मौन अवधीको समयमा मध्यरातमा झडप हुँदा उम्मेदवारहरु सहित दर्जनौँ घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२९ गते   २८६ पटक हेरिएको

बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको मौन अवधिमा झडप हुँदा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष उम्मेद्वार सहित आधा दर्जन बढी घाईते भएका छन् । सर्लाहीको क्षेत्र नम्बर ४ स्थित बलरा नगरपालिका र धनकौल गाउँपालिकामा भएको झडपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष उम्मेद्वार सहित आधा दर्जन बढी घाईते भएका प्रहरीले जनाएको छ ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मौन अवधी सूरु भएपनि बुधबार रातभर जिल्लाका विभिन्न स्थानमा विभिन्न पार्टीका नेता कार्यकर्ताबीच झडप र विवाद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा समेत सामान्य विवाद उत्पन्न भएको र सुरक्षाकर्मीले बल प्रयोग गरेर अकाल्पनीय घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्लाका धेरै ठाउँहरुमा सामान्य विवाद भएको थियो । 
जिल्लाकै अति संवेदनशिल क्षेत्र मानिने बलरा नगरपालिकामा बुधबार राती करिब १२ः३० बजे नेपाली कांग्रेस र नेकपा (एमाले)का नेता कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी बलरा नगरपालिका ४ का कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिभूषण सिंह र वडा सदस्यका उम्मेदवार हरेन्द्र सहनी घाईते भएका छन् भने एमाले कार्यकर्ताहरु राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव कुमार सहनी घाईते भएका  सर्लाही प्रहरीले जनाएको छ । घाईते तीनजना एमाले कार्यकर्ताहरुको जिल्ला सदरमुकाममा उपचार भईरहेको र कांग्रेसका दुईजनाको भने स्थानीय स्वास्थ्य संस्थामै उपचारत रहेका प्रहरीले जनाएको  छ ।
त्यस्तै बसबरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम हाल कांग्रेसबाट अध्यक्षका उम्मेदवार रामअयोध्या राय पनि सामान्य घाईते हुनु भएको छ । रायलाई एमाले कार्यकर्ताहरुले घेरेर कुटपिट गरेका नेपाली कांग्रेसका नेता विनोद खनालले जानकारी दिनुभयो ।बसबरिया गाउँपालिका २, मानपुरमा बुधबार राती करिब ९ बजे अध्यक्षका पदका उम्मेदवार रायमाथि हातपात भएको प्रहरीले जनाएको छ । 
त्यस्तै बसबरिया गाउँपालिका ६ मा जनता समाजवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम सिंहासन यादवमाथ िपनि दुव्र्यवहार भएको छ । यता, धनकौल गाउँपालिका ६ मा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच बुधबार राती झडप भएको छ । राती भएको झडपमा कतिजना घाइते भए भन्ने एकिन नभएपनि आधा दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु घाईते भएका प्रहरीले अनुमान गरेको छ ।
त्यसैगरी लालबन्दी नगरपालिका १६ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार एवम निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापामाथी पनि दुव्र्यवहार भएको प्रहरीले जनाएको छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर ४ अलि संम्वेदनसिल रहेको छ । 
विशेषगरी मौन अवधीमा रातभर राजनैतिक दलका नेता कार्यकर्ताले गाउँ गाउँ हिड्न होडबाजी गर्ने तथा एकले अर्को पक्षलाई शंका र उपशंकाको दृष्टिकोणले हेर्ने प्रचलनका कारण विवाद आउने र झडपकै घटनाहरु हुने गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech