Close This

गाडी चढ्ने रकमले पुल बनाउँदै हरिवनका नगर प्रमुख प्रसाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-९ गते   १०१८ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–८ चुरे क्षेत्रस्थित चापिनी खोलामा पुल निर्माण सूरु गरिएको छ । शुक्रबार एक समारोहकाबीच नगर प्रमुख प्रसाईं र उप प्रमुख रेणुका पौडेलले संयुक्त रुपमा पुल निर्माणको शिलान्यास गर्नु भएको हो ।
‘वर्षायाममा चापिनी खोलामा बाढी आउँदा कौवा, सखुवनी, कोठीखोला लगायतका स्थानका  बालबालिकाहरु विद्यालय जानबाट बञ्चीत हुने स्थानियबासी आवतजावत गर्न नपाउने भएकाले आफुले त्यो देखेर गाडी चढ्न नसक्ने भएका कारण फुल निर्माण भएपछि गाडी चढ्ने भनेर सो रकम पुल बनाउन खर्चेको नगर प्रमुख प्रसाईले बताउनु भयो ।
हरिवन नगरपालिकाका नगर प्रमुख प्रसाईंले आफू चढ्न गाडी किन्ने पैसाले नगर क्षेत्र भित्र पक्की पुल निर्माण सूरु गर्नु भएको हो । कार्यालय प्रयोजनका लागि नगर प्रमुख र उप प्रमुखले प्रयोग गर्ने सवारी साधन किन्ने बजेटबाट नगरको विकासमा खर्च गरेको उप प्रमुख पौड्यालले बताउनु भयो ।
 ‘वर्षायाममा यस क्षेत्रका नगरबासीहरु दैनिक उपभोग्य सामग्री किन्न बजार एवं नगरपालिका कार्यालय आउनजान पनि नपाईरहेको अवस्थालाई मध्यनजर गर्दै आफू चढ्ने गाडी किन्न नगरपालिकाबाट छुट्टयाईएको बजेटबाट पुल निर्माण सूरु गरेको छु ।’ नगर प्रमुख प्रसाईले बताउनु भयो ।
कौवा, कोठीखोला, सखुवनी लगायत टोलमा ३०० भन्दा बढी घरधुरी रहेको नगरपालिकाले जनाएको छ ।  मेयर प्रसाईंले आफू चढ्ने जीप किन्न छुट्टयाईएको बजेटले पुल निर्माण गरेर यस क्षेत्रका बासिन्दालाई ठूलो गुन लगाउँदै सह्रानीय कार्य गरेको स्थानियबासीले बताएका छन ।
प्रदेश सरकारबाट आएको २५ लाख रुपैंयामा नगरपालिकाले थप गरेर जम्मा ९९ लाख ३ हजार ३ सय ९० रुपैंयामा पुल निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । वैशाख २१ गतेबाट १५० दिनभित्र पुल निर्माण सम्पन्न गर्नेगरी अमिता÷एसआर जेभी निर्माण कम्पनीसँग सम्झौता भएको हो । पक्की पुल १६ मिटर लम्बाई तथा ४.२५ मिटर चौँडाईको निर्माण हुने छ ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल, वडाध्यक्षहरु यज्ञविनोद ढुंगेल, शेष मेहबुब रेजा, सत्ताधारी नेकपाका नेताहरु विदुर कुमार प्याकुरेल, सुरेन्द्र लामा, रामप्रसाद घिमिरे, भरतकुमार कार्की लगायतको आतिथ्यता रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech