मालपोत कार्यालय मलंगवा विचौलियाको कब्जामा,कर्माचारी मस्त घुसमा

555 Shares

सर्लाहीको मलंगवामा रहेको भूमि सुधार तथा मालपोत कार्यालय मलंगवा विचौलियाको अड्डा बनेको सेवाग्राहीहरुले गुनासो गरेका छन्।जिल्लामा रहेको सबै भन्दा पुरानो भूमि सुधार तथा मालपोत कार्यालय मलंगवामा विचौलिया विना कुनैपनि काम नहुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका हुन ।भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाको तामेली फाँटका साथै अन्य विभिन्न फाँटहरुमा घुस विना कुनै पनि काम नहुने गरेको र जसले घुस दिँदैन् उसको सामान्य काम पनि लामो समयसम्म नहुने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
भूमि सुधार तथा मालपोत कार्यालय मलंगवा वरिपरि विभिन्न किसिमका फोटोकापी सेन्टरहरुका साथै लेखापढी गर्ने मानिसहरुसंग कार्यालयका कर्माचारीहरुको मिलेमतो रहने गरेको र त्यस्ता फोटोकापी सेन्टरहरुका साथै लेखापढी व्यावसायीहरुलाई घुस दिएपछि मात्रै काम हुने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
फोटोकापी सेन्टरहरुका साथै लेखापढी व्यावसायीहरुलाई दिएको घुस वापतको रकम कार्यालय समय सकिएपछि कार्यालयका कर्माचारीहरुले हिसाब गरेर लिने र घर जाने गरेका पाइएको हो ।कार्यालयको कुनैपनि फाँटमा घुस विना काम नहुने गरेको र जसले घुस दिँदैन उसलाई विभिन्न बाहनामा लामो समयसम्म झुलाउने गरेको पाइएको हो ।सामान्य अंश बण्डाको काम करिब एक साता लगाउने साथै नीजि दृष्टि बन्धकको फुकुवाको काम करिब दुई महिना सम्म लगाउने गरेका पाइएको हो ।
यता,कामको प्रकृति अनुसार समय लागेको,सेवाग्राहीहरुको संख्याको तुलनामा कर्माचारी अपुग रहेका कारण समय लागेको र अर्ध न्यायिक निकाय रहेका कारण सबै प्रकारका कामहरु गर्नु पर्दा समय लाग्ने गरेको भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख नितेश कुमार झाले बताए । उनले कार्यालयको काम कार्बाहीको सवालमा गुनासो आउनु स्वाभाविकै रहेको बताउँदै कुनै कर्माचारीहरुले त्यस किसिमको बद्मासी गरेको छ भने उसलाई तत्कालै कार्बाही गर्ने समेत बताए,तर कार्यालयको तामेली फाँटबाट रु चार हजार घुस वापतको रकम बरामद् हुँदा समेत उनी मौन देखिएका सेवाग्राहीको गुनासो छ ।

सम्बन्धित समाचार