Close This

सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमणको सिकार,२० हजार हेक्टर वन फडानी,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१४ गते   ३३१ पटक हेरिएको

सिन्धुलीमा बर्षेनी वन फडानी बढ्दो अवस्थामा रहेको छ । जल, जमिन र जङ्गलकोरुपमा चिनिने जिल्लामा बर्षेनी वन फडानी बढ्दो अवस्थामा रहेको हो ।विगत २७ वर्षको अन्तरालमा  २० हजार हेक्टरभन्दा बढी वन फडानी भएको पाइएको छ । समुदायलाई वन जिम्मा लगाइए पछि थप वन विनाश भएको हो ।

सरकारी वनमाथिको अतिक्रमण कहालीलाग्दो अवस्थामा रहेको छ । डिभिजन वन कार्यालयको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना अनुसार २० हजार हेक्टरभन्दा बढी वन क्षेत्र काठ तस्कर र सुकुम्बासीका नाममा अतिक्रमण भइसकेको छ । अतिक्रमित वनमध्ये झन्डै ८ हजार हेक्टरमा बस्ती विकास भएको पाइइएको छ । रानीवास, हर्षाही, टाँडी, निपाने, दुधौली, कल्पवृक्ष, पीपलमाढीलगायत क्षेत्रमा सबैभन्दा बढी वन अतिक्रमण भएका डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यी क्षेत्रमा मात्र ७ हजार ३२५ हेक्टर वन अतिक्रमण भएको छ । वन अतिक्रमण गरी राजनीतिक पहुँचका आधारमा सुकुम्बासीका नाममा १३ हजार ४११ घरधुरी बस्ती बसाइएको वन कार्यालयले जनाएको छ ।
गरिब तथा सुकुम्बासीका नाममा वि.सं. २०५० सालयता वन अतिक्रमण भएको पाइएको हो । प्रमुख श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय पनि काठ तस्कर र भूमाफियाले वन फँडानी गर्ने क्रम बढेको छ । हामीले देखेसम्म र गुनासो आएसम्म रोक्ने प्रयास गरिरहेका छौं ।” डिभिजन वन अधिकृत श्रेष्ठले बताउनु भयो ।केही समयअघि तीनपाटन क्षेत्रबाट सामुदायिक वनका पदाधिकारी नै काठ तस्करी गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए ।

साविक पीपलमाढीमा ४४८.२८, टाँडीमा ५५५, कल्पवृक्षमा ३२०.६९, हर्षाहीमा २६०, रानीवासमा १७८ तथा निपाने गाविसमा १७९ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयले अनुमान गरेको छ । २०५० सालसम्म जिल्लामा वनको कुल क्षेत्रफल १ लाख ६० हजार १९१ हेक्टर रहेको थियो । पछिल्लो समय वन फँडानी बढेपछि एक लाख ४० हजार हेक्टरमा झरेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech