नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले “जेन जी”को प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताए ।घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले “जेन जी” ले उठाएको माग सम्बोधन गर्न आग्रह गरेका छन्।
“ “जेन जी”ले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्।”माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न समेत माओवादी केन्द्रका अध्यष प्रचण्डले सरकारसंग आग्रह गरेका छन्।
त्यसैगरी,“जेन जी”पुस्ताको प्रदर्शनमा भएको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाले मात्र नपुग्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवम प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले बताए।उनले दुवैलाई तत्काल पक्राउ गरी नरसंहारको मुद्दामा जेल हाल्नुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राप्रपाका प्रवक्ता शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(वालेन)लाई अबको आन्दोलनको नेतृत्व लिन समेत आव्हान गरेका छन् ।
प्रदर्शनमा प्रहरी दमनबाट युवाहरूको मृत्यु भएपछि आक्रोशित हुँदै राप्रपाका प्रवक्ता शाहीले “प्रधानमन्त्री र गृहमन्त्रीकोे राजीनामा होइन नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनु पर्छ।” भन्दै देशका लागि बलिदान दिने युवाहरूको पक्षमा देशभर रात्रिकालीन क्रान्ति सुरु गर्न आव्हान गरेका छन्।“आजको रात देशका लागि बलिदान दिने जेन जीका लागि जागौं”उनले आफ्ुनो सामाजिक सञ्जालमा लेखेका छन्।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको छ भने करिब चार सय जना घाइते भएका छन्।भने रातीपनि प्रहरीको ज्यादती रोकिएको छैन् ।