माओवादी केन्द्र मधेश प्रदेशले गर्यो सर्लाहीका ११ नेतालाई कार्बाही

1.5k Shares

नेकपा(माओवादी केन्द्र)मधेश प्रदेशले सर्लाहीका ११ जना नेकपा(माओवादी केन्द्र)का नेताहरुलाई साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको छ । माओवादी केन्द्रले संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि गठबन्धनको नारा सहित २०७९ मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका माओवादी केन्द्रका उम्मेदवारहरुको विरुद्धमा एवम् गठवन्धन दलका बिचमा सहमतीबाट बनेका गठबन्धन दलका अधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी तथा त्यसका प्रस्तावक र समर्थकहरुलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको नेकपा(माओवादी केन्द्र)मधेश प्रदेशले जनाएको छ ।
माओवादी केन्द्रले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र सो को समयावधि पनि समाप्त भई सकेकाले माओवादी केन्द्र अन्तरिम विधान २०७८ को धारा ७१ (छ) को पार्टीको सिद्धान्त कार्यक्रम,नीति प्रभावित भएकोले धारा ९(१)(ग) बमोजिम सर्लाहीका ११ जना नेताहरुलाई कार्बाही गरि साधारण सदस्यबाट समेत निस्कासन गरिएको माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज गणेश साहद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिवबाट राजिनामा दिएर सर्लाही १(ख)मा स्वतन्त्र उम्मेदवारी दिएका राजन कुमार श्रेष्ठ, केही महिना पहिला माओवादी केन्द्रमा प्रवेश गरि सर्लाही ३(क)बाट स्वतन्त्र उम्मेदवारी दिएका जवाहर लाल कुशवाहा,माओवादी केन्द्रका नेता भूपेन्द्रमान श्रेष्ठ,सर्लाही ४(ख)बाट स्वतन्त्रउम्मेदवारी दिएका महेन्द्र राय,नेता रामबाबु राय,श्रीचन राय,जितलाल राय,कपल सहनी,अनिता देवी,राम बच्चन राय र उपेन्द्र यादव गरि ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्बाही गरिएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
११ जना नेताहरुलाई माओवादी केन्द्र अन्तरिम विधान २०७८ को धारा ७१ (छ) को पार्टीको सिद्धान्त कार्यक्रम,नीति प्रभावित भएकोले धारा ९(१)(ग) बमोजिम कार्बाही गरि साधारण सदस्यबाट समेत निस्कासन गरिएको माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज साहले बताए ।
तर सर्लाही १(ख)मा स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठ र सर्लाही ३(क)मा स्वतन्त्र उम्मेदवारी दिएका कुशवाहले उम्मेदवारी दिने क्रममा कुनै पनि पार्र्टीमा आफुहरु नरहेको भन्दै राजनैतिक दल भन्दा बाहिरि रहेर उम्मेदवारी दर्ता गराएको र सोही अनुसार चुनाव प्रचार प्रसारमा लागेको बताएका छन् । उनिहरुले आफुहरुले उम्मेदवारी दिनु पहिलै कुनै पनि दल भन्दा बाहिर रहेर उम्मेदवारी दिएको  जनाएका छन् ।

सम्बन्धित समाचार