सर्लाहीमा दुई हजार भन्दा बढी परिवार अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण प्रभावित भएका छन्।लगातारको वर्षापछि बागमती,लखन्देही,झिम,सोती, मनुस्मारा लगायत नदी तथा खोलामा आएको बाढीका कारण सर्लाहीका दुई हजार पाँच सय ३३ परिवार प्रभावित भएका हुन ।बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन्।बाढी तथा डुबानमा परेर दुई सय ९० घर पूर्णरुपमा नष्ट भएका छन् भने पाँच सय ७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा एक हजार छ सय ६९ घरमा बाढी पसेको छ।बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकोमा शरण लिएर बसिरहेका छन्।केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा लगेर राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा,चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
बलरा नगरपालिकाको ११ वडामा एक सय छ वटा घर पूर्ण रुपमा र दुई सय ८२ घरमा आंशिक क्षति पुगेको छ भने पाँच सय आठ घरमा बाढी पसेको छ।बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।जिल्लामा क्षतिको विवरण संकलनको काम भईरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।स्थानीय तह,विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसँगको सहकार्यमा राहत पु¥याउने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
यस्तै,रामनगर गाउँपालिका १,२,६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रुपमा र ९० घरमा आंशिक क्षति पुगेका छ भने तीन सय ३० घर डुबानमा परेका छन्।जिल्लाको ब्रम्हपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छ भने एक सय ९० घर बाढीकोे डुबानमा पारेका छन्।बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका २,ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छ भने एक सय १७ घर डुबानमा परेका छन् ।
यसैबीच,बरहथवा नगरपालिका ४ हरपुर्वा गाउँमा ,सोती खोलामा आएको बाढीले पाँच घरमा आंशिक क्षति पु¥याएको छ भने चार घर डुबानमा परेका छन् ।चन्द्रनगर गाउँपालिका १,२,३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ घरमा पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने तीन सय ७० घर डुबानमा परेका छन्।गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको धनकौल गाउँपालिका ३,४,५,६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ ।यस पालिकामा ६३ वटा कच्ची घर पूर्ण रुपमा र एक सय पाँच वटा घरमा आंशिक क्षति पुगेको छ भने,तीन सय वटा घर डुबानमा परेका छन् ।बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिँदा तरकारी र धानबालीमा अत्यधिक क्षति पु¥याएको छ भने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।
यस्तै,विष्णु गाउँपालिका ७ डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रुपमा क्षति पु¥याएको छ।बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मर सम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खान समेत समस्या भएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।दाउरा भिजेको र ग्याँस चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको हो। तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन स्थानीय पीडित परिवारले माग गरेका छन् ।
बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन्।चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय संकटमा रहेको छन्।स्थानीयले पहिलो आवश्यकता अनुसारको राहतसमेत नपाएको गुनासो गरेका छन्।बाँस र माटोले बनेका खपडा,टायल र जस्ताको छाना भएका कच्ची घरहरु डुबानमा परेर क्षति भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बाढी तथा डुबानका कारण भएको क्षेतीको विवरण अझैँ आउन बाँकी रहेको छ ।