चक्रघट्टा गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-११ गते   ३३०१ पटक हेरिएको

 सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण हुने भएको छ । चक्रघटा गाउँपालिका ५ स्थित पडरियामा गाउंपालिका अध्यक्ष विक्रम यादवले भवनको शिलान्यास गर्नु भएको हो ।
संघीय सरकारको एक स्थानीय निकाय एक आधारभूत अस्पतालको अवधारणा अन्तर्गत अर्थ मन्त्रालयबाट प्राप्त रु १९ करोड ८ लाखको लागतमा अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष यादवले  बताउनु भयो । स्थानीय सरकार निर्माण भएको समयमा पालिकाको स्वास्थ अवस्था एकदमै नाजुक रहेको गाउंपालिका अध्यक्ष यादवले बताउनु भयो । उहाँले  नेपाल सरकारबाट संचालनमा रहेका स्वास्थ संस्थाहरुमा भौतिक पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, औषधीलगायत सामाग्रीको चरम अभाव तथा पुरानो भवनको मर्मत सम्भारको आवश्यकता रहेको बताउनु भयो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले आफुहरु निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउन स्थानीय स्रोत साधनको प्रयोग गरेर सही समयमा सही निर्णय लिँदै स्वास्थ्य संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानीय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानीय सरकारले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताउनु भयो ।
“आफुहरुले चुनाव जिते लगत्तै आम नागरिकलाई पहिलो पटक सम्बोधन गर्दैगर्दा आफुले पालिकामा ५ वटा ‘स’ को सुधार गर्ने प्रतिबद्वता गरेको बताउनु भयो । जसमा सडक, शिक्षा, स्वास्थ, संचार र सिँचाइ रहेका बताउनु भयो । हाम्रो पालिकाको बीच केन्द्रमा रहेको चक्रघट्टा बजारबाट जोडिने हरेक वडाका ग्रामीण सडकलाई कालोपत्रे गर्ने काम सकाएको ,एक वडा एक स्वास्थ्य चौकीको अवधारणा ल्याएर बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण, स्वास्थ्य कर्मचारी नियुक्ति गरी आम नागरिकलाई सहज तरिकाले स्वास्थ्य क्षेत्रमा पहुँचको सुनिश्चिता गरेकों”गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो ।
गुणस्तरीय शिक्षा प्रदानका लागि सामुदायिक विद्यालयको भवन, पर्खाल निर्माण, फर्निचर, कम्प्यूटर र विज्ञान प्रयोगशाला तथा शिक्षक व्यवस्थापनको काम समेत आफूले गरेको उहाँले बताउनु भयो । गाउँपालिकाले सिँचाइ र संचार क्षेत्रमा सन्तोषजनक कार्य नगरे पनि विगतको तुलनामा उल्लेखनीय काम गरेको गाउँपालिका अध्यक्ष ययादवकोे दाबी छ । “यो निर्वाचनमा जनताले साथ दिए ५ वर्षमा प्राप्त गरेको अनुभवको सदुपयोग गर्दै हरेक क्षेत्रमा उल्लेखनीय कार्य गरी चक्रघटा गाउँपालिकालाई नमुना र स्मार्ट गाउँपालिका बनाउँने यादवले बताउनुभयो ।” 
चक्रघटा गाउँपालिकामा ५ वटा अधारभूत स्वास्थ्य चौकी र ४ वटा स्वास्थ्य चौकी निर्माण गरि संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । ९ वटा वडा रहेको पालिकामा वडा न ४ सुन्दरपुर,वडा न ८ औहरी र वडा न ९ खोरियामा बर्थिंङ सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा न २ भेल्हीमा भवन निर्माण गरी उद्घाटनको तयारी रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साहले बताउनु भयो ।
पालिकामा अस्पतालको भवन निर्माणका लागि जगदिश प्रसाद यादवले ५ कठ्ठा र प्रदीप राय यादवले ५ कठ्ठा जग्गा दान गरेका छन् । प्रेरा एक्सिस एसियन जेभी जनकपुरले भवन निर्माणका लागि ठेक्का पाएको गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech