Close This

सुगन सहकारीद्धारा ऋणीहरुको ब्याजमा विशेष छुटको व्यावस्था

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-११ गते   ३८७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरुको ब्याजमा विशेष छुटको व्यावस्था गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनबाट मारमा परेका ऋणीहरुलाई केही राहत पुर्याउने भन्दै सहकारीले ऋणीहरुको ब्याजमा विशेष छुटको व्यावस्था गरेको हो ।
सहकारी संस्थाले लकडाउन अवधीको ब्याज हर्जना पूरै छुट गरेको छ भने नियमित ब्याज बुझाउने ऋणीलाई ब्याजको १२ प्रतिशतसम्म छुट गरेको छ । संस्थाले ‘लकडाउन अवधीमा संस्थाको ऋण लगानी, असुली र छुट सम्बन्धी कार्यविधि २०७७’ नै तयार पारेर ऋणीहरुलाई विभिन्न छुटको प्याकेज घोषणा गरिएको सगुन बचत तथा ऋण सहकारी संस्थाका समेत अध्यक्ष बाबुराम घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरेका अनुसार चैतदेखि असारसम्म ४ महिना नियमित किस्ता र ब्याज बुझाएका ऋणीलाई ब्याजको १२ प्रतिशत फिर्ता, नियमित ब्याजमात्र बुझाएकालाई १० प्रतिशत फिर्ता तथा चार महिनाको किस्ता र ब्याज असार मसान्तभित्र एकमुष्ट तिरेका ऋणीलाई ब्याजको ६ प्रतिशत फिर्ता गरिएको छ ।
असार मसान्तसम्म ६ हजार २२० महिला तथा ४ हजार ६८ पुरुष एवं २ सय ५७ अन्य गरी १० हजार ५ सय ४५ जना शेयर सदस्य रहेको सगुनले ८६ करोड ९२ लाख १२ हजार ५ सय ५३ रुपैंया ऋण लगानी गरेको छ । त्यस्तै ९९ करोड ७४ लाख ६ हजार ६ सय ९३ रुपैंया निक्षेप संकलन भएको अध्यक्ष घिमिरेले जानकारी दिनु भयो । ‘लकडाउनको मारमा परेका ऋणीलाई थोरै भएपनि राहत मिलोस् भनेर कार्यविधि नै बनायौं र ब्याज छुटको व्यवस्था मिलायौं’, अध्यक्ष घिमिरेले बताउनु भयो । ‘बचतकर्तालाई भने तोकिएको ब्याज नघटाई दिईने भएकाले ऋणको सम्पूर्ण ब्याज छुट गर्न नसक्ने अवस्था आएको उहाँका भनाई छ ।’
सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित प्याकेज घोषणा कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले सहकारीले छुटको व्यवस्था मिलाएर सह्रानीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । ‘लकडाउनको मारबाट अफ्ठ्यारो परिस्थितीमा रहेका ऋणीहरुका लागि छुटको व्यवस्था मिलाएर सहकारी संस्थाले अभिभावकत्वको भूमिका निर्वाह गरेको नगर प्रमुख प्रसाईंले बताउनु भयो । ‘सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई अप्mठ्यारो परिस्थितीमा यसरी नै अभिभाकत्व ग्रहण गरेमा अपनत्वबोध पनि बढ्ने उहाँको भनाई छ ।’

मुलुकको समृद्धिका लागि अबका दिनमा समग्र समाज नै सहकारी मार्फत एकजुट हुनु जरुरी रहेको उल्लेख गर्दै नगर प्रमुख प्रसाईंले सहकारीको माध्यमबाट विश्वमा धेरै मुलुकले कायापलट गरेको सम्झना गराउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech