Close This

प्रहरीको नियन्त्रणमा रहेका ६ वटा सवारी साधनलाई कार्बाही गरि छाडियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२८ गते   १३२ पटक हेरिएको

सर्लाहीको  इश्वरपुर नगरपालिका १२ स्थित बाँके खोलाबाट अवैध उत्खन्नमा संग्लग्न भनि नियन्त्रणमा लिएका सवारी साधनहरुलाई जरिवाना गरि छाडिएको छ ।  बाँके खोलाबाट अवैध उत्खन्नमा संग्लग्न ५ वटा टिपर र १ वटा जेसिबीलाई प्रहरी चौकी फुलजोरले नियन्त्रणमा लिएको थियो । 
प्रहरीले नियन्त्रणमा लिएका ५ वटा टिपर र १ वटा जेसिबीलाई  आवश्यक कार्बाहीका लागि इश्वरपुर नगरपालिका पठाएको थियो । नगरपालिकाले प्रति टिपर रु १० हजार र जेसीबिको रु १५ हजार गरी जम्मा रु ६५ हजार एक पटकलाई जरिवाना गरि छाडेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बागमती प्रदेश ०३–००१ क ३२९,प्रदेश ०३–००१ क ०४४७,प्रदेश ०३–००१ क ०३३३, ना ८ ख ३४५६ र ना ८ ख १५२२ नम्बरको टिपर र अनटेष्ट जेसीबि बाँके खोलामा अवैध उत्खन्न गरि रहेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल सरकारको निर्णय अनुसार असार,साउन र भदौमा नदी जन्य पदार्थको उत्खन्न तथा निकासी पैठारी गर्न नपाईने र  असार २७ गते बाँके खोलामा दोहन गरि रहेको सुचनाको आधारमा प्रहरी चौकी फुलजोरका प्रहरी प्रमुख असई रामतपेश्वर यादवको प्रहरी टोलीले पुगेपछि उक्त सवारीसाधनहरु नियन्त्रणमा लिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech