Close This

कोरोनाको कारण बन्द रहेका सबै सीमा नाका खोल्ने सरकारको निर्णय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-६ गते   ९१ पटक हेरिएको

सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै बन्द गरेका सबै सीमानाका खुला गरेको छ । मन्त्रीपरिषदको बैठकले सबै सिमानाका खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यो संगै भारतसंगको सबै सीमानाका खुल्ने भएका छन् । भारतमा कोरोनाको संक्रमण फैलिने दर उच्च बिन्दुमा पुगेपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सबै सिमानाका बन्द गर्ने निर्णय गरेको थियो ।
अचानक सिमानाका बन्द गर्ने निर्णयले रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली बिचल्लीमा परेका थिए । केही लुकीलुकी त केही विधिपुर्वक आएर क्वारेन्टाइनमा समेत बसेका थिए ।
सिमानाका खुलेपछि भारतसंग सिमा जोडिएका प्रदेश २ सहितका जिल्लाका नागरीकहरु खुसी भएका छन् । भारतसंग सामाजिक तथा पारिवारीक र व्यापारीक सम्बन्ध रहेको नेपालका सबै सिमानाका खुलेपछि चाडपर्वमा आफ्ना आफन्त भेटजान आउन र दैनिक उपभोग्य सामाग्री ल्याउन सहज भएको स्थानियले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech