वन अपराधमा संलग्न कसैलाई नछाड्ने डिभिजनल वन अधिकृत अहमदको चेतावनी

202 Shares

डिभिजन वन कार्यालय वीरगन्ज पर्सामा आर्थिक वर्ष २०८२/०८३ को हाल सम्म वन पैदावार ओसार पोसार तथा कारोबारसँग सम्बन्धित १९ वटा मुद्दा दर्ता भएका छन्।अवैध रूपमा वन पैदावार ओसार पोसार,वन स्रोतको अनधिकृत प्रयोग तथा वन ऐन २०७६ उल्लंघन सम्बन्धी कसुरका १९ वटा मुद्धा दर्ता भएका डिभिजन वन कार्यालय वीरगन्ज पर्साका प्रमुख एवम डिभिजनल वन अधिकृत अन्जुर अहमदले जानकारी दिए।उनका अनुसार अनुसन्धानका क्रममा जिल्लाका विभिन्न स्थानबाट काठ,साइकल,मोटरसाइकल तथा ट्याक्टर नियन्त्रणमा लिइएको छ भने लाखौँ मुल्य बराबरको वन पैदावार बरामद भएको छ ।
वन ऐन,२०७६ ले वन पैदावारको चोरी,कटानी,संकलन,ढुवानी तथा बिक्री–वितरणलाई स्पष्ट रूपमा नियमन गरेको उल्लेख गर्दै कानुनविपरीत कार्य गर्ने सबैलाई कडा कारबाही गरिने डिभिजन वन कार्यालय पर्साका प्रमुख एवम डिभिजनल वन अधिकृत अहमदले बताए ।वन अपराधमा संलग्न पाइएका व्यक्तिहरूमाथि विगो असुल,जरिवाना,धरौटी तथा जमानतको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय वीरगन्ज पर्साले जनाएको छ ।कार्यालयका अनुसार कतिपय प्रतिवादीहरूलाई अनुसन्धान अवधिभर हिरासतमा राखिएको छ भने केही फरार प्रतिवादीको खोजी कार्य जारी रहेको छ।अधिकांश मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन्।
वन ऐन,२०७६ अनुसार स्वीकृत अनुमति बिना वन पैदावार कटानी,संकलन,ढुवानी वा बिक्री–वितरण गर्नु दण्डनीय अपराध हो र यस्ता कसुरमा संलग्न व्यक्तिबाट बरामद गरिएको वन पैदावार जफत गरिनुका साथै विगो रकम असुल गर्ने व्यवस्था रहेको छ।आवश्यकता अनुसार प्रयोग गरिएका सवारी साधनसमेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने प्रावधान रहेको कार्यालयले जनाएको छ।कार्यालयका अनुसार अधिकांश मुद्दाको अवस्था हाल पुर्पक्षमा रहेको छ।वन अपराध नियन्त्रणका लागि कार्यालयले सुरक्षा निकायसँग समन्वय गर्दै निगरानी तथा अनुगमनलाई थप प्रभावकारी बनाएको जनाएको छ।
वन क्षेत्रको संरक्षण,जैविक विविधताको सुरक्षा तथा वातावरणीय सन्तुलन कायम राख्न वन अपराध नियन्त्रण अपरिहार्य रहेको साथै अवैध काठ तथा अन्य वन पैदावार निकासी गर्ने गतिविधि विरुद्ध आगामी दिनमा पनि शून्य सहनशीलताको नीति अपनाइने डिभिजन वन कार्यालय पर्साका प्रमुख एवम डिभिजनल वन अधिकृत अहमदले बताए ।स्थानीय समुदाय,जनप्रतिनिधि,सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई वन संरक्षण अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै वन अपराध सम्बन्धी कुनै सूचना प्राप्त भएमा तत्काल डिभिजन वन कार्यालय वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन पनि उनले अनुरोध गरे।

सम्बन्धित समाचार