सिन्धुलीको दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले नगरमा दर्ता भएका तथा सञ्चालन भएका क्रसर उद्योगहरुको विषयमा आफुलाई जोडेर बद्नाम गराउन काम भएको गुनासो गरेका छन्।केही मिडियाहरुले दुधौलीमा स्थानीय जनप्रतिनिधिहरु र राजनीति दलहरुको संरक्षणमा अवैध तरिकाबाट क्रसर उद्योगहरु सञ्चालन भएका भन्दै नगर प्रमुख अधिकारीको नाम जोडेर समाचार प्रकाशन गरेपछि नगर प्रमुख अधिकारीले आफुलाई वद्नाम गराउन अनावश्यक विषयमा जोडिएको गुनासो गरेका हुन ।
“दुधौली नगरपालिका ९ स्थित भुन्टे चौरीमा २०७७ माघ २० गते दर्ता भएको चुलाचुली क्रसर एग्रिगेट इष्डष्ट्रिज प्रा.लि.को विषयमा आफुलाई वा दुधौली नगरपालिकाका हालका जनप्रतिनिधिहरुलाई जोडेर बद्नाम गराउने काम भएको छ। त्यसमा दुधौली नगरपालिकाका हालका कुनै पनि जनप्रतिनिधिहरुको संग्लग्नता छैन्।हेटौडा उपमहा नगरपालिका ५ का सिताराम न्यौपानेले त्यहाँ क्रसर स्थापना गर्ने भनेपछि आफ्नी श्रीमती सम्झना अधिकारीको नाममा रहेको जग्गा न्यौपानेलाई आफु जनप्रतिनिधि हुनु भन्दा पहिलै बिक्रि गरिएको थियो।तर अहिले पत्रकार साथीहरुले के बुझेर आफु तथा दुधौली नगरपालिकाका अन्य जनप्रतिनिधि हरुलाई जोड्नु भयो सो विषय थाहा छैन र आफुहरु कसैको पनि सो कार्यमा संग्लग्नता छैन्।”नगर प्रमुख अधिकारीले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
उक्त क्रसर उद्योग दर्ता हुँदा दुधौली नगरपालिकाको नगर प्रमुख घनश्याम राउत रहेका थिए ।तथापी पनि जिल्लामा स्थापना भएका वा सञ्चालनमा रहेका क्रसर तथा खानीजन्य उद्योगहरु कुनै न कुनै राजनीतिक दलका नेताहरुको आडमा प्राकृतिक स्रोत साधनको दोहनमा सक्रिय रहेका छन् ।
स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय राजनीतिक दलहरुको दवाव र प्रभावमा दर्ता भएर नवीकरण समेत नभई सञ्चालीत क्रसर उद्योगहरुको प्रभावकारी अनुगमन हुन सकेको छैन्।स्थानीय जनप्रतिनिधि र राजनीतिक दलहरुको संरक्षण कै कारण क्रसर उद्योगले नदीमा नियम विपरीत मेसिन प्रयोग गरेर नदीजन्य पदार्थको दोहन गरि रहेका छन् ।
समय समयमा अनुगमन हुने गरेको भएपनि प्रभावकारी अनुगमन नहुँदा क्रसर उद्योगहरु कानुनी दायरामा बाहिर सञ्चालन भई रहेका छन्।जसका कारण राज्यको ठूलो राजश्वमा हानी नोक्सानी पुगेको जानकारहरु बताउँछन्।सिन्धुलीमा सञ्चालित कुनै पनि क्रसर उद्योगहरुले राज्यले तोकेको मापदण्ड पालना नगरेका पाइएको छ। राज्यले तोकेको मापदण्ड अनुसार उद्योगहरु स्थापना तथा स्थानान्तरण गर्नुपर्ने भएपनि स्थानीय निकायका जनप्रतिनिधिहरु र राजनैतिक दलका नेताहरुको संरक्षणमा उनीहरुले उद्योग स्थानान्तरण मात्रै नगरी अबैद्य उत्खनन् समेत गरिरहेका पाइएको छ ।
के छ मापदण्डमा ?
“क्रसर उद्योगको अनुमति,दर्ता तथा नियमन सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० का साथै ढुङ्गा, गिट्टी,बालुवा उत्खनन,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”अनुसार सिन्धुलीमा कुनै पनि क्रसर उद्योग चलाउन पाइँदैन।२०७१ असार २ गते नापी विभागबाट चुरे संरक्षित क्षेत्रलाई नक्साङ्कन गर्दै पुर्वको इलाम देखि तराई मधेशका ३६ वटा जिल्लाहरुलाई चुरे संरक्षित क्षेत्र घोषणा गरिएको र ती क्षेत्रमा नदीजन्य पदार्थको निकासी पैठारी नगर्न भनिएको छ ।
जसमा सिन्धुली जिल्ला समेत पर्ने भएपनि राज्यको नीति नियमलाई लत्याउँदै नदी जन्य पदार्थको उत्खनन्,निकासी पैठारी तथा खानीजन्य उद्योगहरु अवैध तरिकाबाट स्थापना र सञ्चालन गर्ने क्रम चलि रहेका छन् भने सरोकारवाला निकाय विभिन्न बखेडा झिकेर पञ्छिने गरि रहेका छन् ।