राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्मा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री यादव,निवर्तमान नगर प्रमुख खड्कासहित ७ जनाविरुद्ध मुद्दा दायर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-२१ गते   ४४५ पटक हेरिएको

राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा परिषद् र लालबन्दी नगरपालिका मिलेर सर्पको विष संकलन,प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन भएको थियो ।तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान र लालबन्दी नगरपालिका वीच आपसी सहमतीमा लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सर्पको विष संकलन,प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन भएको थियो ।
तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरी तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्सँग साझेदारी गरेको र बदनीयतपूर्वक रु १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको ठहर छ ।विशेष अदालत,काठमाडौंमा आइतबार दायर भएको मुद्दामा उनीहरुबाट रु १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग समेत गरिएको छ । मधेश प्रदेश सरकारका तत्कालीन अर्थ मन्त्री यादवलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ ।अख्तियारले मधेश प्रदेशको तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।
उनले यो कार्यक्रम कार्यान्वयन गर्नसक्ने वित्तीय,भौतिक एवम जनशक्ति भएको,योजनाको विस्तृत अध्ययन लगायतका पूर्वतयारी सम्पन्न गरेको भनेर झुटो विवरण शर्त घोषणामा उल्लेख गरी योजना आयोगमा अनुदान प्रस्ताव पेश गरेको अख्तियारको ठहर छ।त्यसअनुसार संघीय सरकारबाट रु ३ करोड २७ लाख समपूरक अनुदान गएर परिषद्सम्म पुगेको थियो ।उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ (झ) अनुसार कैद र जरिवाना गर्नुका साथै रु ३ करोड २७ लाख असुल उपर गर्न समेत अख्तियारले मागदाबी गरेको छ ।अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान,हालको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्त,महासचिव नवराज भण्डारी,कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अध्यक्ष पन्तले प्रचलित कानुनविपरीत लागत साझेदारी शुन्य रहेको परिषद्को नाममा सरकारी रकम प्राप्त हुने साझेदारीमा हस्ताक्षर गरी रु १७ करोड ९८ लाख ३३ हजार निकासा लिएको र अरुले सञ्चालक समितिको बैठकबाट कानुन विपरीत निर्णय गरी सरकारी रकम संस्थाको उद्देश्य र स्वीकृत कार्यक्रम विपरीत खर्च गरेको अख्तियारको ठहर छ ।रु १७ करोड ९८ लाख ३३ हजार सरकारी सम्पत्ति दुरुपयोग गर्ने काममा मतियर भई लाभ र सुविधा लिए–दिलाएको भन्दै अख्तियारले प्रतिष्ठानका पदाधिकारीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १(३) अनुसार सह प्रतिवादीलाई हुने सरहको कैद र जरिवाना मागदाबी गरेको छ ।अख्तियारले परिषद्को नाममा रहेको लालबन्दी नगरपालिका १ को ८ विघा ९ कठ्ठा ६ दशमलव ३३ धुर जग्गा र परिषद्का अध्यक्ष पन्तले प्रयोग गरि रहेका स्कारपियो समेत जफतको मागदाबीका लागि परिषद्लाई पनि प्रतिवादी बनाएको छ ।
परिषद्को हाल सम्मको प्रगति 
परिषद्ले लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सर्पपालनका लागि खरिद गरिएको करिब ८ विघा ९ कठ्ठा ६ दशमलव ३३ धुर जग्गा यतिबेला चरन क्षेत्र बनेको छ ।सर्पपालनका लागि परिषद्ले खरिद गरेको जमिनमा कुनै संरचना निर्माण नहुँदा चरन क्षेत्र बन्दै उपयोगविहीन भएको हो । २०७० को दोस्रो संविधानसभा चुनावमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा आएका तत्कालीन नेकपा (एमाले) का तत्कालीन अध्यक्ष एवम हालको नेकपा(एकिकृत समाजवादी)का नेता झलनाथ खनालले चुनावी प्रचारका क्रममा लालबन्दी नगरपालिका १ मा सर्पपालनको प्रतिबद्धता जनाएका थिए ।चुनावी प्रचार प्रसारको क्रममा लालबन्दी नगरपालिका १७ स्थित रानीगञ्ज पुगेका नेता खनालले सर्पदंशबाट एक बालकको ज्यान गएपछि सोही समयमा परिषद्ष स्थापना गर्ने घोषणा गरेका थिए ।
सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा ज्यान गएपछि नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्नका लागि परिषद् स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो । एन्टिस्नेक भेनम उत्पादन आफैँमा महत्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेको भन्दै सो समयमा खनालको निकै आलोचना भएको थियो । त्यसपछिका प्रतिष्ठान(परिषद्)का काम पनि विवादमा तानिन थालेपछि करिब रु १९ करोड रुपैयाँ खर्च हुँदा पनि यसले मूर्तरुप लिन सकेको छैन ।यति ठूलो रकम खर्च भइसक्दा पनि सर्पपालन कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन ।
विवाद बढ्दै गएपछि २०७९ साउनमा संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् बनाइएको थियो ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा परिषद्लाई रु ७२ करोड दिने सम्झौता भएको थियो ।त्यसपछि सबै रकम नेता खनालले लिए जस्तो गरी प्रचार प्रसार र आलोचना समेत भएको थियो ।“यथार्थ के हो भन्ने विषयमा धेरै मानिस प्रवेश नै गरेनन्,राम्रो कामका लागि खोलिएका संस्था भए पनि बदनामी धेरै भएको थियो ।” जसका कारण संस्थाको नाम परिवर्तन गरि राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् बनाइएको परिषद्का अध्यक्ष पन्तले जानकारी दिए ।
व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणको विरोधसँगै दातृ निकायले पनि सहयोग गर्न रुचाएको थिएन् ।अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको भयो। भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको थियो भने सर्प पालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको परिषद्ले जनाएको थियो ।तर संस्था स्थापना भएको नौ वर्ष बितिसक्दा पनि विभिन्न कारणले न्यूनतम संरचना समेत निर्माण हुन सकेको छैन । सरकारबाट प्राप्त भएको रकम डीपीआर,जग्गा खरिद,अध्ययन अनुसन्धानमा खर्च भएको परिषद्का अध्यक्ष पन्तले बताए ।कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब ८ विघा ९ कठ्ठा ६ दशमलव ३३ धुर ऐलानी जग्गा लिएर  कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइए पनि त्यो अपूरो छ  ।
कुल २२ वटा भवन बनाउने योजना भए पनि ४ वटा भवन निर्माण गर्न रु ३४ करोडमा शर्मा एन्ड धुलिखेल जेभीले ठेक्का पाएको भएपनि भवनको जगसमेत खनिएको छैन ।कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा रु ६ करोड खर्च भएको भन्दै भुक्तानीका लागि निर्माण कम्पनीले बिल पठाएको भएपनि सन्तोषजनक काम नभएको भन्दै परिषद्ले भुत्तानी रोकेको  परिषद्का अध्यक्ष पन्तले बताए ।
 परिषद्ले अस्पताल,प्रयोगशाला,प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन,परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको भएपनि बजेट अभावले काम अघि बढ्न नसकेको अध्यक्ष पन्तले बताएका थिए ।परिषद्को गुरुयोजनामा करिब रु ३ अर्ब ५० करोडको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख गरिएको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले रु ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो ।जस अनुसार आर्थिक वर्ष २०७६÷७७ मा केन्द्रले रु ६ करोड बजेट पठाएको थियो । प्रदेश सरकारले यस रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा नपठाएको परिषद्ले जनाएको थियो ।
स्थानीय सरकारले समेत वार्षिक रु १ करोड दिने सम्झौता भए पनि लालबन्दी नगरपालिकाले सम्झौता अनुसारको रु ६ करोड भुक्तानी भएको छैन ।परिषदमा चार जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरुको तलबमा मासिक करिब रु १ लाख ५० हजार खर्च र कार्यालयको भाडा मासिक रु ५० हजार रहेको परिषद्ले जनाएको छ । आफूहरु सर्प पाल्नका लागि दुई वटा विकल्पमा जाने परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए ।भवन निर्माण गरी सर्प उत्पादन गर्ने र जङ्गलबाट सर्प ल्याएर क्वारेन्टिनमा राखेर विष निकाल्ने विकल्पबारे योजना बनाइएको उनको भनाई छ ।
“विभिन्न प्रजातिका सर्प ल्याएर यहीँं उत्पादन गर्ने योजना छ ।यसका लागि १ सय भन्दा बढी सर्प आवश्यक पर्छ ।”उनले भने “उच्च सुरक्षासहितको भवन बनाएर बाहिरकै तापक्रममा राखेर विष निकाल्न सकिन्छ।” बाहिरबाट ल्याइएका सर्पलाई केही दिन क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरे पश्चात् विष निकालेर पुनःप्राकृतिक अवस्थामा छाड्न सकिने उनको भनाइ छ ।“सर्प पालनका लागि धेरै प्राविधिक काम गर्नुपर्ने भएकाले चुनौती र अहिले नै नेपालमै एन्टिभेनम उत्पादन सम्भावना छैन ।”बरालले भने ।उनका अनुसार पहिलो चरणमा विष निकालेर भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराइ एएसभी बनाउने त्यसका लागि घोडा पाल्ने,सर्पबाट विष निकालेपछि निश्चित मात्रा घोडालाई दिइन्छ । विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट संङ्कलन गर्ने,रगतलाई प्रशोधन गरेर एएसभी बनाउनका लागि ल्याब निर्माण गर्नु पर्ने बरालको भनाइ छ भने दोस्रो चरणमा भेन प्रयोगशाला निर्माण गर्ने र घोडापालन गर्न सकिने छ । 
विज्ञकै परामर्शमा सर्पपाल्नका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गर्ने अध्यक्ष पन्तको भनाइ छ । उनका अनुसार सर्लाही,झापा,महोत्तरी,चितवन,नवलपरासी र बाँकेलगायतका जिल्ला वातावरणीय हिसाबले सर्पपालन उपयुक्त स्थान मानिन्छन् ।नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति नभएको र भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको विज्ञहरुको भनाई छ ।“भारतले आन्तरिक माग धान्न सकिरहेको छैन तर नेपाललाई सहयोग भने गर्ने प्रतिबद्धता जनाएको र प्रविधिमा भारतीय कम्पनीले सहयोग गर्ने र दोस्रो चरणमा कच्चापदार्थ पठाउने समझदारी भएको छ।” अध्यक्ष पन्तले बताए ।
भारतमा हैदराबादको भिन्स बायोप्रोडक्ट्स लिमिटेड,महाराष्ट्रको भारत सेरम्स एन्ड भ्याक्सिन्स लिमिटेड,मुम्बईको हाकिङन इन्स्टिच्युट,पुणेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेड, प्रिमियम सेरम एन्ड भ्याक्सिन्स प्राइभेट लिमिटेडलगायत दर्जनभन्दा बढी कम्पनीले एएसभी उत्पादन गर्दै आएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक रूपमा ५० हजारभन्दा बढी भाइल एएसभी आयात हुने गरेको छ । तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार ६ सय ६१ वटा घटना हुने गरेको युनिभर्सिटी अफ जेनेभा,बीपी प्रतिष्ठान,विश्व स्वास्थ्य संङ्गठनका ६ जना चिकित्सकले गरेको एक वर्ष लामो अध्ययनबाट पुष्टि भएको छ ।
ल्यान्सेट जर्नलमा प्रकाशित “स्नेकबाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपाल ः अ मिल्टक्लस्टर रेन्डम सर्भे”शीर्षकमा प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका करिब  ३७ हजार ६ सय ६१ घटना हुने गरेको उल्लेख गरेको छ । ती घटनामा करिब ३ हजार २ सय २५ जनाको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संङ्गठनले यसअघि नेपालमा बर्सेनि २० हजार वटा सर्पदंशका घटना हुने र तीमध्ये एक हजार जनाको ज्यान गएको उल्लेख गरेको थियो । तराईका २३ जिल्लाका २ सय ४९ गाउँका १३ हजार ८ सय ७९ वटा घरमा १ वर्ष लगाएर गरिएको सर्वेक्षणबाट यो तथ्य निकालिएको थियो । 
सर्पदंश घटनामध्ये ४८ दशमलव ८ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो ।तीमध्ये ७ दशमलव ८ प्रतिशत मानिसको ज्यान गएको अनुसन्धानमा उल्लेख छ ।अनुसन्धानले तराईका हरेक १ लाख मानिसमा २ सय ५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ । तीमध्ये २२ जनाको ज्यान जाने गरेको छ । सर्पदंशका कारण मृत्यु हुनेमा प्रायजसो महिला र बालबालिका रहेका छन् ।जसमा ६४ प्रतिशत महिला छन् ।पूर्वी नेपाल र मध्य नेपालमा मृत्युदर बढी पाइएको थियो ।यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसको अस्पताल पु¥याउनु अघि नै ज्यान जाने गरेको देखाएको थियो ।विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गर्छन् । तीमध्ये करिब १ लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।नेपालमा अहिले ८४ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब २१ प्रजाति विषालु छन् । विषालुमध्ये गोमन,करेत,रुसेल्स भाइपर,किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु सर्पहरु रहेका चिकित्सकहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech