Close This

एन्टी स्नेक भेनम उत्पादनका लागि ७२ करोड

रासस    प्रकाशित: २०७७-५-१६ गते   ४२३ पटक हेरिएको

जिल्लाको लालबन्दी नगरपालिका ६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ विघा जमिनमा सर्प पाल्ने भएको छ । एन्टी स्नेक भेनम उत्पादन तथा अनुसनधान परियोजना को नाममा स्थापना भएको प्रतिष्ठानले सर्पको विष उत्पादन गर्न ७२ करोड अनुदान पाउने भएको छ ।
तराईका क्षेत्रमा विषालु सर्पका कारण वर्षेनि धेरै मानिसको ज्यान जाने गरेको घटनालार्ई मनन् गर्दै  सर्प पालने र भेनम उत्पादन गर्ने उद्देश्य अनुरुप स्थापना भएको प्रतिष्ठानले सर्प पालेर भेनम सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना रहेको छ ।
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो ।
नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा समेत खरीद गरि सकेको र त्याहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले बताउनु भयो ।
“सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको छ । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी रहेको छ ।” अध्यक्ष पन्तले बताउनु भयो । उहाँका अनुसार असोज अन्तिमसम्ममा सक्ने गरी भवन निर्माण काम ठेक्का लागि सकेको  छ ।
दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने र सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाउने योजना रहेको अध्यक्ष पन्तले बताउनु भयो ।
नेपालले अहिलेसम्म ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको अवस्थालाई ध्यानमा राखेर आफुहरुले तादरुकताका साथ काम सुरु गरेको प्रतिष्ठानले जनाएको छ ।
२०७० सालमा सर्लाहीमा चुनाव लड्न आएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको चुनाव प्रचार प्रसारको क्रममा १ जनालाई  विषालु सर्पले टोकेर उपचार नपाई मृत्यु भए पछि नेता खनालले नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ उत्पादन गरि सर्पको टोकाईबाट मानिसहरुको ज्यान जानबाट बचाउने प्रतिवद्धता जनाउनु भएको थियो । सोही अनुसार २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को गठन गरिएको थियो । प्रतिष्ठानको अध्यक्षको जिम्मा नेकपा सर्लाहीका अध्यक्ष पन्तलाई दिईएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech