ई.प्र.का.भिमानका हबल्दार गुरुङको असुली चर्कियो

221 Shares

सिन्धुलीको भिमान स्थित रहेको इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी हवल्दार राजु गुरुङको असुली धन्दा चर्किएको पाइएको छ।विगत करिब चार वर्षदेखि ईलाका प्रहरी कार्यालय भिमानमा कार्यरत रहेका प्रहरी हबल्दार गुरुङले अवैध कारोबारीसँग साँठगाँठ गरेर असुली धन्दा चर्काएका आरोप लागेको छ ।
स्रोतका अनुसार प्रहरी हबल्दार गुरुङ विगत करिब चार वर्षदेखि निरन्तर घुमुवाको रूपमा कार्यरत रहँदै आएका छन्।प्रहरी संगठनको प्रक्रिया विपरित लामो समयदेखि एकै ठाउँमा बसेर उनले चर्काे कमिसन असुली चर्काएका भएपनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदी बेखबर देखिएका छन् ।
सिन्धुली मधेश प्रदेश र काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले वि.पी राजमार्ग हुँदै हुने अवैध ओसार पसार नियन्त्रण गर्नुपर्नेमा उल्टै सेटिङ मिलाइदिने काममा प्रहरी हबल्दार गुरुङ लागि परेका केही स्थानीय तथा व्यापारीहरूले बताए।प्रहरी हबल्दार गुरुङले विभिन्न अवैध कारोबारीहरूसँग फोन सम्पर्क गर्दै “लाइन मिलाइदिन्छु,समस्या हुँदैन।”भन्दै रकम असुल्ने गरेको समेत स्रोतको दाबी छ ।
मधेश प्रदेशबाट काठमाडौंतर्फ जाने वि.पी.राजमार्गमा चल्ने मालवाहक सवारी साधन तथा विभिन्न अवैध सामान ओसार पसार गर्ने समूहसँग प्रहरी हबल्दार गुरुङले नियमित सम्पर्क राख्ने गरेका र प्रहरी जाँचबाट जोगाउन सहयोग गर्ने आश्वासन दिने गरेका स्रोतको दाबी छ ।केही व्यापारीले रकम नदिँदा अनावश्यक दुःख दिने,नियन्त्रणमा लिने वा मुद्दा लगाउने धम्की समेत दिने काम प्रहरी हबल्दार गुरुङले गर्नै गरेका गुनासाहरु आउने गरेका छन् ।
यसैबीच मधेश प्रदेशसँग जोडिएका काठमाडौँ, दोलखा, रामेछाप, ओखलढुंगा लगायत जिल्लातर्फ सञ्चालन हुने सवारी चालकहरूले पनि पछिल्लो समय विभिन्न बहाना बनाएर दुःख दिने र रकम असुल्ने गरिएको गुनासो गर्न थालेका छन्।उनीहरूका अनुसार चेकजाँचको नाममा सवारी रोक्ने, कागजातमा साना त्रुटि देखाएर दबाब दिने तथा रकम लिएपछि मात्र जान दिने जस्ता गतिविधि बढेको आरोप छ । यसका साथै प्रहरी हबल्दार गुरुङको मिलेमतोमा वि.पी.राजमर्गा हुँदै भन्सार छलीको सामान रामेछाप,दोलखा तथा संघीय राजधानी काठमाण्डौँ सम्म पुग्ने गरेको समेत पाइएको छ ।
स्थानीयवासीले एउटै व्यक्तिलाई लामो समयसम्म संवेदनशील जिम्मेवारीमा राख्दा प्रहरी संगठनको विश्वसनीयता माथि नै प्रश्न उठेको बताएका छन्।उनीहरूले यस विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा बागमती प्रदेश प्रहरी कार्यालयले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।
यता,आफुलाई सो सम्बन्धमा थाहा नभएको र त्यस प्रकारको गतिविधि गरेको पाइए उनको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटा पठाउने इलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक राजु के.सीले बताए ।स्थानीय सरोकारवालाहरूले निष्पक्ष छानबिन गरी दोषी देखिए कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।प्रहरी संगठनभित्र लामो समय एउटै ठाउँमा बसेर काम गर्ने प्रवृत्तिले अनियमितता बढाउने भएकाले सरुवा प्रणाली कडाइका साथ लागू गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ ।

सम्बन्धित समाचार