Close This

अपायक स्थानमा निर्माण गरिएको ३६ लाखको स्वास्थ्य चौकी भवन वेवारिसे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२९ गते   १३३३ पटक हेरिएको

३६ लाखको वेवारिसे स्वास्थ्य चौकी भवन


सर्लाहीको हरिवन नगरपालिका ५ मा निर्माण भएको स्वास्थ्य चौकी प्रयोग बिहीन भएकोे छ । नेपाल सरकारको एक वडा एक स्वास्थ्य संस्था अवधारणा अनुसार निर्माण गरिएको हरिवन नगरपालिका ५ को स्वास्थ्य चौकी निर्माण भएको करिब २ वर्ष पुग्नै लाग्दा पनि प्रयोग बिहीन भएको छ । 
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको  रु ३६ लाख ४६ हजार ३ सय ८७ रुपैँया आर्थिक सहयोगमा बागमती कन्ट्रक्सन सर्लाहीले २०७७ जेठमा निर्माण सम्पन्न गरेको ३ कोठे स्वास्थ्य चौकी भवन अहिले प्रयोग बिहीन भएको छ । हरिवन नगरपालिका ५ स्थित चापिनि नदी किनारमा निर्माण गरिएको स्वास्थ्य चौकी वडाबासीलाई अपायक पर्ने भएका कारण प्रयोग बिहीन बनेको हरिवन नगरपालिका ५ का स्थानिय राजेश महतोले बताउनु भयो ।
चापिनि नदी किनार र जंगलको छेउमा लगेर बस्ती भन्दा बाहिर निर्माण गरिएको स्वास्थ्य चौकी कुनै पनि रुपमा वडाबासीको हितमा नभएर व्यक्तिगत स्वार्थ परिपुर्ती गर्न निर्माण गरिएको महतोको आरोप छ । 
स्वास्थ्य चौकी निर्माण गर्न अन्यन्त्र पनि जग्गा हुँदा हुँदै पनि हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाई र हरिवन नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष नागेन्द्र कुमार साहले आफुखुसी कसैलाई थाहै नदिई खोलाको छेउमा कुनै पनि बस्तीलाई पायक नपर्ने स्थानमा स्वास्थ्य चौकी निर्माण गरेका अर्का स्थानिय शंकर कुमार महतोले बताउनु भयो ।
२०७७ साल जेठमा तीनवटा कोठा सहित निर्माण गरिएको स्वास्थ्य चौकी भवन अहिले प्रयोग बिहीन अवस्थामा छ । स्वास्थ्य चौकी निर्माण गर्ने क्रममा वडाबासी समक्ष कुनै पनि सल्लाह नगरि आफुखुसी वडाबासीहरुलाई अपायक नपर्ने स्थानमा स्वास्थ्य चौकी निर्माण गरिनु,वडाबासी कसैलाई पनि जानकारी नहुनु र निर्माण भएको स्वास्थ्य चौकी भवन अहिले प्रयोग बिहीन भएको भन्दै स्थानियबासी आक्रोसित बनेका छन् । 
यता, आधारभुत स्वास्थ्य चौकी निर्माण गर्दा जग्गा खरिद गर्न नपाउने र जग्गा दान लिएर स्वास्थ्य चौकी निर्माण गर्नु पर्ने भएका कारणले सो स्थानमा स्वास्थ्य चौकी निर्माण गरिएको हरिवन नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष नागेन्द्र कुमार साहले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा दान गर्न इच्छुक जग्गादाताहरु भएमा जानकारी गराउन पटक पटक सुचना निकालीएको र सो समयमा कुनै पनि जग्गादाताले अन्यन्त्र जग्गा उपलब्ध नगराउँदा सो स्थानमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो ।
यसका साथै सो भवन निर्माण भएर प्रयोगमा नआएको भएपनि वडा कार्यालयकै भवनबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको र सो भवनमा खोप केन्द्र सञ्चालन गरिएको हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । तर सो स्वास्थ्य चौकी निर्माण भएको करिब २ वर्ष पुग्नै लाग्दा पनि प्रयोगमा नआउँदा भवनचर्किन थालेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech