पारामेडिक्सले एन्टीबायोटिक औषधी प्रेस्क्राइब गर्दा सरोकारवाला निकाय मौन किन ?

43 Shares

ग्रामीण बस्तीदेखि सहरी क्षेत्रका क्लिनिक र फार्मेसीहरूसम्म पारामेडिक्सले जथाभाबी एन्टीबायोटिक औषधी प्रेस्क्राइब गर्ने प्रवृत्ति भयावह बन्दै गएको पाइएको छ।सामान्य रुघाखोकी,ज्वरो वा सामान्य घाउचोटमा समेत प्रयोगशाला परीक्षण र स्पष्ट निदान बिना कडा एन्टीबायोटिक चलाउने अभ्यास मौलाइरहँदा राज्यका निकायहरू निकायहरु कानमा तेल हालेर बसेको स्थानीय जानकारहरुको आरोप छ ।
कानुनी र नीतिगत रूपमा हेर्दा औषधी ऐन, २०३५ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ ले प्रेस्क्रिप्सनमा आधारित औषधीको प्रयोग र विक्री वितरणलाई व्यवस्थित र नियन्त्रित गर्न स्पष्ट मार्ग निर्देशन गरेका भएपनि नियामक निकायको मौनताका कारण नागरिकको स्वास्थ्य माथि खुलेआम खेलवाड भई रहेको फेला परेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका भित्र विभिन्न समयमा संकलन गरिएको तथ्यांक अनुसार ६९ वटा निजी स्वास्थ्य संस्थाहरु रहेका छन्।लालबन्दी नगरपालिकाको बजार क्षेत्र रहेका स्थानका यी निजी स्वास्थ्य संस्थाहरु मध्य अधिकांशको राज्यले तोकेका मापदण्ड पुगेको छैन्।त्यसमा पनि सिएमए तथा एचएहरुले एन्टिमाइक्रोबियल औषधी चलाउने तथा ल्याव र एक्स–रे,भिडिया एक्स–रे गर्ने तथा भ्रुण हत्या गराउने काम समेत गर्ने गरेका पाइएको भएपनि नियामक निकाय मौन देखिएको छ ।
त्यस्तै, एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण सम्बन्धी राष्ट्रिय कार्ययोजना (२०२४–२०२८) ले एन्टीबायोटिकको विवेकपूर्ण प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ।तर,कागजमा लेखिएका नीति र ऐनहरू व्यवहारमा लागू गराउने सवालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,औषधी व्यवस्था विभाग,नेपाल मेडिकल काउन्सिल,नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्थानीय तहहरूबीच चरम समन्वयहीनता र लापरबाही देखिएको जानकारहरुको आरोप छ।
विशेषगरी स्थानीय स्वास्थ्य संस्था,निजी क्लिनिक तथा फार्मेसीहरू समेत पारामेडिक्सहरूले नै सञ्चालन गर्ने गरेका समेत पाइएको छ।आफ्नो शैक्षिक योग्यता,तालिमको दायरा र कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गएर उच्च श्रेणीका एन्टीबायोटिक समेत पारामेडिक्सहरूले  सिफारिस गर्ने गरेको गुनासो व्यापक छ।कतिपय स्थानमा बिरामीको दबाब,छिटो निको हुने अन्धविश्वास र औषधी विक्रीको व्यावसायिक स्वार्थ हाबी हुँदा एन्टीबायोटिकको दुरुपयोग चरम सीमामा पुगेको छ।यसको प्रत्यक्ष परिणामस्वरूप सर्वसाधारणमा एन्टिमाइक्रोबियल प्रतिरोध  बढ्दै गएको छ।जसले भविष्यमा सामान्य संक्रमणको उपचार समेत असम्भव र महँगो बनाउने जोखिम निम्त्याएको छ।
नीतिगत अस्पष्टताका साथै अनुगमनको अभाव,जनशक्ति कमजोरी र राजनीतिक तथा व्यावसायिक दबाबका कारण नियामक निकायहरु मौन देखिएका छन् ।औषधी व्यवस्था विभागको सीमित अनुगमन टोलीले देशभरका हजारौँ क्लिनिक र फार्मेसीको प्रभावकारी नियमन गर्न नसक्दा अराजकताले प्रश्रय पाएको छ।अर्कोतर्फ,स्थानीय तहहरूले स्वास्थ्य संस्था र निजी क्लिनिकहरूको दर्ता,नवीकरण तथा मापदण्ड पालनाको कडा अनुगमन नगर्दा अनियमितता झन् संस्थागत हुँदै गएको छ।
औषधी ऐन,२०३५ मा के छ व्यवस्था
कुनै पनि औषधी बिक्री वितरण गर्नुअघि औषधी व्यवस्था विभागमा दर्ता गरी प्रमाण–पत्र लिनुपर्ने व्यवस्था छ।जनसुरक्षित,असरयुक्त र गुणयुक्त नभएका औषधी बजारमा आएमा फिर्ता लिन वा रोक्का गर्न सकिने प्रावधान छ।तोकिएका औषधीहरू अधिकार प्राप्त चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ।त्यस्ता औषधी फर्मासिस्ट,फार्मेसी सहायक वा मान्यता प्राप्त व्यवसायी आफैँले वा निजको उपस्थितिमा मात्र बिक्री वितरण गर्नुपर्ने नियम छ।
कसैले पनि औषधीको अनुचित प्रयोग वा दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था छ।नियमविपरीत बिक्री वितरण गरे गराएमा त्यसलाई औषधीको अनुचित प्रयोग वा दुरुपयोग मानिने प्रावधान छ।औषधीमा मिसावट गर्न,अरू थोकलाई औषधी भनी बेच्न तथा म्याद नाघेको औषधी बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।तोकिएका लागू तथा विषालु औषधी सुरक्षित राख्नुपर्ने, बिक्री वितरणको अभिलेख राख्नुपर्ने र चिकित्सकको प्रेस्क्रिप्सन संलग्न गरी राख्नुपर्ने व्यवस्था छ।ऐन विपरीत कार्य भएमा निरीक्षकले औषधी सिलबन्दी वा रोक्का गर्न सक्ने तथा व्यवस्थापकले औषधी जफत गर्ने,अनुज्ञा–पत्र वा प्रमाण–पत्र निलम्बन गर्ने र कसुर अनुसार कैद तथा जरिवाना गर्न सक्ने व्यवस्था छ।
जनस्वास्थ्य सेवा ऐन,२०७५ मा के छ व्यवस्था
प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको दायित्व तोकिएको छ। साथै,प्रत्येक स्वास्थ्य संस्थाले योग्य सेवा प्रदायक बाट मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ।प्रत्येक स्वास्थ्य संस्था तथा सेवा प्रदायकले औषधीको समुचित प्रयोग तथा प्रवर्धन गर्ने गरी स्तरीय उपचार पद्धति को पालना गर्नुपर्ने व्यवस्था छ।चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधी सिफारिस गर्दा जेनेरिक नाम(औषधीको वास्तविक नाम)लेख्नुपर्ने तथा औषधी बिक्रेताले गुणस्तर कायम रहने गरी भण्डारण र बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने प्रावधान छ।
 निजी,गैर–सरकारी वा सहकारी स्वास्थ्य संस्थाले तोकिए बमोजिम इजाजत–पत्र लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने र मन्त्रालयले तोकेका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ।स्वास्थ्य संस्था तथा सेवा प्रदायकले मापदण्ड अनुसार गुणस्तर कायम गरे नगरेको विषयमा नियमन, निरीक्षण, अनुगमन तथा मूल्यांकन गर्न सकिने र जनस्वास्थ्यमा असर पर्ने देखिएमा सञ्चालन स्वीकृति वा अनुमतिमा आवश्यक कारबाही गर्न सकिने व्यवस्था छ।

सम्बन्धित समाचार