दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुलीका आठ वटा स्थानीय तहहरुले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न थालेका छन् ।देश संघीय संरचनामा गएको करिब एक दशक हुँदै गर्दा कमलामाई सहित दुधौली नगरपालिका,गोलन्जोर,मरिण,फिक्कल,सुनकोसी,हरिहरपुरगढी र तीनपाटन गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गरि रहेका छन्।पुरानो आफ्नै प्रशासनिक भवन रहेको कमलामाई नगरपालिका र हाल सम्मपनि आफ्नै प्रशासनिक भवन नरहेको घ्याङलेख गाउँपालिका पनि सिन्धुली कै स्थानीय तहहरुमा पर्छन् ।

गोलन्जोर गाउँपालिकाले हालै नवनिर्मित सुविधा सम्पन्न प्रमुख प्रशासनिक भवनबाट एकीकृत सेवा प्रवाह सुरु गरेको पछि सिन्धुलीमा अब एउटा मात्र घ्याङलेख गाउँपालिका आफ्नो प्रशासनिक भवन नरहेको स्थानीय तह हो ।करिब एक दशकदेखि मासिक रु ४५ हजार भाडा तिरेर तीन छुट्टाछुट्टै भवनबाट सेवा प्रवाह गर्दै आएको गोलन्जोर गाउँपालिकाले अब सबै शाखालाई एउटै भवनमा केन्द्रित गरेको गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाल न्यौपाने(पुकार)ले जानकारी दिए।उनका अनुसार कृषि, स्वास्थ्य लगायतका शाखा फरक–फरक स्थानमा हुँदा सेवाग्राहीलाई विभिन्न ठाउँ धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।

सबै शाखा एउटै भवनमा आएपछि सेवाग्राहीले एकै स्थानबाट आवश्यक सेवा पाउने र झण्झटपनि हटेका गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए।उनका अनुसार आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन भएपछि सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाइने छ ।”चार तले तथा ३८ कोठे भवन निर्माणका लागि पाइनस कन्स्ट्रक्सन प्रा.लि,बानेश्वरसँग २०८० भदौ १२ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।निर्माणमा केही ढिलाइ हुनुको मुख्य कारण संघीय सरकारबाट प्राप्त हुनुपर्ने बजेट समयमै नआउनु रहेको अध्यक्ष बरालले बताए ।

भवनको कुल लागत मूल्य अभिवृद्धि कर बाहेक रु छ करोड ११ लाख ११ हजार छ । त्यसमध्ये ६० प्रतिशत नेपाल सरकारको स्थानीय पूर्वाधार कार्यालय र बाँकी ४० प्रतिशत गाउँपालिकाले व्यहोरेका हुन्।नयाँ भवन सञ्चालनमा आएपछि तीनवटा भवनको मासिक भाडाबापत हुने खर्चसमेत जोगिएको गाउँपालिकाले जनाएको छ ।
यता,घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासनिक भवन भने निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बताए।उनका अनुसार झ्याल–ढोका जडान, रङ रोगन तथा टायल–मार्बल बिछ्याउने काम भइरहेको छ।आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

२०७९ भदौ ३१ गते पीपी ईश्वरी संयुक्त उपक्रम,मन्थली,रामेछापसँग १८ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको भवनको निर्माण प्रगति ९० प्रतिशतभन्दा बढी छ।निर्धारित अवधि सकिएपछि तीनपटक छ–छ महिनाका दरले म्याद थपिएको गाउँपालिकाले जनाएको छ ।रु.पाँच करोड ६३ लाख २६ हजार ९५ लागतको भवन निर्माणमा संघीय सरकारले रु.तीन करोड ३७ लाख ९५ हजार छ सय ५७ र गाउँपालिकाले रु.दुई करोड २५ लाख ३० हजार चार सय ३८ व्यहोरेको गाउँपालिकाले जनाएको छ ।

भवन निर्माण पूरा नहुँदासम्म प्रशासनिक शाखा घ्याङ्लेख गाउँपालिका–२ को भवनबाट र विषयगत शाखाहरू करिब तीन किलोमिटर टाढा डुम्रेस्थित भवनबाट सञ्चालन भइरहेका छन् । दुई स्थानबाट सेवा सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ भइरहेको कर्मचारीको गुनासो छ ।
फिक्कल गाउँपालिकाले पनि गत माघदेखि आफ्नै ३३ कोठे नयाँ प्रशासनिक भवनबाट सेवा दिँदै आएको छ।सबै शाखा एउटै भवनमा सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको गाउँपालिका अध्यक्ष पावर्ती सुनुवारले बताईन् ।संघीय सरकारको करिब सात करोड सहयोगमा धुलिखेल निर्माण सेवाले उक्त भवन निर्माण गरेको हो ।