सर्लाहीका विभिन्न स्थानमा पशु चौपायमा ‘लम्पी स्किन’संक्रमण

801 Shares

गणेश खड्का 
सर्लाहीका किसानहरुले पालेका पशु चौपायहरुमा “लम्पी स्किन” नामक रोगको संक्रमण देखिएको भन्दै जिल्लाका किसानहरु चिन्तित भएका छन् । जिल्लाको ग्रामीण भेगका किसानहरुले पालेका पशु चौपायहरुमा “लम्पी स्किन” नामक रोगको संक्रमण देखिएको भन्दै जिल्लाका किसानहरु चिन्तित भएका हुन ।
जिल्लाको ग्रामीण भेगका किसानहरुले पालेका पशु चौपायहरुमा छालामा गिर्खा जस्तो देखिने भाइरस फैलिन थालेपछि रोकथाम तथा उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्रविधिकहरु सो भेगका किसानहरुको गोठ–गोठमा पुग्न थालेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका प्रमुख डा.जयप्रकाश यादवले जानकारी दिए । उनका अनुसार पहिला इश्वरपुर नगरपालिका ११ कालिन्जोरका केही किसानहरुले पालेका पशु चौपायहरुमा देखा परेको यो रोगको संक्रमण अहिले आधा दर्जन बढी स्थानमा फैलिएको छ ।
इश्वरपुर नगरपालिका ११  कालिन्जोरका अधिकांश गाउँका किसानहरुले पालेका पशु चौपायहरुमा लम्पी रोगको लक्षण देखिएको उपचारमा संग्लग्न पशु सेवा प्राविधिक केवेन्द्र कुशवाहाले बताए । उनका अनुसार सुरु सुरुमा किसानहरुले थाहा नपाएका कारण यो रोगको संक्रमण फैलिएको छ ।
छालामा गिर्खा देखिएर उच्च ज्वरो आएपछि लक्षणको आधारमा लम्पी रोगको संक्रमण बारे थाहा पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा.यादवले बताए ।। लम्पी स्किन संक्रमणका कारण पशु चौपायहरु बिरामी भइ मर्न थालेपछि ठुलो घाटा बेहोर्नु परेको पशुपालन व्यवसाय गरेर जीविका चलाउँदै आएका स्थानीय किसान विनोद थिङले गुनासो गरे ।
यो रोगको संक्रमण एकपछि अर्को गर्दै जिल्लाकै अन्य पालिकाकामा पनि देखा पर्न थालेकोले यसको  रोकथाम र उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाबाट पशु सेवा प्राविधिकहरुको टोली गाउँ गाउँमा परिचालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पशु चौपायमा देखिएको यो रोगको जाँचसँगै निःशुल्क औषधी वितरणको र किसानहरुलाई परामर्श पनि दिने काम सुरु भएको छ ।
लम्पी स्किन रोग भाइरस मार्फत सर्ने गरेको र  यसको भ्याक्सिन,औषधी अझैसम्म नभएकाले किसानहरुमा सचेतना जगाउनुपर्ने पशु सेवा विकास अधिकृत डा.यादवले बताए । उनका अनुसार यो रोगका लागि  भ्याक्सिन र औषधी नभएकाले वैकल्पिक औषधीमार्फत उपचार गरिन्छ। रोगको संक्रमण फैलिएका पशु चौपायहरुका शरीरका विभिन्न भागमा गिर्खा आउने,उच्च ज्वरो आउने,पाक्ने,सुन्निनेजस्ता लक्षण देखिएका छन् ।
लम्पी क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे,झिँगा र किर्नाको टोकाइबाट सर्ने यो रोग लागेपछि पशु चौपायहरुलाई सार्वजनिकस्थलमा चरणका लागि लैजान नहुने पशु सेवा प्राविधिकहरुको सुझाव छ । रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने,जैविक सुरक्षामा ध्यान दिने,गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने पशु विकास अधिकृत डा.यादवले बताए ।
भेटेरिनरी अस्पताल मलंगवाका पशु प्रविधिक डा.यादव,श्याम सुन्दर यादव,राज किशोर यादव, कालिन्जोर पशु सेवा केन्द्रका स्थानीय पशु सेवा प्राविधिक कुशवाह सहितको टोलीले संक्रमण फैलिएको स्थानहरुको स्थलगत निरिक्षण समेत गरेको छ । 

सम्बन्धित समाचार