकेको थियो । १९ औँ शताब्दीको अन्त्यसम्ममा यो विवादले नयाँ रुप लियो । नयाँ साम्राज्यका लागि होइन कि एकअर्कासँग तीव्ररुपमा जोडिएको साम्राज्यवादी विश्व प्रणालीमा वैश्विक वर्चस्वका लागि राष्ट्रराज्य र तीनका संघहरूबीच नयाँ द्वन्द्व देखाप¥यो । त्यसैले क्रान्ति र प्रतिक्रान्ति पनि यही प्रणालीको तहभित्र एकअर्कासँग जोडिन्थे । सबै क्रान्तिका तरंगहरू ‘पेरिफेरी’ मा केन्द्रित हुन्थे जहाँ गम्भीर शोषण थियो । महानगरहरूमा साम्राज्यवाद विरुद्ध विद्रोहहरू उठ्थे र त्यहीँ ‘कोर’ पुँजीवादी राज्यहरूले प्रतिक्रान्ति उठाउँथे । पुँजीवादी राज्यका श्रमजीवी वर्गभित्रको एउटा पक्षले जहिले पनि अप्रत्यक्षरुपमा पेरिफेरीबाट फाइदा लिन्थ्यो र, अभिजात वर्गमा रुपान्तरित हुन्थ्यो । यो तथ्यलाई सबैभन्दा पहिला फ्रेडेरिक एङ्गेल्सले उल्लेख गरेका थिए । र, पछि लेनिनले यसैलाई सैद्धान्तिकरण गरेर पुँजीवादको उच्च रुप नै साम्राज्यवाद भएको व्याख्या गरे ।
आज रुसी क्रान्तिको सय वर्ष तथा पुँजीवादी क्रान्तिको डेढ शताब्दी पुगेको छ र परिस्थितिमा ठूलो भिन्नता आएको छ । के देखिन्छ भने घडीको सुई उल्टो घुमेको छ र विश्वप्यापी प्रतिक्रान्तिले विजय प्राप्त गरेको छ । १९६० मा आधार बनाएका अधिकांश मुक्तिकामी आन्दोलनहरू जसले मूलतः पेरिफेरीमा प्रभाव जमाएका थिए,तिनले घुँडा टेकेका छन् ।  फेरि पनि, पुँजीवादी विकासका वस्तुगत विरोधाभाष पहिला भन्दा झन् गम्भीर भएर गएका छन् । सन् २००७ देखि २००९ सम्मको विश्व आर्थिक संकटले यसको घुम्टो खोलिदिएको छ । यो पनि स्पष्ट भइसकेको छ कि वित्तीय पुँजीको एकाधिकारले अभूतपूर्व रुपमा असमानता बढाउँछ, गतिहीनता र अस्थिरतालाई बढावा दिन्छ, मानव सभ्यता नै ध्वस्त पार्ने युद्धहरू निम्त्याउँछ, वातावरण विनास गर्छ र नयाँ खालको राजनीतिक आर्थिक प्रतिक्रिया र संकट निम्त्याउँछ । यसले अहिलेको पुस्ताको भविष्यमात्र होइन,भावी सबै पुस्ताको भविष्य र मानवको अस्तित्व नै संकटमा पु¥याउँछ । इरिक होब्सवामले २० औँ शताब्दीको इतिहासको निष्कर्षमा भनेका छन्, ‘असफलताको मूल्य भनेको परिवर्तित समाजका अँध्यारा विकल्पहरू हुन् ।’
विश्व प्रतिक्रिया
 २० औँ शताब्दीमा उठेका क्रान्तिका तरंगहरू साम्राज्यवादी प्रतिक्रान्तिमा टुंगिएको विषयलाई कसरी बुझ्ने ? र, भावी विश्व क्रान्तिका लागि यसको अर्थ के हुन्छ ? जवाफका लागि गत शताब्दीमा साम्राज्यवादी भूराजनीतिको एउटा पूरा सर्वेक्षण गर्नुपर्ने हुन्छ । १८७० को मध्यदेखि पहिलो विश्वयुद्धसम्मको समयमा पुँजीवादी विकासको बहसमा एउटा गुणात्मक फड्को थियो । समकालीन अनुसन्धानकर्ताहरू पनि त्यसबेलालाई ‘नव साम्राज्यवाद’ भन्ने गर्छन् किनभने त्यतिबेला औपनिवेशिक क्षेत्र हत्याउने काम तीब्र भएको थियो,नयाँनयाँ साम्राज्यवादी शक्तिहरू बढेका थिए र साम्राज्यवादीभित्र पनि नयाँनयाँ प्रतिस्पर्धीहरू जन्मिएका थिए । यही कालमा एकाधिकार पुँजी र पुँजीवाद ठूला औद्योगिक तथा वित्तीय फर्महरूले कब्जा गरेका थिए । जर्मनी र अमेरिका पुँजीवादको एकाधिकारको चरणमा ठूला उद्योगको नयाँ युगमा छलाङ मारेका थिए तर ब्रिटेन भने यसमा पछि थियो । औद्योगिक क्रान्तिदेखि विश्व पुँजीवादी अर्थतन्त्रमा रहेको ब्रिटेनको अधिपत्य अन्य देशहरूको प्रतिस्पर्धाका कारण धर्मराउन थालेको थियो । १९ औँ शताब्दीका अन्तिम तीन दशकहरू आर्थिक स्थिरताका वर्षहरू थिए जब कि युरोप ’ग्रेट डिप्रेसन’ भनिने आर्थिक महामन्दी भोगिरहेको थियो । र,यो पुँजीवादी शक्तिमा आएको नाटकीय परिवर्तनको द्योतक पनि थियो ।
 यी प्रवृत्तिहरूको अवलोकन गरेर मुख्य पुँजीवादी राज्यका साम्राज्यवादका हिमायतीहरूले भूराजनीतिको नयाँ छद्म विज्ञानको विकास गरे,जुन विश्व प्रणालीमा प्रभुत्व (हेजेमोनी) जमाउनका लागि गरिने संघर्षमा केन्द्रित रह्यो । क्लजविट्जियन (पर्सियाका सैन्य सिद्धान्तकार कार्ल भोन क्लजविट्जका सिद्धान्तहरूमा आधारित) शब्दमा भूराजनीति भनेको पनि युद्ध नै हो । यो कसैबीच दुश्मनी बढाउन झन् खतरनाक पनि हुन सक्छ । मुख्यतः अमेरिका र जर्मनीमा १८९० ताका जब राष्ट्रहरू साम्राज्यवादी शक्तिको रुपमा विकास भए, यसको प्रादुर्भाव भयो । अमेरिकामा चाल्र्स कोनान्टको ‘द इकोनोमिक बेसिस अफ इम्पेरियालिज्म (१८९८)’ र ब्रुक्स अडाम्सको ‘द न्यु इम्पायर (१९०२)’ मा यसको उदाहरण पाइन्छ । यी दुबैले संसारमाथि र मुख्यगरी एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको राजनीतिक आर्थिक प्रभुत्वको बारेमा मुक्तकण्ठले उल्लेख गरेका छन् । जर्मन स्कुल अफ जियोपोलिटिकका संस्थापक फ्रेडरिक राजेलले १८९० मा लेबेनस्रनम शब्द प्रयोगमा ल्याए । यसको अर्थ हुन्थ्यो— बाँच्ने ठाउँ । “यो सानो ग्रहमा‘”, उनले लेखेका थिए, “एउटा महान देशका लागिमात्र पर्याप्त ठाउँ छ ।” यो जर्मन नीतिको अभिन्न पक्ष थियो ।
तर,के भन्न सकिन्छ भने शास्त्रीय भूराजनीतिक विश्लेषण दोस्रो विश्वयुद्ध र युद्धकालहरूमा मात्र देखा परे । यसका प्रमुख ब्रिटिस सिद्धान्तकार हलफोर्ड म्याकिन्डर थिए जो लन्डर स्कुल अफ इकोनोमिक्सका निर्देशक पनि थिए । डेमोक्रेटिक आइडियल्स एन्ड रियालिटी (१९१९) मा उनी लेख्छन्, “इतिहासका महान युद्धहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राष्ट्रहरूको असमान विकासको परिणाम हुन् ।” उनको भनाई थियो —जसले पूर्वी युरोपमा शासन गर्छ, उसले हर्टल्यान्ड नियन्त्रण गर्छ,जसले हर्टल्यान्डमा शासन गर्छ, उसले विश्वका आइसल्यान्ड नियन्त्रण गर्छ . जसले विश्वका आइसल्यान्डमा शासन गर्छ, यसले संसार नियन्त्रण गर्छ ।
पुँजीवादी भूराजनीतिको उद्देश्य भनेको एउटामात्र विश्व साम्राज्यको अन्त्य गरी विभिन्न साम्राज्यहरूको विकासको प्रवर्धन गर्नु थियो । ‘हर्टल्यान्ड सिद्धान्त’ समेत भनिने म्याकिन्डरको भूराजनीतिक रणनीति अर्थात् रुसी क्रान्तिबाट प्रभावित थियो र साम्राज्यवादी प्रतिक्रान्तिको औचित्य पुष्टिका लागि प्रयोग हुन्थ्यो । १९१९ मा ब्रिटिस सरकारले उनलाई दक्षिणी रसियाका लागि उच्चायुक्त नियुक्त ग¥यो । रुसी गृहयुद्धमा ह्वाइट आर्मीको लागि ब्रिटिस सहयोग परिचालन गर्नु उनको मुख्य काम थियो । जब रुसी लाल सेनाले ह्वाइट आर्मीलाई धुलो चटायो, म्याकिन्डर लन्डन फर्किए र सरकारलाई रिपोर्ट दिए कि जर्मनीको औद्योगिकरण,सैनिकीकरण र सश्त्रीकरणसँग ब्रिटेन सतर्क रहनुपर्छ र उसँग तत्काल भर्सेलिसको सन्धी गरिहाल्नुपर्छ । उनको बुझाईमा जर्मनी पूर्वी युरोपमा बोल्सेविक नियन्त्रणको प्रमुख बाधक थियो ।
अमेरिकाका महत्वपूर्ण भूराजनीतिक चिन्तक निकोलस स्पाइकम्यानले ‘अमेरिकाज् स्ट्रयाटेजी इन वल्र्ड पोलिटिक्स (१९४२)’ र ‘द जियोग्राफी अफ पिस (१९४४)’ मा म्याकिन्डरको हर्टल्यान्डको विरोध गरेका छन् । म्याकिन्डरले जमिनमा आधारित रहेर भूराजनीतिक विश्लेषण गरेकोप्रति आपत्ति जनाउँदै उनी समुन्द्री शक्तिमाथि जोड दिन्छन् । स्पाइकम्यानका अनुसार जसले ‘रिमल्यान्ड’ नियन्त्रण गर्छ उसले युरोप र एसियामा शासन गर्छ, जसले युरोप र एसियामाथि शासन गर्छ उसले विश्वको भाग्य नियन्त्रण गर्छ ।
सोभियत संघ विघटनपछि पनि अमेरिकी साम्राज्यवादी रणनीति उस्तै छ । नाटो सैन्य घटकहरूलाई युरोप र एसियामा केन्द्रित गर्ने,बाल्कन्स,मध्य एसिया,मध्यपूर्व र उत्तर अफ्रिकामा युद्ध मच्चाउने र रसिया आसपास नाक जोत्ने अमेरिकी कदम १९९२ देखि हालसम्म जारी छ । अमेरिकाको यही वृहद् साम्राज्यको रणनीतिकै कारण मुख्य सामरिक क्षेत्र, पेरिफेरीमा सत्ता विरुद्ध भएका आन्दोलन दवाउने काम हुन्छ र चीनलाई सैन्यरुपमा तथा राजनीतिक रुपमा चेपुवामा पार्ने प्रयास हुन्छ । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंकवादी हमलापछि जर्ज बुसले थालेको ‘आतंकवादविरुद्धको युद्ध’, २००३ को इराक युद्ध, २०११ मा लिविया र सिरियामाथि भएको आक्रमण यसैका अंग हुन् । ओबामा प्रशासनले नाटो सेनाको सहयोगमा २०१४ मा युक्रेनमा गराएको ‘कु’ पनि एक उदाहरण हो । यी घटनाहरूले के देखाउँछन् भने रुस विरुद्धको प्रतिक्रान्तिको शृंखला भूराजनीतिक संघर्षमा विस्तारित भइसकेको छ । ट्रम्पको उदयपछिका सुरुवाती संकेतहरू हेर्दा भूराजनीतिक संघर्षमा केही परिवर्तन आएको अनुमान गर्न सकिन्छ । उनले इस्लामिक स्टेट, इरान, उत्तर कोरिया र चीनलाई मुख्य प्रतिद्वन्द्वीका रुपमा हेर्ने नीति अख्तियार गरेको बुझिन्छ र उनको नीति स्यामुयल पी हटिङ्टनको ‘क्ल्यास अफ सिभिलाइजेसन’ सँग मिल्छ । ट्रम्प प्रशासनले स्पष्ट पारेको छ कि तीव्र आर्थिक विकासद्वारा क्षेत्रीय शक्तिका रुपमा उभिइरहेको चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा हो ।
 भूराजनीतिक प्रभुत्व,सैन्य तथा प्रविधिको शक्ति र डलरमार्फत वित्तीय एकाधिकार अमेरिकाको नेतृत्वमा भइरहेको मुख्य काम हो । उसको नेतृत्वमा भइरहेको यो काममा क्यानडा, युरोप र जापान पनि सँगसँगै छन् । आणविक हतियारको प्रतिस्पर्धामा पनि अमेरिका नै अग्रपंक्तिमा देखिन्छ । तर कुनै बेला द्वन्द्व बढ्दै गएमा आणविक हतियार चल्ने अवस्थामा कसले पहिला प्रहार गर्छ भन्ने चिन्ता सबैतिर देखिन्छ । जसरी जापानको हिरोसिमा र नागासाकीमा पहिला अमेरिकाले हानेको थियो ।अमेरिकालाई पनि डर छ कि कतै आफूमाथि नै त्यो विपत्ती आइलाग्ने त होइन? “साम्राज्यवादको महत्वपूर्ण गुण भनेकै प्रभुत्वका लागि शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा बढ्नु हो“, लेनिनले लेखेका छन् । अमेरिकाले एकध्रुवीय विश्व अथवा एकमात्र साम्राज्य बनाउने प्रयास गरेको यो एक्काइसौँ शताब्दीमा त्यो खतरा अझ बढेको छ । अमेरिका विश्वकै सबैभन्दा विनासकारी राष्ट्र हो भन्ने उसले युद्धका क्रममा मारेका लाखौँ मानिस, उसले गरेका आक्रमण, विश्वभर मच्चाएका युद्धहरूले पुष्टि गरिसकेका छन् । अमेरिकाको त्यो विरासत कायम छ । २०१६ सेप्टेम्बर ३ देखि ५ सम्म उसले ६ वटा ठूला इस्लामिक देशहरू अफगानिस्तान, इराक, लिविया, सोमालिया, सिरिया र यमनमा बम खसाल्यो । २०१५ मा इराक र सिरियामा मात्र उसले २२ हजार बम खसालेको छ ।
क्रान्ति ः मानवको भविष्य
वीसौँ शताब्दीमा क्रान्तिहरू भनेका वर्ग संघर्षजस्तै साम्राज्यवाद विरुद्ध प्रतिरोधका परिणाम हुन् । तर तिनीहरू ठूला शक्तिले उठाएका प्रतिक्रान्तिका शिकार भए । ससाना आन्दोलनहरूलाई पनि पुँजीवादी शासनको चुनौतीका रुपमा हेरिन्थ्यो र अत्यन्त निर्दयी तरिकाले दवाइन्थ्यो । १९७० मा मन्थ्ली रिभ्युका सम्पादकहरू ह्यारी म्याग्डफ र पाउल स्युजीलाई चिलीमा निम्तो दिइएको थियो । चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डे भर्खर प्रजातान्त्रिक चुनावबाट निर्वाचित भएका थिए । उनको सरकारले चिलीमा समाजवाद स्थापना गर्ने लक्ष्य लिएको थियो र अमेरिकी कर्पोरेसनलाई राष्ट्रियकरण गरेर त्यसको थालनी पनि गरेको थियो । म्याग्डफ र स्युजी लामो समयदेखि एलेन्डेका मित्र थिए र उद्घाटन समारोहमा उनीहरूको विश्लेषण अमेरिका र चिलीको सेनाबीचको नजिकको मित्रतामा केन्द्रित थियो । उनीहरूको संकेत थियो कि वासिङ्टनले सैन्य कु गराउन सक्छ । उनीहरूले चेतावनी दिएका थिए कि साम्राज्यवादले कुनै पनि कानुनी शासनको सम्मान गर्दैन । नभन्दै तीन वर्षपछि अमेरिकाको योजनामा चिलीमा सैन्य प्रमुख अगस्टो पिनोसेको नेतृत्वमा रक्तपातपूर्ण विद्रोह भयो । जसमा राष्ट्रपति एलेन्डेसहित हजारौँको मृत्यु भयो ।
एक्काइसौँ शताब्दीका लागि नयाँ र अझ क्रान्तिकारी समाजवाद सिर्जना गर्नु आवश्यक छ । जसले केन्द्र र पेरिफेरी दुवैतिर मानवको वास्तविक भविष्यका लागि लोकतान्त्रिक,समानुपातिक,पर्यावरणीय,क्रान्तिकारी परिवर्तन ल्याउन सकोस् । नत्र मानवताको मृत्युको विकल्प छैन ।  यी सबैले के ऐतिहासिक सत्य पुनः पुष्टि गर्छन् भने समाजवादी क्रान्ति नहुन सक्छन् तर यो उठ्नुचाहिँ पर्छ । र,प्रतिक्रान्तिको वास्तविकताको सामना चुनौतीपूर्ण छ । वास्तवमा गत शताब्दीमा भएका क्रान्ति र प्रतिक्रान्तिको बारेमा धारणा बनाउँदा प्रतिक्रान्तिहरूको तागत र कमजोरीमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । यो ऐतिहासिक द्वन्द्वात्मकताको वृहद् सन्दर्भमा मात्र हामीले क्रान्तिकारीहरूका संघर्ष र कमजोरीहरूलाई हेर्नुपर्ने हुन्छ । इतिहासका पुस्तकहरूदेखि मूलधारका मिडियासम्म १९१७ को रुसी क्रान्तिलाई पश्चिमको सुरुदेखि अन्त्यसम्म पूर्ण रुपमा विफल तर एउटा प्रमुख विचारधाराका रुपमा प्रस्तुत गरिएको छ । सोभियत रुस आन्तरिक असक्षमता र सुधार्नै नसकिने कमजोरीहरूका कारण ध्वस्त भएको भनियो तर माथिका सन्दर्भले के देखाउँछन् भने अमेरिकी शक्ति र सेनाले शितयुद्धमा ’विजय’ प्राप्त गरेका थिए । रुसी क्रान्तिले ल्याएका अपार मानवीय सम्भावनाहरूको अन्त्य विनासकारी रुसी गृहयुद्धमा सकियो जसमा ह्वाइट रुसी शक्तिलाई पश्चिमा शक्तिले हतियार तथा सैन्य शक्ति सहायता दिएका थिए । सोभियत रुस पछि जोसेफ स्टालिनको क्रुरताको शिकार भयो ।
तथापि,सोभियत रुसले अद्वितिय औद्योगिक विकास पनि ग¥यो,श्रमजीवी वर्गको अवस्थामा सामान्य सुधार पनि आयो र जनताले सीमित भए पनि आर्थिक सुरक्षा पाए । त्यो सोभियत संघ नै थियो जसले दोस्रो विश्वयुद्धमा पश्चिमालाई जोगायो । सोभियत युनियनको अस्तित्वका कारण तेस्रो विश्वमा कयौँ स्वतन्त्रता संग्रामहरू भए । सोभियत ब्लकको वृद्धि र यस क्षेत्रको आर्थिक तथा प्राविधिक सफलताले १९७० को दशकसम्म विश्वमा रुसको उपस्थिति सुरक्षित रह्यो । यसको केन्द्रीय योजना प्रणालीले गैरपुँजीवादी अर्थमा आर्थिक तथा समाजिक विकासका नयाँ र सफल सम्भावनाको ढोका खोल्यो । तर समाजवादी क्रान्ति अगाडि बढाउन सोभियत रुस असफल रह्यो ।  क्रान्तिपछिको समाजमा खडा भएको असमानताले एक खालको नोकरशाही शासकवर्ग जन्मायो । पूर्वी युरोपको स्वतन्त्र विकासमा रुसको हठपूर्ण अस्वीकार्यता (किनभने रुस यो क्षेत्र पश्चिमाहरूले बफर जोनका रुपमा प्रयोग गर्ने ठान्थ्यो) १९५६ मा हंगेरी तथा १९६८ मा चेकोस्लोभाकियामाथि भएको रुसी हस्तक्षेपले स्पष्ट भयो ।
अन्तिममा,सोभियत रुसले आफ्नो आन्तरिक गतिशीलता गुमायो । आन्तरिक विकासमा भन्दा पनि बाह्य कुराहरूमा अति निर्भर भयो । जस्तो कि गतिशील उत्पादन र प्राविधिक नवीनता भन्दा पनि पुरानै श्रम तथा श्रोतमा ऊ निर्भर रह्यो । पश्चिमासँग दशक लामो सैन्य,राजनीतिक,आर्थिक युद्धले रुस थिलोथिलो भएको थियो । मिखाइल गोर्वाचोभको गलत तथा विनाशकारी खुलापना र पुनर्गठनका नीतिहरू तथा सतही प्रतिबद्धताहरूले पद्दति सुधार गर्नुभन्दा पनि झन् विगा¥यो । बर्लिनको पर्खाल ढल्नुलाई लाक्षणिक रुपमा पूर्वी युरोपको असफलताको संकेत मानिए पनि पद्दतिकै असफलताको अन्तिम कडी तब बन्यो जब सोभियत सत्ताधारीका कयौँ प्रतिनिधिहरू,भ्रष्ट र सुविधाभोगी बुद्धीजीवीहरूले बोरिस यल्सिन र पश्चिमा गठबन्धनको योजनाअनुसार क्रान्तिपछिका राज्यहरू भंग गर्न सहमत भए । उनीहरूको विश्वास थियो कि पुँजीवादमा नै उनीहरूको व्यक्तिगत तथा वर्गीय स्वार्थ सिद्ध हुन्छ । यी सबैका बाबजुद पनि पुँजीवादी प्रणालीका विरुद्ध पहिलो पटक उठेको समाजवादी आन्दोलनले एक्काइसौँ शताब्दीका क्रान्तिकारी आन्दोलनहरूलाई पनि सुसुचित र प्रेरित गरिरहेको छ । ह्युगो चाभेजको बोलिभियन क्रान्ति,जुन पूर्णतया अर्कै रुपमा भयो,ले पनि अमेरिकी सहयोगमा भइरहेको प्रतिक्रान्तिको सामना गरिरहेको छ । रुसको अद्वितिय आर्थिक, प्राविधिक तथा सांस्कृतिक उपलब्धी ऐतिहासिक स्मरणबाट सजिलै मेटाउन सकिने छैनन् ।
 २० औँ शताब्दीको अन्त्यतिरको पुँजीवादी संकटले प्रमुख पुँजीवादी देशहरूलाई नै खायो । वित्तीय संकटको परिणामस्वरुप पुँजीवादी मुलुकहरूमा श्रमजीवी वर्ग र न्यून मध्यम वर्गबीचको खाडल झन्झन् बढ्दो छ । असमानता विश्वभर नै इतिहासकै उच्च विन्दुमा पुगेको छ । यो अन्तहीन संकट यति गम्भीर देखिन्छ कि यसले पुँजीवादी मुलुकहरूभित्र पनि अस्थिरता उत्पन्न गरिदिएको छ । अधिकांश पुँजीवादी मुलुकको शासकवर्गले असफलताबाट मुक्तिका लागि कट्टर दक्षिणपन्थीलाई पुनर्जीवन दिँदै पद्दतिलाई स्थिरता दिने अन्तिम प्रयास गरिरहेका छन् । नवउदारवादले आंशिक रुपमा नवफासीवादलाई जन्म दिएको छ । अमेरिकामा पुँजीवादको संकट बन्ने ठानेर विज्ञानलाई नै अस्वीकार गरिएको छ । जलवायु परिवर्तनलाई ट्रम्प नेतृत्वको ह्वाइट हाउसले अस्वीकार गरेको छ । वर्ग संघर्षको इतिहास पूर्व नै प्रतिक्रियावादी शक्तिले धेरै पटक आफ्नो हात माथि पारिसकेका थिए । १८४८ मा युरोपमा भएका क्रान्तिहरूबारे एंगेल्सले ‘जर्मनीः क्रान्ति र प्रतिक्रान्ति’ मा भनेका छन्— क्रान्तिकारी पार्टी होस् वा अन्य कुनै पार्टीले गरेका संघर्षका सबै कुरा सम्झिन सकिन्न तर जब कहीँ पनि क्रान्तिकारी आन्दोलन हुन्छ,त्यसको पृष्ठभूमिमा कुनै न कुनै प्रकारको सामाजिक आवश्यकता हुन्छ । जसलाई कुनै न कुनै बाह्य संस्थाले रोकिरहेका हुन्छन् । यसको समाधानको थालनी सुरुवातबाटै गर्नुको विकल्प हामीसँग हुँदैन ।’
यद्यपि, यी ऐतिहासिक परिस्थितिहरू पटक पटक परिवर्तन भए पनि परिवर्तनको चाहना र भावना भने उस्तै छन् । सामाजिक परिवर्तनका लागि तीव्र आकांक्षा आजको समाजको यथार्थ हो । त्यसैले सुरुदेखि फेरि थाल्नु अत्यन्त आवश्यक छ । एक्काइसौँ शताब्दीका लागि नयाँ र अझ क्रान्तिकारी समाजवाद सिर्जना गर्नु आवश्यक छ । जसले केन्द्र र पेरिफेरी दुवैतिर मानवको वास्तविक भविष्यका लागि लोकतान्त्रिक,समानुपातिक,पर्यावरणीय,क्रान्तिकारी परिवर्तन ल्याउन सकोस् । नत्र मानवताको मृत्युको विकल्प छैन ।( मन्थ्ली रिभ्यु, जुलाइ—अगस्ट २०१७)जोन बेलामी फोस्टर,

सम्बन्धित समाचार