छिमेकी देश भारतमा कोरोना संक्रमणको दर घटेपनि सर्लाहीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको छ । जिल्ला अस्पताल सर्लाहीमा गरिएको पिसिआर परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला अस्पताल सर्लाहीले बिहीबार संकलन गरेको स्वाब परिक्षणको पिसिआर गर्दा १ सय ८८ जना मध्य १ सय ३३ जनामा कोरोना संक्रमण पाइएको अस्पतालका जनस्वस्थ्य निरीक्षक श्रीप्रसाद साहले जानकारी दिनु भयो ।
बुधबार हरिवन र बागमती नगरपालिकाबाट संकलन गरेर जिल्ला अस्पताल ल्याइएको र अस्पतालमै पुगेर स्वाब दिएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्दा १ सय ८८ मध्य १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको साहले बताउनु भयो ।
संक्रमितहरुको संख्यामा लगातार वृद्धि भइरहेको अवस्थालाई मध्य नजर गर्दै जारी निषेधाज्ञालाई सर्लाही प्रशासनले जेठ १० गते सम्म लम्याएको छ । भने थप गरिएको निषेधाज्ञालाई थप कडाईका साथ पालना गर्न आग्रह गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो । जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५४ जाना पुगेको छ भने कोरोना संक्रमणका कारण मर्नेको संख्या ११ जना पुगेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।