सर्लाहीको इन्दु शंकर चिनी उद्योग हरिवनले उखु उत्पादक किसानका लागि नयाँ प्रजातिको उखु आधुनिक तरिकाबाट खेती गर्न रउखु उत्पादन बढाउन अनुरोध गरेको छ।हरिवन नगरपालिका ८ स्थित रहेको उद्योगले उखु उत्पादक किसानहरुको हितलाई ध्यानमा राखेर उन्नत उखु खेती, कृषि उपकरणको प्रयोग,बढी उत्पादन हुने उखुको विउ,मल र विषादीहरुको उचित प्रयोग गर्न आग्रह गरेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए ।उनका अनुसार उद्योगले उखु उत्पादक किसानहरुलाई उत्कृष्ट उखु उत्पादन भएको क्षेत्रको हरेक वर्ष स्थलगत अवलोकन गराउन र उखु उत्पादनमा बृद्धि गर्न के कसरी उखु खेती गर्ने लगायतका तरिकाहरु सिकाउँदै आएको छ ।
उखु उत्पादक किसानहरुलाई समयमै भुक्तानी गरेर उखु किसानहरुको आशा र विश्वास जितेको इन्दुशंकरले उखुको उत्पादन बृद्धि भएमा मात्र उखु किसानहरुको आम्दानी वृद्धि हुने र चिनी उद्योगको पनि भविष्य सुनिश्चित हुने भएकोले सुख्खा जमीन वा अपलैण्डको लागि सुपर सेभेन भेराईटी अर्थात उन्नत जातका सात वटा उखुका बिऊहरु लगाउन आग्रह गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले बताए।उनले सि.ओ. १५०२३,कल्क १४२०१,कस १३२३५,सि.ओ.०११८ र लो लैण्ड वा पानी जम्ने जमिनको लागि कोप ९३०१,कल्क ९४१८४ र यूपी ०५१२५ जातको उखु खेती गर्न उखु उत्पादक किसानहरुसंग आग्रह गरे ।उनका अनुसार कमसल जातको उखु खेतीबाट उखु किसान र उद्योग दुबैलाई घाटा हुने भएकोले रिजेक्टेड भेराईटी अर्थात कमसल जातको कोसे.९१२६९(शेरेपन्जाव),विओ. ११०,विओ २०६१,कोसे ९२४२३, विओ.१४७,सिओ २३३ र कोसे ९२०६ उखु खेती नगर्न उखु उत्पादक किसानहरुसंग उद्योगले आग्रह गरेको हो ।
उन्नत जातका सुपरसेभेन भेराईटीको उखु खेती गर्ने उखु उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न निःशुल्क प्रेसमढ,माटो उपचारको लागी ट्राइकोडर्मा र बिऊ उपचारको लागी टि.पि.एम.उपलब्ध गराईरहेका उद्योगका कृषी प्राविधिक सुरज खनालले बताए।उनले लागत मूल्यमा कृषि उपकरण एवम उखु गोडमेल गर्न र माटो चढाउने कार्यको लागी सहुलियत दरमा मिनी ट्याक्टरको सुविधाको साथै केही जातको उखुमा उद्योगको तर्फबाट अनुदानको पनि व्यवस्था रहेको समेत बताए ।देशभरका चिनी उद्योगहरु मध्य समयमै किसानहरुलाई भुक्तानी गरेर किसानहरुको माझमा फरक पहिचान बनाएको इन्दुशंकरले चालु सिजनको हरेक हप्ता किसानहरुलाई भुक्तानी गरि रहेको छ ।