सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जयमंगलस्थित आधारभूत स्वास्थ्य केन्द्रको तीन कोठे भवनको मङ्गलबार उद्घाटन गर्नुभएको छ । मरिण गाउँपालिका ७ स्थित नवनिर्मित भवन प्रदेश सरकारको ३८ लाख रूपियाँमा निर्माण भएको हो । सो भवन एसएस कन्ट्रक्सनले २३ लाखमा टेण्डर पारी निर्माण गरेको हो ।
अध्यक्ष बम्जनले सुविधासम्पन्न भवन निर्माणपछि नागरिकको स्वास्थ्य सेवामा सहजता हुने बताउनुभयो । उहाँका अनुसार, आधारभूत स्वास्थ्य केन्द्रमार्फत् संघीर सरकार र प्रादेशिक सरकारको सहयोगमा ३५ प्रकारका औषधि निःशुल्क वितरण गरिदैआएको छ । मरिण गाउँपालिकाले चालु आर्थिक बर्षमा सो केन्द्रलाई ३५ लाख रूपियाँ बजेट विनियोजन गरेको थियो ।
जसले गर्दा दम, सुगर रोगीहरु तथा ६० बर्ष कटेका बृद्धबृद्धा, जनयुद्ध तथा जनआन्दोलनका घाइते, द्वन्द्व पीडित, एकल महिला, गरिबका लागि निःशुल्क उपचार तथा औषधि हुँदैआएको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख मधु सुधन लाखेले बताउनुभयो । प्रमुख लाखेका अनुसार, गत आर्थिक बर्षमा उक्त स्वास्थ्य केन्द्रबाट एक हजार ७८० जना स्थानीयले सेवा लिएका थिए ।