दसैँ र तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सर्लाहीले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको छ ।सो योजना कार्यान्वयन गर्न जिल्लामा सबै प्रहरी युनिटहरुलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार दसैँ र तिहारका बेला हुन सक्ने अपराधिक क्रियाकलापहरुका साथै चोरीका घटना हुन नदिन जिल्ला सबै स्थानमा प्रहरीको मोवाइल र पैदल गस्तीलाई तीव्र पारिएको छ ।“सर्वसाधारणलाई सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण बनाउन र सुरक्षित छौँ भन्ने अनुभूति गराउन प्रहरीको मोवाइल र पैदल गस्ती बढाइएको छ।” जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ ।
आवश्यकता अनुसार फरक तरिकाबाट पनि निरन्तर निगरानी सुरु गरिएको जनाउँदै भारतबाट आएका नेपालीलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन नाका र बसपार्कहरुमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नो चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने कार्य नगर्न आग्रह गर्दै प्रहरीले होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउनेहरु विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।सुरक्षा योजना अन्तर्गत सवारी साधनको चेकजाँच तथा यातायातको समेत निगरानी र अनुगमन सुरु गरिएको प्रहरीले जनाएको छ ।