हरिवनको इन्दुशंकरले मंसिर २६ बाट चालु सिजनको उखु क्रसिङ सुरु गर्ने

332 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको इन्दुशंकर चिनी उद्योगले चालु सिजनको उखु क्रसिङ गर्ने तयारी गरेको छ ।आज (बिहीबार)उद्योगले डोङ्गा पूजा गरेर चालु सिजनको उखु क्रसिङ गर्ने तयारी गरेको उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर प्रसाद नेपालले जानकारी दिए ।उनका अनुसार उखु क्रसिङ सुरु गर्नुअघि वर्षेनि प्रत्येक चिनी उद्योगहरुले डोङ्गा पूजा गर्ने गरेका छन् ।चालु सिजनको उखु क्रसिङ गर्दा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए ।उद्योगले भोली(शुक्रबार)देखि उखु उत्पादक किसानहरुलाई उखु ल्याउने अनुमति पत्र (चलान)बाँडेर मङ्सिर २६ गतेदेखि उखु क्रसिङ सुरु गर्ने उखु प्रवन्धक रजकले बताए ।


 उनका अनुसार उद्योगले गतवर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेकोमा २८ लाख २० हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो । जिल्लामा गतवर्षहरु कै अनुपातमा उखु खेती भएको र उखु उत्पादन राम्रो भएकाले १० देखि १५ प्रतिसतसम्म उखुको उत्पादन बढेकोले उद्योगले क्रसिङको लक्ष्य बढाएको उखु प्रवन्धक रजकले बताए । आगामी चैतको दोस्रो सातासम्म उद्योग सञ्चालनको लक्ष्यसहित उखु क्रसिङ गर्ने तयारी गरिएको उद्योगले जनाएको छ । 
जिल्लामा रहेका तीन वटा चिनी उद्योगहरु मध्य इन्दुशंकरले जिल्लाका उखु उत्पादक किसानहरुलाई दिनुपर्ने सबै रकम भुक्तानी दिई सकेको छ भने महालक्ष्मी सुगर मिल र अन्नपुर्ण सुगर मिलले उखुको केही रकम भुक्तानी गर्न बाँकी रहेको छ ।सरकारले यो वर्षका लागि उखुको मूल्य निर्धारण गरि नसकेको भएपनि उखुको मुल्य निर्धारण भएपछि सोही अनुसार उखु उत्पादक किसानहरुलाई भुत्तःानी गरिने उखु प्रवन्धक रजकले बताए ।
कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले गत वर्षको भन्दा रु ११ मूल्य बढाउने बताएपनि उखु उत्पादनमा लागेको लागत बढेका कारण सो स्वीकार नगरेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनले उखुको मूल्य र उद्योगलाई उखु दिनेबारे उखु उत्पादक किसानहरुसंग छलफल गर्ने समेत बताए भने,जिल्लाका उखु उत्पादक किसानहरुले राज्यले दिनुपर्ने अनुदान वापतको रकम अहिले सम्म नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार