सर्लाहीको लालबन्दी नगरपालिकाले आफ्नो नगर भित्रका घरघरमा कोरोना विरुद्धको खोप अभियान शुरु गरेको छ । कोरोना भाइरसका विरुद्ध नेपाल सरकारले थालेको खोप अभियान अन्तर्गत मधेस प्रदेशको सर्लाहीको लालबन्दी नगरपालिकाले नगर भित्रका हरेक घरघरमा कोरोना विरुद्धको घुम्ती खोप सेवा आज(आईतबार)बाट शुरु गरेको हो ।
संघिय सरकार,मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज सर्लाही तथा आड्रा नेपालको समन्वयमा नगरभिज्ञका हरेक घरघरमा कोरोना भाईरस विरुद्धको घुम्ती खोप सेवा शुरु गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार सर्लाहीको लालबन्दी, हरिवन र हरिपुर नगरपालिकाले पहिला पनि जिल्लाका २० वटा स्थानिय निकायकोतुलनामा सबै भन्दा बढी खोप लगाएको र अहिले पनि जिल्लामा पहिलो पटक लालबन्दी नरगपालिकाले यो अभियान शुरु गरेको हो ।
नगर भित्रका खोप केन्द्रहरुमा आउन नसक्ने गर्भवती,ज्येष्ठ नागरिक,अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरिकहरुलाई घरघरमै पुगेर कोरोना विरुद्धको पहिलो खोप लगाउने अभियानकोे आज(आईतबार) लालबन्दी नगरपालिकाका नगर प्रमुख खड्का र बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरत कार्कीले एकैसाथ उद्घाटन गर्नु भएको हो ।
जिल्लामा २० वटा स्थानिय निकाय रहेका भएपनि लालबन्दी नगरपालिकाले सबै भन्दा पहिला यो अभियानको शुरु गर्न चासो देखाएका कारण आफुहरुले लालबन्दी नगरपालिका बाट नै अभियानको शुरुवात गरेको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष कार्कीले बताउनु भयो ।
नगरका १७ वटै वडामा रहेका खोप केन्द्रमा जान नसक्ने गर्भवती,ज्येष्ठ नागरिक,अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरीकलाई मोवाईल गाडीको प्रयोग गरेर घरघरमा पुगि खोप सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार जुन स्थानिय निकायमा जुन खोप चलि रहेको छ त्यसैमा आफुहरुले समन्वय गर्दै घरघरमा पुगि खोप लगाउने बताउनु भयो ।
आफु शारिरीक रुपमा अशक्त रहेका कारण खोप केन्द्रमा पुगेर खोप लगाउन नपाउँदा दुःख लागेको भएपनि अहिले घरघरमा कोरोना विरुद्धको खोप आएर आफुले घरमै खोप लगाउन पाउँदा खुसी लागेको लालबन्दी नगरपालिका २ का ६५ वर्षिय बेचन पासवानले बताउनु भयो । उहाँले घरघरमा खोप ल्याएर लागाउनेव्यावस्था गर्ने स्थानिय सरकारलाई धन्यवाद समेत दिनु भयो ।
मधेश प्रदेशका चार जिल्ला रौतहट,सर्लाही, महोतरी र धनुषाका गरी करिब ३२ हजार जनालाई कोरोना विरुद्धको पहिलो खोप लगाउने कार्यक्रम शुरु भएपछि सर्लाहीमा सबै भन्दा पहिला लालबन्दी नगरपालिकाले यो अभियान शुरु गरेको छ । नेपाल सरकारले आगामी चैतसम्ममा शत प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइ सक्ने लक्ष्य लिए अनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा खोप अभियानलाई तिब्रता पारिएको छ । नेपाल सरकारले आगामी चैतसम्ममा शत प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइ सक्ने लक्ष्य लिए अनुसार स्थानीय सरकार र प्रदेश सरकार पनि कोरोना विरुद्धको खोप लगाउने अभियानमा सक्रिय भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानीय तहहरु र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा देशलाई नै पुर्ण कोरोना खोप युक्त देश बनाउने अभियानमा सबै स्थानिय नकिायहरु लागि परेका मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले बताउनु भयो । खोप अभियानका क्रममा कोरोना बारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै कोरोना विरुद्धको खोप लगाउन छुटेका अन्य नागरिकहरुलाई खोप लगाउन प्रेरित गर्ने आड्रा नेपालका निर्देशक डा.घनश्याम भट्टले बताउनु भयो ।