सर्लाहीमा वृद्ध दम्पतीमाथि इँटा प्रहार गर्ने युवक यादव पक्राउ

103 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरका बृद्ध दम्पतीलाई इँटा प्रहार गरी फरार रहेका एक युवक पक्राउ परेका छन्।हरिपुर्वा नगरपालिका–९ बसन्तपुरका बृद्ध दम्पतीलाई इँटा प्रहार गरी फरार रहेका सोही ठाउँका अन्दाजी १९ वर्षीय शंकर कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
हरिपुर्वा नगरपालिका–९,बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका अन्दाजी ७४ वर्षीय वासुदेव साह तेली र उनकी ७३ वर्षीया श्रीमती जिवछी देवीलाई कार्तिक २८ गते बिहान घरभित्रै गम्भीर घाइते अवस्थामा फेला परेपछि अनुसन्धान सुरु गरेको सर्लाही प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्तिक २८ गते बिहान ढिलासम्म पनि वृद्ध दम्पती नउठेपछि जेठा छोराले घरमा आई ढोका खोलेर हेर्दा दुवै जनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम,धनुषा पठाएको थियो।उपचारकै क्रममा मंसिर ३ गते अस्पतालले साहलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा आरोपित यादव कार्तिक २७ गते राति करिब १० बजे घरभित्र प्रवेश गरी दम्पती सुतिरहेको अवस्थामा थाहै नदिई इँटाको टुक्राले टाउको र अनुहारमा अन्धाधुन्ध प्रहार गरी फरार भएका प्रहरीको अनुसन्धानबाट खुलेको छ।प्रहरीले यादवलाई कार्तिक २८ गते नै आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागुऔषध गाँजा सेवनकर्ता रहेको र मृतक तथा उनीबीच लागुऔषध गाँजा किनबेचको क्रममा विवाद उत्पन्न भई सोही विषयलाई लिएर रिसइबी साँधी कुटपिट भएको खुल्न आएको प्रहरीले जनाएको छ ।सुरुमा ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेकोमा घाइते वृद्धको मृत्यु भएपछि हाल यादवविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यान सम्बन्धी कसुर मुद्दामा इलाका प्रहरी कार्यालय केशरगंजबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार