Close This

सर्लाहीका एक युवकले चुमे संसारकै अग्लो सगरमाथाको चुचुरो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१३ गते   २३६ पटक हेरिएको

  सर्लाहीको हरिवनका एक युवकले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सम्पन्न गरेका छन् । हरिवन नगरपालिका–८, चापिनी निवासी ३९ वर्षीय रामशरण उप्रेतीले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सम्पन्न गरेका हुन् ।
गत आईतबार बिहान साँढे ५ बजे ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुग्न सफल भएको उप्रेतीले बताएका छन् । हरिवन नगरपालिका–८ निवासी मोदनाथ उप्रेती र ठण्डादेवी उप्रेतीका कान्छा छोरा रामशरण सगरमाथाको आरोहण गर्नका लागि गत वैशाख १ गते काठमाडौंबाट सोलुखुम्बुतर्फ प्रस्थान गरेका थिए । ‘काठमाडौंबाट सगरमाथाको आधार शिविर पुग्न ६ दिन लाग्यो, त्यसपछि आधार शिविरबाट पटक–पटक माथि जाँदै फेरि तल फर्कदै गरेँ’, उप्रेतीले भने, ‘वातावरणसँग घुलमिल हुनका लागि माथि उक्लँदै फेरि केही तल झरेर बस्दै गर्दा सगरमाथाको चुचुरोमा पुगेर संसार हेर्न १ महिना १० दिन लाग्यो ।’
विगत २० वर्षदेखि काठमाडौंमा बसेर पदयात्रा लगायत पर्यटन व्यवसायसँग सम्बद्ध उप्रेतीले पर्यटन व्यवसायमा आवद्ध हुने वितिकै सगरमाथा चढेरै छाड्छु भन्ने आफ्नो सपना साकार भएको भन्दै खुशी व्यत्तः गरेका छन् । ‘खासमा म संसारको सबैभन्दा अग्लो ठाउँमा पुग्छु भन्ने उद्धेश्यले सगरमाथा चढेँ, तर चुचुरोमा पुगेपछि संसारको अग्लो ठाउँमा पुगेको भन्दापनि त्यहाँबाट संसार हेर्दा त सोच्दै नसोचेको अनुभुती हुँदो रहेछ, पृथिवी गोलो हुन्छ भनेर पढेको मात्रै थिएँ, तर सगरमाथाको चुचुरोबाट हेर्दामात्र त्यो वास्तविकता अनुभुती हुँदो रहेछ ।’ दक्षिण नेपालतर्फ हेर्दा त हिउँको थुप्रो मात्र देखिने र चीनतर्फ हेर्दा मात्र पृथिवी कस्तो रहेछ भन्ने देखिने भन्दै उप्रेतीले सगरमाथाको चुचुरोबाट देखिएको दृष्य स्मरण गराएका छन् ।
सँधै अरुलाई मात्र घुमाउने अनि सगरमाथा लगाएत नेपालका विभिन्न हिमश्रृंखला सहित पर्यटकीय स्थानको बारेमा व्रिफिङ गर्ने उप्रेती आफैले संसारको सबैभन्दा अग्लो सगरमाथाको चुचुरो चुमेका हुन् । सगरमाथाको चुचुरो पुग्नेमा आफू प्रदेश नं. दुईकै पहिलो हुन सक्ने उप्रेतीको दाबी गरेका छन् । ‘अब केही दिनपछि पर्यटन बोर्डबाट आधिकारिक तथ्यांक लिने छु’, उप्रेतीले भने, म नै प्रदेश दुईको पहिलो हुन्छु होला ।’

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech