बरहथवा ९ मूर्तियामा हात्ती देखा परेपछि स्थानीय त्रसित

310 Shares

 सर्लाहीको बरहथवा नगरपालिका ९, मूर्तिया क्षेत्रमा जंगली हात्ती देखा परेपछि स्थानीय त्रसित बनेका छन्।मूर्तियाको सय बिघा र ४५ बिघा क्षेत्रमा अचानक देखा परेका तीनवटा हात्तीले एकैरातमा ठूलो क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति गरेको स्थानीयको भनाई छ ।धान खाएर बस्ती नजिकै पुगेको हात्तीलाई गाउँले र वन कर्मचारी भएर मूर्तिया जंगलतर्फ भगाएका छन् । सर्लाहीमा वर्षेनि यही समयमा जंगली हात्ती देखा पर्ने गरेको छ ।
अहिले धान पाक्ने समय भएको र यही समयमा प्राय हात्ती आउने गरेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका डिभिजन वन अधिकृत एवम प्रमुख सन्तोषकुमार झाले बताए । उनका अनुसार अहिले आएका हात्ती पर्सा राष्ट्रिय निकुञ्जबाट यहाँ आएको हुनसक्ने छन् ।आफ्नो पुस्ता हिँड्ने बाटो भएर हात्ती बारम्बार हिँडिरहने भएकाले पनि हात्तीले आफ्नो पुरानो बाटो प्रयोग गरेको सव डिभिजन वन कार्यालय मुर्तियाले जनाएको छ ।यसरी आएका हात्ती केही समयपछि पुनःफर्किएर जान्छ ।
हात्तीलाई जथाभावी जिस्काउँदा आक्रमक बन्ने भएकाले सचेत हुन अनुरोध डिभिजन वन कार्यालय लालबन्दी सर्लाही,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही र सव डिभिजन वन कार्यालय मुर्तियाले सार्वजनिक अनुरोधसमेत गरेको छ ।दिनभर नजिकको जंगलमा सुत्ने र रात परेपछि किसानहरुको खेतबारीमा पसेर अन्नबाली खाइदिने र छेउछाउका घर भत्काउने गरेका कारण मुर्तिया क्षेत्रका स्थानीय त्रसित बनेका बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष तुलसी लुईटेलले बताए ।सर्लाहीमा जंगल नजिक पर्ने मूर्तिया,जानकीनगर,सागरनाथ,गौरीशंकरलगायत क्षेत्रमा वर्षेनि हात्ती आएर धनजनको क्षति गर्ने गरेका वनकर्मीहरुको भनाई छ ।

सम्बन्धित समाचार