सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले आफ्ना आसेपासे र नाता तथा जातिवादलाई गाउँपालिकामा भर्ना गराएर आफ्नो नीजि कम्पनीको आभास दिलाएका रहस्य सार्वजनिक भएको छ ।गाउँपालिकामा कार्यतर करारका कर्मचारी राकेश गुप्ताका अनुसार गाउँपालिका अध्यक्ष महत्तोले नातावाद,कृपावाद तथा जातीयवादका आधारमा गाउँपालिकामा कर्मचारी भर्ना गराएका हुन ।गाउँपालिका अध्यक्ष महतोले आफन्त र नजिकका जातीय समूहका व्यक्तिलाई विभिन्न पदमा नियुक्त गर्दै पालिकालाई “आफन्त भर्ती केन्द्र”बनाएका गुप्ताले बताए ।
ती कर्मचारीले हामीलाई उपलब्ध गराएको विवरण अनुसार अध्यक्ष महतोले आफ्नै फुफुको छोरा देन कुमार महतोलाई गाउँपालिकाको शिक्षा शाखामा प्राविधिक सहायक (पाँचौँ तह) मा करारमा नियुक्त गरेका छन्।त्यति मात्र नभई देन कुमारकै श्रीमती सजन महतोलाई चन्द्रनगर गाउँपालिका ४ स्थित शंकर सिंह चन्द्रावती सार्वजनिक प्राथमिक विद्यालय,गरहाटोलमा बाल विकास कोटामा शिक्षिकाको रूपमा नियुक्त गरेका छन् ।
स्रोतका अनुसार सजनसँग आवश्यक लाइसेन्स नहुँदा बाल विकास कोटामार्फत नियुक्ति गरिएको छ।देन कुमार केही वर्षदेखि शिक्षा शाखामा कार्यरत रहँदा उनकी श्रीमती सजन हाल केही महिनादेखि विद्यालयमा कार्यरत रहेकी छिन्।यसैबीच,प्राविधिक सहायक देन कुमारमाथि शिक्षक भर्ना प्रक्रियामा आर्थिक चलखेल गरेको ती कर्मचारीले आरोप लगाएका छन्।जिरो दरबन्दीका विद्यालयमा स्वयंसेवक शिक्षक भर्ना गर्ने क्रममा प्रति शिक्षक रु दुई लाख १० हजार घुस मागि गरिएको गुप्ताले बताए ।प्रस्ताव अस्वीकार गरेपछि लिखित परीक्षा पास गरे पनि मौखिक परीक्षामा असफल गराइएको उनको आरोप छ।
साथै,दिवा खाजाका लागि समेत रु २० हजार माग गरिएको चन्द्रनगर गाउँपालिका ६ का स्थानीय सुवोध कर्णले बताए।गाउँपालिका अध्यक्ष महतोका आफ्नै दाईका छोरा अशोक महतो समेत चन्द्रनगर गाउँपालिका ४ स्थित पोखरिया स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत रहेका छन्।यसका साथै,अध्यक्षका मामाका छोरा मेघनाथ महतोलाई कम्प्युटर अपरेटर र उनका भतिजा कृष्ण कुमार महतो कुशवाहालाई कार्यालय सहयोगीको रूपमा नियुक्त गरेका गाउँपालिकामा करारमा कार्यरत कर्मचारी गुप्ताले बताए ।
त्यसैगरी,गाउँकै अर्का आफन्त शम्भु शरण कुशवाहालाई सञ्चालनमै नआएको अस्पतालमा डेन्टिस्ट पदमा नियुक्त गरिएको,नातामा आफ्ना ज्वाइँ पर्ने संजय महतोलाई सामी परियोजना अन्तर्गत पाँचौँ तहमा तथा मित पर्ने राजकुमार महतोलाई बहुक्षेत्रीय पोषण योजनामा सहजकर्ताको रूपमा नियुक्त गरिएको ती कर्मचारीले बताए ।सो सम्बधमा गाउँपालिका अध्यक्ष महतोलाई फोन गर्दा सम्पर्क हुन सकेन् ।