नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादी केन्द्रले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताका छन्।माओवादी केन्द्रको भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादी केन्द्रले नै गर्ने दाबी गरे ।
“संघीय लोकतान्त्रिक गणतन्त्र,समावेशी,समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादी केन्द्र कै कारण स्थापित भएको ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न नसक्ने”दाबी गर्दै“महान् जनयुद्ध,ऐतिहासिक जनआन्दोलन,संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन,माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन,सामाजिक न्याय,आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादी केन्द्रले गरेको हो भन्ने तथ्य नै माओवादी केन्द्रको गौरवपूर्ण सम्पत्ति हो।” माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए ।
माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको समयमा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने समेत बताए।“मैले संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको समयमा मध्य पहाडी लोकमार्गको अवधारणा अघि सारें,जो निर्माण सम्पन्न हुने चरण छ,चुरेको काखबाट पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि गरिएको हो,जो निर्माण कार्य भइरहेको छ ।” माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए ।
“आफूले अघि बढाएको उत्तर दक्षिण कोरिडोर र डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी केन्द्र कै सरकारको विकास नीतिको परिणाम,हजारौं किसानहरुको ऋण मिनाह,शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना हो।”उनले भने,
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले “आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोड सेडिङको कालरात्रीबाट मुक्त गरेको,संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलताको बीचमा मधेशी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि माओवादी केन्द्रको सरकारको समयमा भएको स्पष्ट पारे ।”
आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन,सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नु पर्नेसम्मको अवस्था आएको,नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु माओवादी केन्द्र कै सरकार भएको समयमा कारवाहीमा परेका,सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान,लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य रहेको बताउँदै उनले आर्थिक समृद्धिको सवालमा लिएका महत्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशःसुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको समेत बताए ।
माओवादी केन्द्रले तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन,संयुक्त राष्ट्रसंघको महासभाहुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलक कदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरक रुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको,अल्पविकसित राष्ट्रहरुको पक्षमा लिएको अडान मात्र होइन,कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको समेत उनले बताए ।
पछिल्लो सरकारको नेतृत्व गर्दै शैक्षिक क्षेत्रमा त्रिविमा मेरिटोक्रेसी लागु गर्ने,वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीय शिक्षा ऐन सदनमा पुर्याउने काम आफ्नो पार्टी माओवादी केन्द्र कै नेतृत्वमा सरकार भएकाले समयमा गरिएको उनले स्पष्ट पारे ।
सडक र सदनबाट भ्रष्टाचार विरुद्ध महाअभियान थाल्ने
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताए ।शहरबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं,भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं,यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ।यसले नेपालमा मात्र होइन,विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ।भर्खरै श्रीलंकामा भ्रष्टाचार विरोधी एजेण्डा स्थापित गरेर बामपंथी राष्ट्रपति निर्वाचिन भएको घटना विद्यार्थीहरुलाई सुनाउँदै उनले यो अभियान नेपालमा पनि शसक्तरुपमा अघि बढ्ने बताए ।
सरकारमा रहँदा दलाल पूँजीपतिहरुको राइदाईमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने समेत बताए।उनले अहिले सरकार बनाउने हतारोमा नरहेको र अहिलेको अपवित्र गठबन्धनलाई तिमीहरु मिलेर बस भनेको बताउँदै प्रचण्डले उनीहरु आफैँ मिलेर बस्न नचाहेका समेत माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए ।
विरोधीहरुले सधै षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने भएकाले हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको भएपनि घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको नीति सफल भएको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए ।प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न माओवादी जनताको साथमा रहेर बाध्य हुने भएकाले त्यसका लागि तयार रहन विद्यार्थीहरु उनले अनुरोध समेत गरे ।
राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताए । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वब्यापीरुपमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरुलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गरे ।
बिदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने बामपंथीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उनले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताए ।
पार्टीभित्र विचार संश्लेषण र समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको स्वीकार गर्दै उनले अब धेरै विषय केन्द्रीय समिति बैठकले टुंग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने बताए ।माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताए ।
गुटबन्दीमा नलाग्न निर्देशन
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीहरुसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीहरुको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताए ।उजले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरुले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि उर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गरे।उनले विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी नगर्न विद्यार्थीहरुलाई निर्देशन समेत दिए ।