मधेश प्रदेश प्रहरी कार्तिक महिनामा देशभर उत्कृष्ट

43 Shares

नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा कार्तिक महिनाका लागि देशभरका सात वटै प्रदेश प्रहरी कार्यालय मध्ये मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले पहिलो स्थान हासिल गरेको छ।निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै आएको मधेश प्रदेश प्रहरीले कार्तिक महिनामा पहिलो स्थान सुरक्षित गरेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारीको नेतृत्वमा रहेको मधेश प्रहरीको नेतृत्व,कार्यशैली र संगठन सञ्चालनको प्रभावकारिताबारे प्रहरी संगठनभित्र सकारात्मक चर्चा सुरु भएको छ।
असोज महिनामा दोस्रो स्थान र कार्तिक महिनासम्म उत्कृष्ट स्थान कायम राख्न सफल हुनुले मधेश प्रदेश प्रहरीको उपलब्धि आकस्मिक नभई योजनाबद्ध कार्यशैली,प्रभावकारी नेतृत्व,स्पष्ट रणनीति,नियमित अनुगमन,व्यावसायिक अनुशासन र परिणाममुखी कार्यसम्पादनको प्रतिफल भएको पुर्व प्रहरी अधिकारीहरु बताउँछन् ।उनीहरुका अनुसार संवेदनशील सुरक्षा चुनौती बोकेको मधेश प्रदेशमा सीमित स्रोतसाधनका बाबजुद प्रहरी सेवालाई प्रभावकारी,व्यवस्थित र नागरिकमुखी बनाउने प्रयासले कार्तिक महिनामा देश भरकै सातै प्रदेश प्रहरी कार्यालयहरु मध्य मधेश प्रदेश प्रहरी पहिलो भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण,अनुसन्धानको प्रभावकारिता,शान्ति–सुरक्षा व्यवस्थापन,सेवा प्रवाह,प्रशासनिक अनुशासन,मानवअधिकारको पालना,नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ,राजस्व असुली,सीमा सुरक्षा,प्रहरी कर्मचारीका गुनासा व्यवस्थापन तथा समग्र संगठनात्मक कार्यसम्पादनका विभिन्न सूचकका आधारमा मासिक मूल्यांकन गर्दै आएको छ। यिनै सूचकमा प्राप्त नतिजाका आधारमा मधेश प्रदेश प्रहरीले कार्तिक महिनामा देशभर पहिलो स्थान हासिल गरेको हो।प्रदेश प्रहरी कार्यालयले अवलम्बन गरेको नेतृत्व शैली,कार्ययोजना कार्यान्वयन,मातहतका प्रहरी इकाइको परिचालन र जिम्मेवारी प्रतिको जवाफदेहितालाई समेत प्रतिबिम्बित गर्ने जानकारहरु बताउँछन् ।
नेपाल प्रहरीभित्र अध्ययनशील,व्यावसायिक,इमानदार र दूरदर्शी अधिकृतका रूपमा परिचित डीआईजी अधिकारीले नेतृत्व सम्हालेपछि मधेश प्रदेश प्रहरीलाई आधुनिक,प्रविधिमैत्री,पारदर्शी र उत्तरदायी संगठनका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न सुधारात्मक प्रयासलाई प्राथमिकता दिँदै आएका छन्।

सम्बन्धित समाचार