“सञ्चारको सइ”बनेर पीडित सहकर्मीलाई गाली गर्ने हवल्दार महत्तोमाथि निलम्बन प्रक्रिया सुरु

67 Shares

जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत एक प्रहरी हबल्दारले आफूलाई “सञ्चारको सइ”बताउँदै छोरालाई खोजिदिन आग्रह गरेका सहकर्मीलाई गालीगलौज गर्ने प्रहरी हवल्दार बुधन महतोमाथि निलम्बन प्रक्रिया अघि बढाइएको पाइएको छ।घटनाको अडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएपछि रौतहट प्रहरीले हबल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएलगत्तै रौतहट प्रहरीले महतो र पीडित हवल्दार सुरेश प्रसाद यादव दुवैलाई जनकपुर पठाएको जनाएको छ।
दुवैबीच के भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए।“सार्वजनिक अडियोमा गल्ती दुवैको देखिएको छ,हवल्दार महतोले आफूलाई सइ बताएर आफ्ना सहकर्मीमाथि गरेको गालीगलौजका कारण अनुसन्धान हुन्छ।भने हबल्दार यादवले पनि सामाजिक सञ्जालमा अडियो सार्वजनिक गरेका कारण उनलाई पनि कार्बाही हुन्छ।”जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक रिजालले बताए ।
नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया इलाका प्रहरी कार्यालय (सुरक्षा बेस) मा खटिएका हवल्दार यादवका १७ वर्षीय छोरा चन्दन कुमार यादव दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट बेपत्ता भएका थिए।एसईई सकेर अध्ययनका लागि संघीय राजधानीमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका बेला अचानक हराएपछि आफ्ना छोराको खोजी र उद्धारका लागि जानकारी गराउन यादवले शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए।त्यहाँबाट सञ्चार शाखामा टिपाउन भनिएपछि उनले सञ्चार शाखामा फोन गरेका थिए।
सार्वजनिक अडियोमा हबल्दार यादवले फोनमा “को बोल्नुभयो सर,हवल्दार साहेब कि असइ साहेब”भनी परिचय सोधेको सुनिन्छ।तर,हबल्दार महतोले आफूलाई सइ बताउँदै “जय नेपाल”नगरेको र बोल्ने शैली नमिलेको भन्दै हबल्दार यादवलाई झपारेका थिए।हबल्दार महतोले आफ्नो दर्जा बताउन नमिल्ने जवाफ दिँदै अपमानजनक गालीगलौज गरेको अडियोमा सुन्न सकिन्छ। छोरा बेपत्ता भएको घटनाको जानकारी गराउन फोन गरेका व्यक्तिमाथि प्रहरीबाटै दुव्र्यवहार भएको आरोप सार्वजनिक भएपछि रौतहट प्रहरी सहित सिङ्गो नेपाल प्रहरी संगठनको आलोचना भएको छ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)प्रभु प्रसाद ढकालले विज्ञप्ति जारी गर्दै शुक्रबार सञ्चार शाखा र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारी बीचको संवादमा सुनिएको भाषा,शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार