सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने मुख्य चार वटा सडकको स्तरोन्नति गर्ने विषयमा सम्झौता भएको छ।हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने केरावारी–रानीचुरी–रागेदोभान,हरिवन–क्यानेश्वर,तित्रीगाछी–धुम्बे–भुताहा–बरुण र अत्रौली–केवनचुली–भुताहा–बरुण गरी चारवटा सडक स्तरोन्नतिका लागि दुवै पालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रकित कार्कीले जानकारी दिए ।
उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अधिकांश गाउँका स्थानीयको व्यापारिक केन्द्र हरिवन बजार आउन जान सहज होस भनने उद्धेश्य सहित चारवटा सडकको स्तरोउन्नति गर्ने विषयमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा विच सम्झौता भएको हो ।सिन्धुलीको मरिण रहरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानका स्थानीय व्यापारीक कामका लागि हरिवन बजार आउने भएपनि व्यवस्थित सडक नहुँदा भौगोलिकरुपमा नजिक भएका सिन्धुलीका दुई पालिकाका नागरिकहरुले सर्लाहीको हरिवनसम्म आउजाउ गर्न सास्ती व्यहोर्दै आएका कारण दुवै पालिका मिलेर सडकको स्तरोउन्नति गर्ने विषयमा सम्झौता गरिएको हरिवन नगरपालिकाका नग प्रमुख बुढाथोकीले बताए ।
उनका अनुसार हरिवनबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर हुँदै मरिण जोड्ने सडक स्तरोन्नति गर्ने विषयमा केही समय अघि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका अर्थ मन्त्री सुनील कुमार यादवबीच समेत छलफल भएको थियो।हरिहरपुरगढीकोे क्यानेश्वरदेखि हरिवनसम्म १३ किलोमिटर र मरिणदेखि क्यानेश्वरसम्म २२ किलोमिटर गरी मरिणबाट हरिवनसम्म करिब ३५ किलोमिटर सडक दूरीको रहेको र दुवै पालिकाले आ–आफ्नो सिमानासम्म सडक स्तरोन्नति गर्ने सहमति भएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाइबाले बताए ।
उनले हरिहरपुरगढी गाउँपालिकाका केही गाउँका स्थानीयलाई भौगोलिक हिसाबले सर्लाहीको हरिवन नजिक पर्ने र व्यापारीक तथा उपचार र अन्य कामका लागि हरिवन जानुपर्ने भएपनि व्यवस्थित सडक नहुँदा समस्या परेको अवस्थालाई मध्य नजर गर्दै दुवै पालिका मिलेर आ–आफ्नो सिमानासम्म सडक स्तरोन्नति गर्ने सहमति भएको बताए ।सम्झौता गर्ने क्रममा हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीको साथमा प्रमुख प्रशासकीय अधिकृत कार्कीका साथै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाको साथमा गाउँपालिकाको योजना शाखाका प्रमुख राजु कुमार उप्रेतीको समेत उपस्थिति रहेको थियो ।