भ्रष्टाचार गर्ने बसबरियाका गाउँपालिका अध्यक्ष यादवलाई कांग्रेसको ज्ञापन पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२८ गते   २२७२ पटक हेरिएको

सर्लाहीको बसबरिया गाउँपालिकामा नेपाली कांग्रेसले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । बसबरिया गाउँपालिकाका अध्यक्ष  रामसिंहासन यादवलाई नेपाली कांग्रेस बसबरियाले ज्ञापन पत्र बुझाएको हो ।भवानीपुरस्थित गाउँपालिकाको कार्यालयमा पुगेर कांग्रेस नेता कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष यादवलाई आफ्ना कमिकमजोरी सुधार गर्दै अनियमितता नगरी काम गर्न भन्दै ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।


 उनका अनुसार गाउँपालिका अध्यक्ष यादवले चुनावको समयमा गाउँपालिकावासीसँग गरेको प्रतिवद्धता विपरीत विभिन्न किसिमको जालझेल गरेका,कानून र जनताका भावना विपरीतका काम गरेका,बिजुली बत्ती,ग्याँस सिलिण्डर खरिद लगायतमा भ्रष्टाचार गरेका भन्दै ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको छ ।साथै, कांग्रेसले सूचनाको हक सम्वन्धी ऐन अन्तर्गत गाउँपालिकाबाट विभिन्न सूचना समेत माग गरेको छ ।

गाउँपालिका अध्यक्ष यादवले आफ्ना भान्जा मार्फत कमिसन उठाउने र गाउँपालिका भित्र हुने विकास निर्माणमा भ्रष्टाचार गरेका,प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको करिब ४८ लाख,विद्युतिकरणको काममा आठ लाखको ठाउँमा विल बनाउँदा ८८ लाख बनाएका,ग्याँस चुल्होको १० हजार पाँच सयका दरलेविल बनाएर करिब चार करोड भ्रष्टाचार गरेका,गाउँपालिका भित्रका विभिन्न स्थानमा सडकको स्तरोउन्नतीको नाममा ७६ लाख भ्रष्टाचार गरेका, विभिन्न होटलहरुमा मदिरा खाएर २० लाखको विल गाउँपालिकाबाट तिरी अनियमितता गरेका,कृषि बिऊ विजनको करिब ८० लाख भ्रष्टाचार गरेका र डिजेल देशभरमै सबै भन्दा धेरै प्रयोग गरि भ्रष्टाचार गरेका नेपाली कांग्रेसको आरोप छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech