सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटमा जारी आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो स्थान लालबन्दी नगरपालिका १६ ले अस्वीकार गरेको छ।रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदै तेस्रो स्थानको प्रतिस्पर्धामा अनुपस्थित जनाएपछि लालबन्दी नगरपालिका ३ जब्दीलाई तेस्रो भएको घोषणा गरिएको छ ।
बुधबार भएको सेमिफाइनल खेलमा रेफ्रीले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै लालबन्दी नगरपालिका १६ ले बिहीबार तेस्रो स्थानको प्रतिस्पर्धाका लागि आयोजित खेलमा सहभागी नै नजनाएपछि आयोजक लालबन्दी नगरपालिका ३ लाई तेस्रो भएको घोषणा गरिएको आयोजकले जनाएको छ ।
बुधबार भएको सेमिफाइनल खेलमा रेफ्रीले भेदभावपूर्ण खेल खेलाएपछि लालबन्दी नगरपालिका १३ संग लालबन्दी नगरपालिका १६ टाइबे्रकरमा ४–२ ले पराजित भएको थियो ।निर्धारित समयको खेलमा लालबन्दी नगरपालिका १६ ले गरेको गोललाई रेफ्रीले अफसाइड दिएपछि लालबन्दी नगरपालिका १६ ले असन्तुष्ट भएको हो।उक्त गोललाई मान्यता दिनुपर्ने लालबन्दी नगरपालिका १६ को अडानपछि बुधबार नै सेमिफाइनल खेल केही समय रोकिएको आयोजकले जनाएको छ ।
तर पछि आयोजकले सम्झाइ बुझाइ गरेपछि खेलाडी बाँकी खेल खेल्न मन्जुर भए र दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा गएको थियो।जसमा लालबन्दी नगरपालिका १६ आयोजकसँग ४–२ ले पराजीत भएको थियो ।रेफ्रीको निर्णयप्रति चित्त दुखाएर आफ्नो वडाका खेलाडी तेस्रो स्थानका लागि आयोजित खेलमा सहभागी नभएको लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापाले बताए ।उनले खेलमा हार्ने,जित्ने भन्दा पनि पारदर्शी ढंगले नखेलाइँदा खेलाडीहरुको चित्त दुखेको बताए।
यसअघि तीन पटक वडाध्यक्षकपको उपाधि जिति सकेको लालबन्दी नगरपालिका १६ बिहीबारको खेलमा सहभागीता नजनाएपछि आयोजकले लालबन्दी नगरपालिका ३ लाई तेस्रो भएको घोषणा गरिएको हो ।बिहीबार भएको सेमिफाइनल खेलमा लालबन्दी नगरपालिका ३ लालबन्दी नगरपालिका ११ हिरापुरसँग पराजित भएको थियो।प्रतियोगिताको उपाधिका लागि शनिबार लालबन्दी नगरपालिका ११ र आयोजक लालबन्दी नगरपालिका १३ खेल्ने छन् ।
आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको बिजेताले रु एक लाख ११ हजार एक सय ११,उपबिजेताले रु ५५ हजार पाँच सय ५५ प्राप्त गर्ने लालबन्दी नगरपालिका १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए।उनका अनुसार तेस्रो घोषणा भएको लालबन्दी नगरपालिका ३ ले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्ने छ ।