Close This

सर्लाहीमा केही खुकुलो सहित एक साता निषेधाज्ञा थप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३१ गते   २०० पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले केही खुकुलो पार्दै पुनः एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबारको बैठकले जिल्लाभर असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञा जारी गर्नु भएको छ । जिल्लामा कोरोना संक्रमण जोखिमको अवस्था समिक्षा गर्दा संक्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआइसकेको हुँदा निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।
जिल्लामा कोरोना भाईरस संक्रमणको दोस्रो चरणमा छैठौँ पटक निषेधाज्ञा थप गरिएको हो  । जिल्लामा गएको बैशाख २५ गतेबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । पाँचौं पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा थपिँदै लगिएपनि पछिल्ला दिनहरुमा खुकुलो पार्न थालिएको छ ।
सोमबार जारी गरिएको निषेधाज्ञा अनुसार स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, बैंक तथा वितिय संस्था, पेट्रोल पम्प, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसललाई २४ सै घण्टा खुल्ने सेवा एवम व्यवसायको रुपमा तोकिएको छ । त्यस्तै सिमित रुपले खुला हुने सेवा एवं व्यवसायको रुपमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, दुध डेरी, ग्याँस पसल, हार्डवेयर, ईलेक्ट्रोनिक्स, फर्निचर, जस्ता निर्माण सामग्री सम्बन्धी पसल÷व्यवसाय, बीउ विजन लगायत कृषि सामग्री सम्बन्धी पसल÷व्यवसाय, किराना पसल, डिपार्टमेन्टल स्टोर, ग्रोसरी र पुस्तक तथा पत्र पत्रिका पसल सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङद्वारा जारी निषेधाज्ञामा उल्लेख गरिएको छ ।
यसअघिको निषेधाज्ञामा पनि अत्यावश्यक वस्तु बिक्री हुने पसल व्यवसाय मात्रै बिहान १० बजेसम्म खोल्ने भन्ने निर्णय भएपनि बजारका सबैजसो पसल व्यवसाय खुल्न थालेका छन् । भाडाका सवारी साधनहरु संचालन नभएका भएपनि मोटरसाइकल, टेम्पलगायतका सवारी साधन भने निर्वाध रुपमा गुडिरहेका छन् ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनु भयो । उहाँका अनु्ुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्बाही गरिने छ ।
सोमबार जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी र मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहको विशेष उपस्थिती तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ,नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह,नेपाली सेना भैरवी दल पाँच कुमारीका गणपति प्रमुख सेनानी सरोज राना, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एवम मलंगवा अस्पतालका मेसु नवलकिशोर झा लगायत चेम्बर अफ कमर्स,उद्योग वाणिज्य संघ मलंगवा लगायतका संघ÷संस्था र व्यक्तीहरुको उपस्थितीमा जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech